भारत पहिलो खेलमै पराजित

मेलबर्न, २९ साउन । आइसिसी यु–१९ विश्वकपमा भारतले कमजोर सुरुआत गरेको छ । आइतबार समूहको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध भिडेको भारत ४ विकेटले पराजित भयो । अन्य खेलमा जित हात पार्दै दक्षिण अफ्रिका र न्युजिल्यान्डले विजयी सुरुआत गरे भने पहिलो खेलमा अस्ट्रेलियाद्वारा पराजित इंगल्यान्डले पहिलो जित हात पार्‍यो ।
समूह सी अन्तर्गत विजयी सुरुआत गर्ने क्रममा वेस्ट इन्डिज कमजोर प्रदर्शन गरेको भारतविरुद्ध चार विकेटले विजयी भएको हो । टस हारी ब्याटिङको निम्ता पाएको भारतीय युवा टोलीले निर्धारित ५० ओभरमा १६६ रन मात्र जोड्न सक्यो । वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ४७.१ ओभरमा प्राप्त लक्ष्य पूरा गर्‍यो ।
वेस्ट इन्डिजको इनिङमा एन्थोनी एलाइनले ५२, कायल मेयर्सले ४३ र जोन काम्पेलले ३६ रन जोडे । कमजोर सुरुआत गरेको वेस्ट इन्डिज एलाइन र काम्पेलले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुअघि १३–२ को स्थितिमा थियो । पाँचाँै नम्बरमा ब्याटिङ गर्न आएका केभम हड्ज १ रनमा आउट भएपछि वेस्ट इन्डिज एकाएक दबाबमा आएको थियो । तर वेस्ट इन्डिजले पुन: गतिलो साझेदारी गर्दै संकट टार्‍यो । एलाइनले मेयर्ससँग पाँचाँै विकेटका लागि ५८ रनको साझेदारी गरेपछि ४०.३ ओभरमा वेस्ट इन्डिजको स्थिति १३३–५ थियो ।
एक खेलाडीको अर्धशतकसहित ४ खेलाडीले मात्र दोहोरो अंकमा रन जोडेपछि भारत आफ्नो इनिङभर दबाबमा देखियो । भारतका लागि मध्यक्रमका स्मिथ पटेलले ५१ रन जोडे । भारतीय टोलीका लागि २६ रन योगदान गरेका विजय जोल नै दोस्रो सर्वाधिक रनकर्ता बने । बलिङतर्फ रन्सफोर्ड बिटनले ३ तथा जेरोम जोन्स र मेयर्सले समान २ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका मेयर म्यान अफ द म्याच भए ।
समूह सी मा पहिलो खेल श्रीलंकाविरुद्ध जितेर सानदार नतिजा हात पारेको बंगलादेश दोस्रोमा भने दक्षिण अफ्रिकाबाट १३३ रनले पराजित हुन पुग्यो । दक्षिण अफ्रिकाको सानदार ब्याटिङपछि २९५ रनको लक्ष्य पछयाएको बंगलादेश ३४.३ ओभरमा १६१ रनमा सीमित भयो । बंगलादेशका लागि कप्तान अनमूल हकले सर्वाधिक ३९ रन जोडे । बलिङतर्फ दक्षिण अफ्रिकाका भिन्सेट मर्रेले ३ तथा कोर्न ड्राई र सेलिन पिल्लेले समान २ विकेट हात पारे । यसअघि दक्षिण अफ्रिकालाई विशाल योगफलसम्म पुर्‍याउन प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर क्विन्टन डे कोकले ९५ र थेउनिस डे ब्रुनले ६३ रन बनाएका थिए । कोक म्यान अफ द म्याच भए ।
यता समूह ए अन्तर्गत पहिलो खेलमा पराजित भए पनि इंगल्यान्डले दोस्रोमा सानदार प्रदर्शन गर्‍यो । पहिला ब्याटिङ गरेको आयरल्यान्डलाई १०९ रनमा समेटेको इंगल्यान्ड ७ विकेटले विजयी भयो । ३६.२ ओभरमा इंगल्यान्डले लक्ष्य पूरा गरेको थियो । दुवै प्रारम्भिक ब्याट्सम्यान दोहोरो अंकमा रन नजोडी आउट भए पनि इंगल्यान्डलाई बेन फोआक्सले ३२ र क्रेग ओभर्टनले २६ तथा अनिस कपिलले ३२ रन जोडेर जिततर्फ डोर्‍याएका थिए । यसअघि रिस टोप्लेले ३ र साम वुडले २ विकेट लिएपछि आयरल्यान्ड ४२.२ ओभरमा अलआउट भयो । उत्कृष्ट बलिङ प्रदर्शन गरेका टोप्ले म्यान अफ द म्याच भए ।
यता समूह बी अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले स्कटल्यान्डलाई ३९ रनले पराजित गर्‍यो । २४८ रनको लक्ष्य पछयाएको स्कटल्यान्ड ४६.५ ओभरमा २०८ रनमा सीमित भएको हो । स्कटल्यान्डलाई अलआउट गर्ने क्रममा इस सोधी र कोनर नेनेन्सले समान ३ तथा हेनरी वाल्सले २ विकेट लिए । यसअघि न्युजिल्यान्डलाई विशाल योगफलतर्फ डोर्‍याउन विल योङले शतकीय इनिङ खेल्दै ११५ रन बनाएका थिए । एजेन्सी

प्रतिक्रिया