जुत्ता छाडेर अमेरिका आएँ

विधान लामाको नाम लिनासाथ नेपाली खेलक्षेत्रमा एक त्यस्तो खेलाडीको प्रसंग झ्वाट्टै अगाडि आइहाल्छ जो नेपालमा झन्डै सफलताको पर्याय बनेर रहेको छ । एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने उनी पहिलो खेलाडी हुन् । ओलम्पिक पदक जित्नेमा हालसम्म उनी एक मात्र नेपाली खेलाडी हुन् । सन् १८९६ देखि सुरू भएर प्रत्येक चार–चार वर्षमा आयोजना हुँदै आइरहेको ओलम्पिक खेलकुद प्रतियोगितामा सन् १९६४ अर्थात् टोक्यो ओलम्पियाडदेखि सहभागी हुनथालेको नेपालका लागि अहिलेसम्मको एक मात्र पदक विधानले नै तेक्वान्दो खेलमार्फत सन् १९८८ को सोल ओलम्पिक्समा जितेका हुन् । भलै, ‘अफिसियल मेडल लिस्ट’ मा नेपालले पाएको यो पदक ‘ओलम्पिक आर्काइभ’ मा नभेटिएला किनभने यो पदक ओलम्पिकमा पहिलोपटक प्रदर्शन खेलका रूपमा राखिएको तेक्वान्दोमा प्राप्त भएको थियो । तर, केवल सहभागिता मात्र पनि ठूलो मानिने ओलम्पिकमा पदक नै जित्नु त चानचुने कुरै होइन । किनभने, ओलम्पिक पदक जित्दा खेलाडी मात्रको नभई उसको देशकै नाम चम्किन्छ । केन्या, इथियोपिया, बेलिज, बहामाज, जमैका आदि देशका धावकहरूले लामो दूरीको दौडमा एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर ती देशलाई चर्चित र प्रतिष्ठित बनाइरहेका छन् ।
त्यसो त विधानको खेलजीवन नेपालभित्र खासै लामो रहेन । शरदचन्द्र शाहकालीन समयमा खेलक्षेत्रमा उनले ६ वर्ष जतिमात्र समय बिताए र त्यसपछि उनी अमेरिका प्रबासिए । उतैकी कन्यासित विवाह गरेर अमेरिकामै घरजम गरिरहेका विधानका लागि अचेल तेक्वान्दो पूर्णकालीन जीविका रहेको छैन, आयआर्जनका लागि पछिल्ला थुप्रै वर्षदेखि उनी कम्प्युटर चिप्स उत्पादन गर्ने कम्पनीमा समेत काम गर्छन् । तापनि, सोल ओलम्पिक्समा जितेको कास्य पदकले गर्दा विधान लामा नेपाली खेलक्षेत्रका अजर–अमर हस्ति हुन पुगेका छन् ।
पुराना सम्झना, नयाँ जीवन
अमेरिकी राज्य ओरेगनको पोर्टल्यान्डमा बसोबास गरिरहेका भए पनि विधानसित नेपाल बसाइका सम्झना पुराना हुनसकेका छैनन् । उनी अमेरिका बसेकै तीस वर्ष नाघिसकेको छ । यस अवधिमा उनी दुई सन्तानका पिता बनिसकेका छन् । अमेरिका बसाइको नयाँ जीवन कस्तो छ ? विधान भन्छन्, ‘अमेरिका त भन्ने मात्र हो, त्यहाँको बसाइ त निकै गाह्रो पो छ त । अहिले म बिहान र दिउँसो एक कम्पनीमा काम गर्छु र साँझ चार घन्टा यु एस वेस्ट कोस्ट तेक्वान्दो क्लबमा तेक्वान्दो सिकाउँछु ।’
‘अमेरिकामा धनीमानीहरू तेक्वान्दो सिक्न भनेर क्लबमा आउँदैनन्, उनीहरूलाई इच्छा लागेमा घरमै पुगेर ‘प्राइभेट ट्ेरनिङ’ दिनुपर्ने हुन्छ । उनीहरूलाई किक, पन्च आदि प्राविधिक कुरा नभएर आत्मरक्षाका लागि मात्र दाउपेचहरू सिकाउनुपर्छ । तपाईंलाई साँच्चै भनूँ भने अमेरिकामा म ओलम्पिक मेडलिस्ट भनेर मात्र बढी टिकेको छु, इज्जत पाएको छु, नत्र त टिक्नै गाह्रो हुन्छ ।’
