‘अस्ट्रेलियाको कम पदक स्वभाविक’

लन्डन, २६ साउन । जारी लन्डन ओलम्पिक खेलकुदमा आयोजक बेलायतले अपेक्षा गरिएभन्दा धेरै सफलता हात पार्‍यो भने अस्ट्रेलियाले अपेक्षा गरिएभन्दा निकै कम । यसमा सम्बन्धित राष्ट्रले आफ्नो नतिजाबारे विभिन्न विश्लेषण गरिरहेका बेला एक स्वास्थ्य अध्ययन प्रतिवेदनले भने अस्ट्रेलियाले व्यहोरेको नतिजा बेलायतको तुलनामा स्वाभाविक भएको तथ्य बाहिर ल्याएको छ ।
स्वास्थ्य सम्बन्धमा गरिएको एक अध्ययनले लामो दूरीको यात्रा गरेर प्रतियोगिता खेल्ने खेलाडी यात्रा नगरी खेल्ने खेलाडीको तुलनामा बिरामी हुने सम्भावना तीनगुणा बढी हुने सम्भावना पत्ता लगाएको छ ।
‘यस अध्ययनको प्रतिवेदनले यात्रै नगर्ने अर्थात् घरमा खेल्ने खेलाडीलाई फाइदा हुने देखाएको छ,’ दक्षिण अफ्रिकास्थित केपटाउन विश्वविद्यालयका प्राध्यापक मार्टिन स्वेल्नसले भने, ‘तपार्इं यात्रा गर्नुहुन्न भने तपार्इं यात्रामा निस्कनेको तुलनामा बिरामी हुने सम्भावना कम हुन्छ । त्यसैले यात्राको प्रभाव प्रदर्शन र नतिजा दुवैमा प्रत्यक्ष पर्छ ।’
सन् २०१० मा भएको सुपर रग्बी च्याम्पियनसिपमा सहभागी भएकामध्ये आठ टिमको ‘बिरामी अध्ययन’ गरेर स्वेल्नसको यो तथ्य बाहिर आएको हो । चार महिनासम्म सञ्चालन भएको उक्त प्रतियोगिता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र अस्ट्रेलियामा सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा टिम चिकित्सकले बिरामीका ४ सय ६९ घटना दर्ता गरेका थिए जसमा ‘रेस्पिरेटोरी इल्नेस,’ ‘गेस्ट्रो इन्टेस्टियल सिकनेस’ र ‘स्किन इन्फेक्सन’ लगायत विरामी २ सय ५९ खेलाडीमा १ सय ८७ वटा थिए ।
स्वेल्नसले खेल खेलिने स्थानका आधारमा पनि खेलाडी बिरामी हुने कुरा निर्भर रहने बताए । यस अध्ययनमा घरेलु मैदानमा खेल्दा हरेक १ हजार खेलाडीमा १५.४ वटा बिरामी केस मात्र भेटिएको प्रतिवेदनले देखाएको छ । पाँच घन्टाको यात्रा गरेर खेलिने खेलमा उक्त बिरामी घटनाको उक्त स्थिति ३२.६ पुगेको थियो । यसमा कुन दिशामा यात्रा गरियो भन्ने कुराको कुनै सम्बन्ध नरहने पनि अध्ययनले देखाएको छ । तर ‘अन्तर्राष्ट्रिय भ्रमणपछि घरमा आएर खेलिने खेलमा हरेक १ हजार खेलाडीमा उक्त स्थिति १०.६ केस पाइएको छ,’ ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनले हालै प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । स्वेल्नसले हवाई यात्रामा बिरामी हुने सम्भावना कम हुने पनि बताएका छन् ।
विदेशी वातावरणसँगको घुलमिल पनि बिरामीको ‘फ्याक्टर’ हुन सक्ने देखिएको छ । यसमा प्रदूषण, तापक्रम, हयुमिडिटी र खाना प्रमुख छन् । स्वेल्नसले अध्ययनको ‘फाइन्डिङ्स’ ले खासगरी प्रशिक्षकहरूमा ठूलो प्रश्न तेस्र्याएको बताएका छन् । ‘प्रशिक्षकले लामो दूरीको यात्रा गरेर खेलिने प्रतियोगितामा खेलाडीलाई खेलिने ठाउँको वातावरणमा घुलमिल हुन पर्याप्त समय दिएका छन् ? कुन खेलाडीचाहिँ बढी जोखिममा छ भनेर प्रशिक्षकले कहिले छुटयाएको छ ?’ स्वेल्नसको प्रश्न छ ।
जारी लन्डन ओलम्पिकमा बेलायत र अस्ट्रेलियाले प्राप्त गरेको नतिजा पनि यात्राकै एउटा पक्षका रूपमा हुन सक्ने उनको अनुमान छ । ‘अस्ट्रेलियनहरू लामो दूरी पार गरेर आएका हुन्,’ जारी प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसकेको अस्ट्रेलियाको उक्त नतिजाबारे स्वेल्नसको अनुमान छ । बेइजिङ ओलम्पिकमा १४ स्वर्ण, १५ रजत र १७ कांस्य गरी कुल ४६ पदकका साथ पदक तालिकामा छैटौँ भएको अस्ट्रेलियाले यसपटक
६ स्वर्ण, १२ रजत र ९ कांस्य गरी कुल २७ पदकका साथ पदक तालिकामा आठाँै स्थानमा रहेको छ । यता बेइजिङ ओलम्पिकमा १९ स्वर्ण, १३ रजत र १५ कांस्य गरी कुल ४७ पदकका साथ पदक तालिकामा चौथो भएको बेलायतले जारी ओलम्पिक खेलकुदमा २२ स्वर्ण, १३ रजत र १३ कांस्य गरी कुल ४८ पदकका साथ पदक तालिकामा चौथो स्थानमा रहेको छ ।

