कोइराला विवादको जड: देउवा

काभ्रे, ४ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विवादको मूल कारण सभापति सुशील कोइराला भएको बताएका छन् ।

तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएका सहमति उल्लंघन गरी पार्टीभित्र विवाद सिर्जना गरेको देउवाको आरोप थियो । ‘हामीबीच पार्टी एकीकरण गरी महाधिवेशनपश्चात् भ्रातृसंगठनको निर्वाचन गर्ने भन्ने थियो तर कोइरालाले भ्रातृसंगठन भंग गरेर सहमति तोडे,’ देउवाले भने ।
सितेरियो कराते धुलिखेल शाखाले आयोजना गरेको मध्यमाञ्चलस्तरीय फ्रेन्डसिप प्रतियोगिताको आइतबार धुलिखेलमा उद्घाटन गर्दै नेता देउवाले पार्टी एकीकरणको खिलाफमा जाने कोइराला नै विवादको कारक भएको बताए । उनले नयाँ निर्वाचनका लागि पनि दलबीचको सहमति आवश्यक भएकाले लम्बेतम्बे गरेर संक्रमणकाल लम्ब्याउनुभन्दा संविधानसभाको पुन:स्थापना उपयुक्त भएको बताए । सहमतिका लागि सबै दलले त्याग गर्न तयार हुनुपर्ने बताउँदै नेता देउवाले सबै नेता र दललाई गालीगलौजमा नउत्रन सुझाब दिए ।

‘कठपुतली सरकारविरुद्ध नयाँ मोर्चा’
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको कठपुतली सरकारविरुद्व नयाँ मोर्चा गठन गरिने बताएका छन् ।
‘जनताको अभिमत लिन नसक्ने शासक निरंकुश हुन्छन्,’ महासचिव थापाले भने, ‘एनेकपा (माओवादी) त्यही निरंकुशता लाद्न चाहन्छ, उसका विरुद्ध संघर्ष सुरु भसकेको छ ।’ नेकपा–माओवादी काभ्रेको जिल्ला कार्यालयको आइतबार सदरमुकाम धुलिखेलमा उद्घाटन गर्दै महासचिव थापाले १२ बुँदेको औचित्य समाप्त भएकाले नयाँ १२ बुँदेमार्फत संकट समाधान गर्नुपर्ने बताए ।
थापाले माओवादी नेतृत्व निरंकुशतातर्फ उन्मुख भएको बताउँदै राजा ज्ञानेन्द्रको शैलीमा घोषणा गरिएको निर्वाचनको कुनै औचित्य नहुने बताए । भट्टराईको सरकार अपदस्त र विघटन गरी गोलमेच सम्मेलनमार्फत राष्ट्रिय संयुक्त सरकार र संविधानका विषयमा सोच्न सकिने थापाले बताए । एनेकपा (माओवादी)को निरंकुशतालाई सहेर नबस्ने चेतावनी दिँदै थापाले पुष्पकमल दाहालले सडकबाटै फैसला गर्न दिएको चुनौतीको सामना गर्ने बताए ।

प्रतिक्रिया