अमेरिकामा तेक्वान्दो सिकाउने स्थल ‘डोजाङ’लाई स्टुडियो भनिँदो रहेछ । डोजाङमा आएर सिक्नुपर्दा एक घन्टाको शुल्क कम्तीमा ४५ डलर लाग्दो रहेछ । सिकाउने गुरू घरैमा गएर सिकाएमा त्यस्तो ‘प्राइभेट ट्ेरनिङ’ अथवा ‘लेसन’को प्रतिघन्टा कम्तीमा १ सय ५० डलर तिर्नुपर्ने प्रचलन रहेछ ।
विधानमा पुरानो जोस र स्फूर्ति छँदै छ तर जीवन फेरिएको छ । नयाँ जिम्मेवारी थपिएका छन् । पंक्तिकारलाई विधानसित कुराकानी गर्ने संयोग केही वर्ष पहिले लाजिम्पाटस्थित उनको पुख्र्यौली घरमै त्यतिबेला मिलेको थियो, जतिबेला उनी काठमाडौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा सहभागी हुन अमेरिकाबाट पाँच सदस्यीय टोली लिएर अमेरिका प्रबासिएका अर्का प्रशिक्षक दिवाकर महर्जनसँगै काठमाडौं आएका थिए । उनले भनेका थिए– ‘स्तरीय प्रशिक्षण र अधिकतम सहभागिता तेक्वान्दोमा सफल बनाउने आधार हुन् ।’
तेक्वान्दोबाहेकका अन्य खेलाडीमा उनी बैकुण्ठ मानन्धर, दलबहादुर रानामगर र मोहन राईलाई राम्रो ठान्छन् । सानो छँदा उनका आदर्श (आइडोल) चाहिँ प्रतिभाशाली बक्सर दलबहादुर थिए । किशोर छँदा विधान मनमनै सोच्ने गर्थे– ‘म ठूलो भएपछि दलबहादुर रानामगरजस्तै हुन्छु, त्यस्तै नाम कमाउँछु ।’
खेलाडी पिताका खेलाडी छोरा
पिता श्यामबहादुर र आमा रूपादेवी लामाका शोभा, विधान, निर्मल, पारू र विदुर गरी भएका पाँच सन्तानमा माहिलो भएर २०२३ साल चैतमा काठमाडौंमा जन्मेका विधान साँचो अर्थमा खेलाडी पिताका खेलाडी छोरा हुन् । अझ भनौँ, राष्ट्रिय च्याम्पियन पिताका राष्ट्रिय च्याम्पियन खेलाडी–छोरा हुन् । उनका पिता श्यामबहादुर सुटिङ खेलाडी थिए । विसं २०४० मा एअर राइफल इभेन्टमा राष्ट्रिय च्याम्पियन बन्दै दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । विसं २०४१ सालको लस एन्जेलस ओलम्पिकका निम्ति उनी क्वालिफाइ भएका थिए तर जाने बेलामा उनको ठाउँमा अर्कै व्यक्तिलाई एन्जेलस पठाइएपछि उनको मनै मरेर आयो । प्रशिक्षक पनि कोही थिएन । त्यसपछि उनलाई खेलकुद परिषद्तिर जानै मन लागेन र खेलजीवन त्यसैत्यसै समाप्त भएर गयो । विधानकी दिदी शोभा लामा पनि सुटिङ खेलाडी रहिसकेकी हुन् भने भाइ निर्मलले पनि केही समय तेक्वान्दो खेलेका थिए । तर, परिवारको नाम भने विधानले नै चम्काए ।
पाँच फिट तीन इन्च अग्ला विधान काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृहबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेपछि रत्नराज्य क्याम्पसमा आइएमा भर्ना भएका थिए । तर, त्यहाँ एक वर्षभन्दा धेरै पढ्न सकेनन् । पछि, अमेरिकामा नेपाली हाई स्कुलको शिक्षालाई मान्यता प्राप्त भएन । यसले गर्दा उनले अमेरिकामा ‘जेड’ जेनरल एजुकेसन डेभलपमेन्ट अर्थात् हाई स्कुल डिप्लोमा कोर्स पढ्नुपर्‍यो । पुन: त्यसपछि उनले चार वर्षमा