फेलिक्सलाई स्वर्ण
लन्डन ओलम्पिकको महिला चार सय मिटर हर्डल्सको स्वर्णपदक रुसले जितेको छ । रुसकी नताल्या एन्टयुखले दुईपटककी विश्वविजेता लासिन्डा डमेसलाई पछि पार्दै स्वर्णपदक जितिन् । एन्टयुखले ५२.७० तथा डेमुसले ५२.७७ सेकेन्डमा रेस पूरा गरे । चेक गणतन्त्रकी जुजाना हेजनोभाले कांस्यपदक जितिन् । यो स्पर्धामा अप्रत्यासित नतिजा आउनुबाहेक अन्य सबै स्पर्धामा बुधबार राति अमेरिकी खेलाडी सफल भए ।
सानी एन प्रेmजिएरले विश्व च्याम्पियन क्याटलिना जेटरलाई स्तब्ध पार्दै एक सय मिटरको उपाधि जिते पनि २ सय मिटरमा प्रेmजिएर एलिसन फेलिक्ससँग पराजित भइन् । जमैका र अमेरिकाका पाँच एकसेएक स्टारको भिडन्तमा २१.८८ सेकेन्डमा दूरी तय गर्दै फेलिक्सले स्वर्णपदक जितिन् । उनले बेइजिङ ओलम्पिकमा रजतपदक जितेकी थिइन् । प्रेजिएरले २२.०९ सेकेन्डमा रेस पूरा गरिन् । जेटरले २२.१४ सेकेन्डमा रेस पूरा गरिन् ।

