कृषि क्षेत्रका चुनौती

नेपालको अर्थतन्त्र मूलत: कृषिको खम्बामा अडेको कुरा घामजत्तिकै छर्लङ्गै छ । गाउँमा कृषक बनेर जीवन निर्वाह गर्नेदेखि सहरमा बसेर वैभवशाली जीवनयापन गर्ने अधिकांशलाई यसबारे थाहा छ । नीति निर्माण तहमा बसेका योजनाकार र योजनाविद् त झन् यहाँको कृषि क्षेत्रका समस्या, ती समस्या समाधानका विकल्पबारे पनि गहन जानकारी राख्छन् तर नीति निर्माण र कार्यान्वयनका तहमा हमेसा देखिने लापरबाही र राजनीतिक समस्याले अन्य सामाजिक तथा आर्थिक समस्यालाई ओझेलमा पार्ने हाम्रो परम्पराका कारण कृषि क्षेत्रको विकास सुस्त नै छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर विगतभन्दा सुधार हुनुमा रेमिटयान्ससँगै उत्पादकत्वमा वृद्धि हुनुलाई पनि ठानिएको छ । जसले पहिलो वाक्यलाई पुस्टयाइँ गरेको छ । राजनीतिक वृत्तको हेलचेक्रयाइँ र कार्य क्षमतालाई व्यङ्ग्य गर्दै कहिलेकाहीँ आमजनताले भन्ने गरेको सुनिन्छ ‘नेपालको राज्य सञ्चालन र सुरक्षा पशुपतिनाथले गरेका छन्, न कि कुनै राजनीतिक दल, संगठन वा सरकारले’ । कृषि क्षेत्रका विभिन्न पाटामा राज्यले देखाएको उदासीनतालाई हेर्दा लाग्छ नेपालको राज्य सञ्चालन मात्र होइन कृषि क्षेत्र पनि उनै पशुपतिनाथको हातमा छ । किनकि कृषि क्षेत्र सुधारको आधारभूत कुरा बिउवीजन, मल र जल–सिँचाईमा राज्य जहिलेसुकै उदासीन थियो, छ र सायद अझै लामो समय रहने छ । अनि कृषकवर्ग जहिलेसुकै पीडित ।
आव ०६८/६९ को कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३५.०८ प्रतिशत देखिन्छ । अर्थतन्त्रमा कृषिको योगदान बढी हुनु त खुसीको कुरा हो तर केको जगमा यो योगदान सम्भव भएको हो ? अर्थात् के यो योगदानको मात्रालाई बढाउन सकिँदैनजस्ता प्रश्नको उत्तर खोज्दै जाँदा खल्लो महसुस हुन्छ । अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने कृषि क्षेत्र यसरी भगवान् भरोसे भएको देख्दा कृषिमा निर्भर जनतामा नैराश्य मौलाउनु स्वाभाविक हो । परिणामस्वरूप आवश्यकतापूर्तिका लागि आजभोलि नेपालका युवा तथा श्रमिक वर्ग उल्लेख्य संख्यामा बिदेसिँदै छन् । गाउँघरमा वृद्धवृद्धा, बालबालिका तथा विवाहित महिलामय बनेका छन् । आज युवा कृषि क्षेत्रमा लाग्दा भविष्य अन्धकार हुने, यसबाट तत्काल केही हात नलाग्ने देखिरहेका छन् । अर्कोतर्फ यस क्षेत्रमा लागिहाले पनि खोजेकोबेला आधुनिक बिउवीजन नपाउने, बालीनाली सपार्ने र उब्जनी बढाउने जैविक तथा रासायनिक मलका लागि सरकारकै भर पर्नुपर्ने त्यो पनि समयमै र खोजेजति नपाउने, बालीनालीलाई आवश्यक पानीको परिपूर्ति गर्न सिँचाई सुविधा एकादेशको कथा हुनुजस्ता कारणहरू यस क्षेत्रप्रति विकर्षणका कारकहरू हुन् ।
नेपालको करिब १८ प्रतिशत भूमि खेतीयोग्य छ । जसमा दक्षिणी तराईबाट उत्तरतर्फ हानिँदै जाँदा पाइने जलवायु विविधताअनुरूप कृषि, फलफूल उत्पादनमा पनि विविधता भएकाले यहाँ निकै सम्भावनाहरू बोकेको देखिन्छ । नेपालको धरातलीय बनोटको नतिजास्वरूप उत्पादित हुने खाद्य उत्पादनको माग विश्वका थुप्रै राष्ट्रमा उच्च छ । यो राम्रो पक्ष हो तर नराम्रो पक्षतर्फ नजर लगाउने हो भने नेपालका कैयौँ जिल्लामा भोकमरीको पीडा बल्झिरहन्छ । हामी खाद्यान्नमा आत्मनिर्भर बनिनसकेको अवस्था छ । गत वर्ष पूर्वी तराईमा वितरित मकैमा घोगा नलाग्दा किसानहरू मकैका बोट नै बोकेर राजधानी आइपुगे, ताकि सरकारको चेत खुलोस् र आगामी दिनमा किसानलाई वितरण हुने बिउवीजन वितरण गर्नुअघि एकपटक सोचोस् । तर, त्यो बुद्धिमानी अहिले पनि गरेको देखिएन । यसपाला पनि कयौँ ठाउँमा गत वर्षकै व्यथा दोहोरिएका समाचार आएकै थिए तर गत वर्षझँै व्यापकता पाउन सकेनन् ती समाचारहरूले । राज्यमा उपलब्ध बिउवीजनको निर्धारित मूल्य तिरिसकेपछि पनि किसानले प्रतिफल पाउँदैनन् । उनीहरूको पेटको गुजारा समेत हुँदैन भने उनीहरूले बगाएको पसिनाको के अर्थ ? यी विषयहरू नै कृषि पेसामा लाग्ने युवा पुस्तालाई यसबाट टाढै राख्न पर्याप्त हुन्छन् ।
यसपाली रासायनिक मलले देशभरका किसानलाई अलमलमा पार्‍यो । गत वर्षको बिउको कथा अहिले मलमा दोहोरियो । सदरमुकामका कृषि केन्द्रमा किसानका लाइन घन्टाँै, राजधानीमा त दुई/तीन दिनसम्मै देखिए । चाहेजति मल भने कसैले समयमै पाएनन् । राज्यले पेटमै मुड्की बजारेको अनुभूति गरे उनीहरूले । गत आवमा कुल ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने देखिए तापनि पहिलो ६ महिना (साउनदेखि फाल्गुण) मा एक लाख १६ हजार मेट्रिक टन मात्र वितरण भएको देखिन्छ । जलस्रोतको पर्याप्त सम्भावनाको उपस्थितिमा पनि यहाँ करिब ६५ प्रतिशत भूभागमा मात्र सिँचाई सुविधा उपलब्ध छ । बाँकी जमिनको सिँचाई इन्द्रदेवको मुड र किसानको लकमा निर्भर गर्छ । कृषिप्रधान देशका लागि यी अभाव सबैभन्दा ठूला पीडा र कलंक हुन् । यहाँनिर कृषिक्षेत्र सुधार्नु राज्यको प्राथमिकतामै छैन भन्ने सन्देश दिन खोजिएको होइन । राज्यले त्रिवर्षीय योजनामा कृषि क्षेत्रको आधुनिकीकरण र विविधीकरणलाई प्राथमिकतामा राखेको छ । अर्कोतर्फ एक गाउँ एक उत्पादनजस्ता कार्यक्रम पनि सञ्चालनमा छन् । तर, यति मात्रै काफी छैन ।

प्रतिक्रिया