निर्वाचन अयोगले दिएको समयसीमाभित्र सरकारले कानुनी र संवैधानिक जटिलता समाधान गर्न नसकेपछि ७ मंसिरका लागि निर्धारित संविधानसभाको चुनाव नहुने निश्चित भइसकेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत दलका निवर्तमान सभासद्ले संविधानसभा पुन:स्थापना गर्न कम्मर कसेर लागे पनि एमालेले आधिकारिक रूपमा पुन:स्थापित गर्न सम्भव नहुने भन्दै ताजा जनादेशका लागि चुनावमै जोड दियो । जसले निक्कै लामो समयदेखि सहकार्य गरिरहेका प्रतिपक्षी दलहरूको गठबन्धनमा चिसोपन देखियो । कांग्रेसका ६२ जना निवर्तमान सभासद्ले हस्ताक्षर नै संकलन गरेर विभिन्न पार्टीका नेतालाई बुझाए । तर, एमालेसँगको सम्बन्ध सुधार्नकै लागि होला कांग्रेसले पनि पुन:स्थापनालाई स्वीकार्न सकेन । बाह्रविसे भेलाले चुनावमा जानुपर्ने निर्णय गर्यो, पार्टी सभापति सुशील कोइरालाले पनि अब पुन:स्थापनाको सम्भावना नरहेको अभिव्यक्ति दिइसकेका छन् ।
फलस्वरूप, अब सबैको ध्यान ताजा जनादेशका लागि चुनावमै केन्द्रित भएको छ । तर, त्यो चुनाव संविधानसभाका लागि हुने कि संसद्का लागि भन्ने अझै निष्कर्षमा पुग्न सकिएको छैन । बरु राजनीतिक दल र तिनका नेताबीच केको चुनाव गर्ने भन्ने विषयमा बहस चर्केको छ । राष्ट्रपतिसँगको छलफलमा प्राय: सबैजसो दलका नेताहरू संसद्को चुनावमा जान राजी भएको बुझिन्छ । संविधानसभाले चार वर्षसम्म पनि संविधान जारी गर्न सकेन । एक युगमा एक दिन एकपटक आउने संविधानसभाको चुनाव पाँचौँ वर्षमा फेरि गर्दा भोट माग्न जान पनि नेता–कार्यकर्तामा नैतिकताको समस्या आइपर्ने निश्चित छ । त्यसैले फेरि संविधानसभाकै चुनाव गर्नुको कुनै अर्थ छैन । उपलब्धिविहीन जम्बो संविधानसभाले यो अवधिमा मुलुकलाई धेरै आर्थिक नोक्सानी गरायो । हरेक पाँच वर्षमा संसद्को चुनाव गर्नुपर्ने भएकाले पनि अब संसद्को चुनाव गर्ने समय भयो भन्ने तर्क गर्दै संसद्को चुनाव रोजिँदैछ । तर, संसद्को चुनाव एउटा विकल्प भए पनि त्यति सजिलो छैन ।
संसद्को चुनाव गरी सुरुको केही समय संविधान लेखनका लागि व्यतीत गरेर संविधान लेख्न सक्ने सम्भावना त रहला तर यसरी संसदीय चुनावको बहस गरिरहँदा संसद्को भूमिकामा आएर संविधान लेखनको काम हुँदा यसको सन्देश के जाला ? १३ हजारभन्दा धेरैको ज्यान जाने गरी भएको १० वर्षे जनयुद्धको ऐतिहासिक पृष्ठभूमि, राजाको प्रतिगमन, १२ बुँदे समझदारी, ऐतिहासिक जनआन्दोलन, विस्तृत शान्ति–सम्झौताको बलमा राज्यको अग्रगामी पुन:संरचना र दिगो शान्तिका लागि नेपालमा संविधानसभाको आवश्यकता महसुस गरिएको हो । दुर्भाग्य दुई वर्षे संविधानसभालाई चार वर्ष लम्ब्याउँदासमेत पनि हाम्रा सभासद्हरूले संविधान बनाउन सकेनन् ।
त्यसो त फ्रान्समा पाँच पटकसम्म संविधानसभाको चुनाव भएको थियो । अफ्रिकी मुलुक घानामा सन् १९६० र १९६४ को संविधान असफल भएपछि १९७८ मा संविधानसभाको चुनाव गरी त्यसको एक वर्षपछि नयाँ संविधान घोषणा गरियो । घानाले ३६ वर्षमा चारवटा संविधानको प्रयोग गर्यो । हाइटीले २३ वटा संविधानको प्रयोग गर्यो भने भेनेजुएलाले २६ वटा संविधान परिवर्तन गरिसकेको छ । त्यसैले संविधानसभाले संविधान जारी गर्न नसकेर संसद्को चुनाव गर्ने र त्यसैले संविधान जारी गर्ने गरी बहस केन्द्रित भइरहँदा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, विस्तृत शान्ति–सम्झौताको के औचित्य ? यी यस्ता गम्भीर प्रश्नहरू भविष्यमा उठ्ने नै छन् ।
हुनत हामीलाई जनताका प्रतिनिधिले तयार पारेको संविधान चाहिएको हो । त्यसैले संविधानसभा वा संसद्, नाम जे भए पनि संविधान भए त पुग्यो पनि भन्न सकिएला । तर, त्यसको मर्म र भावनामा फरक पर्ने पो हो कि ! त्यसो भनेर फेरि संविधानसभाकै चुनावमा ढिपी कस्ने अवस्था पनि छैन । किनकि अन्तरिम संविधानले हामी कुन चुनावमा जाने भनेर बाटो खोलिदिएको छैन । चार वर्षसम्म संविधान बन्न नसक्दा त्यसले जनतामा निराशा छाएको जगजाहेरै छ । ६ सय एकजनाको जम्बो संविधानसभालाई चार वर्षसम्म पालिरहँदा आर्थिक हिसाबले मुलुक कमजोर भएको छ । त्यसैले फेरि पनि त्यही असफल संविधानसभा † भन्ने प्रश्न पनि नाजायज होइन । अब बरु हामीलाई ६ सय एकको संविधान आवश्यक छैन । त्यसलाई हरेक एक लाख मतदाताको एकजना प्रतिनिधि बनाउने गरी दुई सय ५१ सदस्यीय बनाए हुन्छ । संविधान लेखनको काम कम्तीमा ६ महिनामा सकिनासाथ त्यसले पूरा साढे चार वर्षको समय संसद्को समेत काम गर्ने बनाए हुन्छ । स्थानीय निकायको चुनाव पनि त्यही समयमा गर्ने हो भने मुलुकको हितमा हुन सक्छ ।
तर, विकल्प जुन रोजे पनि अगाडिको बाटो निक्कै कठिन छ । राष्ट्रिय सहमतिको रटान जति लगाए पनि त्यसले सफलता प्राप्त गर्न सकेन । फलत: आज हामी यो अवस्थामा आइपुगेका छौँ । त्यसैले शान्तिप्रक्रियालाई पूरापूर भत्किनबाट बचाउन र जनताको विश्वास गुम्न नदिन संविधानसभा/संसद्को निर्वाचन गर्नुपर्छ । संविधान लेखनका लागि ६ महिनाको समयावधि राखियो भने चार वर्षे संविधानसभाले पूर्णता दिन नसकेका काम रूपान्तरित संसद्ले गर्नेछ । र, त्यसले आजसम्मका आन्दोलनको मर्म पनि समेट्नेछ ।
प्रतिक्रिया