म्यान यु नयाँ सिजनको दाबेदार : म्यानसिनी

लन्डन, ३ भदौ । इंगलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक रोबर्टो म्यानसिनीले म्यानचेस्टर युनाइटेड यस सिजन लिग उपाधिको दाबेदार भएको बताएका छन् । साविक विजेता क्लबका प्रशिक्षकको तर्क छ, ‘म्यानचेस्टर युनाइटेडसँग दुई ठूला स्ट्राइकर छन् ।’ म्यान युले २४ मिलियन पाउन्डमा भरखरै मात्र आर्सनलका स्ट्राइकर रविन भान पर्सीलाई भित्र्याएको थियो । पर्सी र वेन रुनीको जोडीले म्यान युलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गर्न सक्ने म्यान सिनीको विश्वास छ । ‘पर्सी गत सिजनका बेस्ट स्ट्राइकर हुन् । त्यसैले पर्सी र रुनीको जोडी इंगलिस प्रिमियर लिगकै एक उत्कृष्ट फरवार्ड जोडी हुनेछ,’ म्यानसिनीले भने । गत सिजन लिगको अन्तिम खेलमा दुई गोल इन्जुरी समयमा गरेर म्यान सिटीले ४४ वर्षपछि पहिलोपटक इंगलिस प्रिमियर लिगको उपाधि जितेको थियो ।
यता म्यान युले भने सन् १९९२ यता ११ पटक लिग उपाधि जितिसकेको छ । म्यान सिनीको विश्वास छ, इतिहास र अनुभवले सर एलेक्स फर्गुसनको टोलीलाई बलियो बनाउँछ । ‘म्यान यु २० वर्षयता हरेक संस्करणको उपाधिका लागि भिडिरहेको छ,’ म्यानसिनीले भने, ‘हामी एक वर्षमा अवस्था फरक बनाउन सक्दैनौँ ।’ पर्सीलाई भित्र्याउने जुनसुकै टोली पनि बलियो हुने उनको धारणा छ । ‘हामीसँग पहिला नै ४ स्ट्राइकर थिए । त्यसैले अर्को स्ट्राइकरलाई भित्र्याउने प्रयास गरेनौँ ।’
म्यान सिटीले नयाँ सिजनको आफ्नो पहिलो लिग खेल आइतबार नवप्रवेशी साउथ हयाम्पटनविरुद्ध खेल्नेछ । मिकाह रिचाडर््स चोटका कारण अझै एक महिना खेल्न नसक्ने भएपछि म्यान सिटीलाई एक प्रतिभाशाली खेलाडीको अभाव खड्कनेछ । यता आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले पर्सीलाई गुमाउनु क्लबका लागि ठूलो घाटा भएको बताएका छन् । उनले प्रतिद्वन्द्वीलाई नै पर्सीजस्तो खेलाडी बेच्नु अझ नोक्सान भएको बताए । ‘बेच्नु नै परेपछि म त पर्सीलाई विदेशी क्लबलाई बेच्न चाहन्थेँ तर प्रतिद्वन्द्वीलाई बेचेर उनीहरूलाई थप बलियो बनाएका छौँ । पक्कै पनि यो राम्रो होइन,’ वेंगरले भनेका छन् ।
पर्सी अद्वितीय प्रतिभाशाली भएको बताउँदै वेंगरले उनलाई म्यान युले राम्रोसँग चिनेको बताए । ‘व्यावसायिक खेलाडीका लागि पैसा ठूलो कुरा हो । यसमा हामी कमजोर भयौँ । त्यसैले आठ वर्षदेखि सँगै खेल्दै आएका खेलाडीलाई दु:खका साथ बिदाइ गर्नुपर्‍यो । यसको क्षति कहिले पनि पूरा हुनेछैन,’ वेंगरको भनाइ छ । आर्सनललाई हरेक वर्ष स्टार खेलाडीले छाड्ने गरेका छन् । गत वर्ष सामिर नास्री र सेस फेब्रिगासले आर्सनल छाडेका थिए । वेंगरले पर्सीलाई बिक्री गर्नु फुटबलको कठोर सत्य भएको बताउँदै क्लब फ्यानलाई निराश नहुन आग्रह गरेका छन् । एजेन्सी

शीर्ष ६ क्लबको समर ट्रान्सफर
म्यानचेस्टर सिटी : ज्याक रोडवेल (१२ मिलियन पाउन्ड)
म्यानचेस्टर युनाइटेड : सिन्जी कागवा
(१२ मिलियन पाउन्ड), रविन भान पर्सी
(२४ मिलियन पाउन्ड), निक पावेल (३ मिलियन पाउन्ड)
आर्सनल : ओलिभर गिरोउड (१३ मिलियन पाउन्ड), शान्ति काजोर्ला (१२ मिलियन पाउन्ड), लुकास पोडोल्स्की (११ मिलियन पाउन्ड)
टोटेनहम : जिल्फी सिगर्दसन (८ मिलियन पाउन्ड), जान भर्टोनघेन (८ मिलियन पाउन्ड)
न्युकासल : गएल बिगिरिमन (खुलाइएको छैन), रोमैन अमल्फितानो (फ्री), कुर्तिस गुड (खुलाइएको छैन), भर्नन अनिता (६.७ मिलियन पाउन्ड)
चेल्सी : इडेन हाजार्ड (३२ मिलियन पाउन्ड), ओस्कार (२५मिलियन पाउन्ड), मार्को मारिन (७ मिलियन पाउन्ड), थोर्गान हाजार्ड (१ मिलियन पाउन्ड)

प्रतिक्रिया