भारतकी मेरी कोमलाई कांस्य

नयाँदिल्ली : दुई बच्चाकी आमा तथा २९ वर्षीय महिला बक्सरले कांस्यपदक भित्र्याएपछि यतिबेला भारतभर ती खेलाडी र लन्डन ओलम्पिकमा भारतीय सफलताबारे चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि बलिउड स्टार अमिताभ बच्चन र ‘गड अफ क्रिकेट’ सचिन तेन्दुलकरसम्मले यसको प्रशंसा गरेका छन् ।
एमसी मेरी कोमले कांस्यपदक जितेपछि भारत ओलम्पिक खेलकुद इतिहासमै सबैभन्दा बढी पदक घर भित्र्याउन सफल भएको छ । भारतले जारी ओलम्पिकमा चार पदक जितिसकेको छ जसले यसअघि चार वर्ष पहिलो बेइजिङ ओलम्पिक खेलकुदमा तीन पदक जितेर बनाएको राष्ट्रिय कीर्तिमान भारतले तोडेको हो । उक्त कीर्तिमान तोड्ने पदक कमकै बन्यो ।
पहिलोपटक ओलम्पिक खेलकुदमा समावेश गरिएको महिला बक्सिङ र त्यसमा कमले बहादुरीपूर्वक प्रदर्शन गर्दै पदक जितेपछि सरकारले समेत उनको प्रशंसा गरेको हो ।
४६ केजी र ४८ केजीमा गरी चारपटक विश्व च्याम्पियन भइसकेकी कोमले ओलम्पिकमा भने तौल बढाएर ५१ केजी तौलमा भिडन्त गरेकी थिइन् । आफ्नो तौलसमूह नराखिएपछि कोमले तौल बढाएर खेलेकी हुन् । सेमिफाइनलमा बेलायतकी निकोला एडम्ससँग ११–६ ले पराजित हँुदै कोम कांस्यपदकमा सीमित हुनुपर्‍यो । भारतीय खेलकुदमन्त्री अजय माकेनले मणिपुर राज्यको उत्तरपूर्व क्षेत्र निवासी कमले प्राप्त गरेको सफलताको प्रशंसा गरे । उनी गरिबीका बाबजुद पनि खेलकुदमा लागिपरेकी थिइन् । ‘कोमले आफ्नोभन्दा बढी तौलमा भिडन्त गरिन् । राम्रो खेलिन् र आफूभन्दा अग्ली, उमेरमा सानी र बलियी प्रतिद्वन्द्वीसँग हारिन्,’ अजयले भने, ‘ओलम्पिक कांस्यपदक आफैमा ठूलो उपलब्धि हो ।’
कोमको यस पदकसँगै भारत लन्डन ओलम्पिकबाट घर फर्कंदा साथमा तीन कांस्य र एक रजतपदक लिएर आउने छ, जुन संख्यात्मक हिसाबले अहिलेसम्मका ओलम्पिक सहभागितामा सबैभन्दा बढी हो । चार वर्षअघि सम्पन्न बेइजिङ संस्करणमा भारतले एक स्वर्ण र दुई कांस्य गरी कुल तीन पदक जितेर नयाँ राष्ट्रिय कीर्तिमान बनाएको थियो । यसपटक लन्डन ओलम्पिक खेलकुदमा पेस्तोल सुटर विजय कुमारले रजत र ब्याडमिन्टन खेलाडी साइना नेहवाल र राइफल माक्र्समेन गगन नारङ र बक्सर कमले कांस्यपदक जितेका हुन् । बलिउड कलाकार अमिताभ बच्चन र क्रिकेटर सचिन तेन्दुलकरले पनि बक्सर कोमलाई धन्यवाद र बधाई दिएका छन् । ‘आज कोमसँग बोल्न पाएकोमा निकै सम्मानित र गौरव महसुस गरिरहेको छु,’ कोमले पदक जितेलगत्तै उनीसँग टेलिफोन गरी गफ गरेका अमिताभले ट्विटरमा लेखेका छन्, ‘ओहो † कस्ती महिला हुन् ? आज उनीप्रति सिंगो भारत गौरव महसुस गरिरहेको छ ।’
त्यस्तै तेन्दुलकरले पनि ट्विटरमा लेखेका छन्, ‘कोम एमेजिङ महिला हुन् । पदक जित्न उनले कति धेरै संघर्ष गरिन् । कोम, हामी तिम्रा कारण आज निकै खुसी छौँ ।’ सामान्यतया क्रिकेटका समाचारलाई मात्र प्राय: स्थान दिने भारतीय सञ्चारमाध्यमहरू बिहीबार भने कोमको सफलताको गुणगान गाउनमै व्यस्त रहे । कोमलाई एक सन्देश दिँदै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले त्यसमा भनेका छन्, ‘हाम्रो पदकविजेताले यस ओलम्पिक दौरान हामीलाई निकै खुसी बनाए । म आशा गर्छु उनीहरूको सफलताले खेलकुदमा नयाँ पुस्ता आउनेछ ।’ भारतले जारी प्रतियोगितामा अझै केही खेलमा प्रतिस्पर्धा गर्न बाँकी छ र त्यसमा पनि केही पदकको आशा गरेको छु । रेस्लर सुशील कुमारबाट पदकको बढी आशा गरिएको छ । सुशील कुमार बेइजिङ ओलम्पिकका कांस्यपदक विजेता हुन् । (एजेन्सी)

 

प्रतिक्रिया