पूरा हुने ‘क्रिमिनल जस्टिस एडमिनिस्ट्रेसन’ कोर्समा दुई वर्षमै ‘एसोसिएट डिग्री’ हासिल गरे । हाल ७२ किलो वजनको शरीर बोकी हिँड्ने विधानले २५ वर्षको छँदा अमेरिकामै पहिले आपैँmले तेक्वान्दो सिकाएकी आफूभन्दा पाँच वर्ष कान्छी युवती किम्बर्ली (एन आर्मस्ट्रङ) लामासित विसं २०५० मा विवाह गरे । विसं २०५१ मा उनीहरूको पहिलो सन्तान छोरीको जन्म भयो– क्यामियोदेवी लामा । दुई वर्षपछि विसं २०५३ मा छोरा जन्मियो र न्वारन भयो– च्यान्सबहादुर लामा । उनका दुवै छोराछोरी तेक्वान्दो खेल्ने गर्छन् । उनी भन्छन्, ‘छोरीको दाँजोमा छोरालाई भने तेक्वान्दोप्रति रुचि कम छ ।’
विधानमा तेक्वान्दो खेलप्रतिको ‘क्रेज’ कस्तोविधि रहेछ भने, उनी भन्छन्, ‘छोरा जन्मेर अस्पतालबाट घर ल्याएपछि उसलाई लगाइदिएको पहिलो लुगा नै ब्ल्याक बेल्टसितको तेक्वान्दो ड्रेस थियो । छोरी पहिले जन्मेको भए पनि ऊ जन्मजात बिरामी भएकी र उसलाई विशेष उपचार गर्नुपरेकाले अरू केही सोच्नै पाइएन ।’ यति मात्र होइन, विधानको वैवाहिक जीवनको रमाइलो पक्ष पनि छ । त्यो के भने, उनले आफ्नी पत्नीसित दुईपटक विवाह गर्नुपर्‍यो । पहिले त अमेरिकामै क्रिस्चियन विधि–विधानअनुसार र दोस्रोपटक छोरी दुई वर्षकी हुँदा अर्थात् अमेरिकामा विवाह गरेको तीन वर्षपछि नेपाल आई बौद्ध लामा शैलीअनुसार टीकाटालो गरी गरेको विवाह ।
पाँच रुपैयाँमा ब्रुस ली हेर्दै
लैनचौरका केटाकेटीहरूसित खेल्दै हुर्कंदै गरेका विधान मार्सल आर्ट्सका किंवदन्ती ब्रुस लीका फिल्म हेरेर मार्सल आर्ट्सतिर आकर्षित भएका हुन् । तिनताका नेपालमा मार्सल आर्ट्स सेना र प्रहरीमा सीमित थियो, सर्वसाधारणका लागि प्रतिबन्धित थियो । वि.सं.२०३५–०३६ सालतिर ६–७ कक्षामा पढ्दा विधान अरू साथीहरूसित मिलेर स्कुलबाट भाग्थे र मखन र ओटुका गल्लीभित्र पाँच रुपियाँ तिरेर ब्रुस लीका फिल्म भिडियोमा हेर्ने गर्थे । काठमाडौंमा त्यो बेला ब्रुस लीको निकै हावा (क्रेज) थियो । विधानहरू भिडियो हेर्थे र बाहिर चउरमा आएर फिल्मका ब्रुस लीलाई सम्झँदै हावामा हात–खुट्टा हिर्काउने गर्थे ।
मार्सल आर्ट्सप्रति उनको आकर्षण कस्तो थियो भने जुडो, कराते, कुङ्ग–फू र ब्रुस लीको सानाठूला जस्तासुकै फोटा फेला पारे पनि उनी टिकट संकलन (फिलाटेली) जस्तै जम्मा गरिहाल्थे † कहाँसम्म भने कापीका जिल्दामा भएका ब्रुस लीका तस्बिरसमेत च्यातेर राखी हाल्ने † ती संकलन अझै पनि छन्, विधानको लैनचौरस्थित घरमा ।
यसै क्रममा, तिनताकको काठमाडौंमा मार्सल आर्ट्समा सित्कर राजभण्डारीको राम्रो नाम चलिरहेको थियो । सित्करकै एक शिष्य कैलाश राईसित सम्पर्क भएपछि विधानहरूले उनैबाट मार्सल आर्ट्स सिक्न थाले । एक वर्ष त्यसरी सिकेपछि विधानको संगत सितेरियो करातेका प्रमुख गुरु थानेश्वर राईसित हुनगयो । उनको क्षमता र लगन देखेर थानेश्वरले उनलाई नि:शुल्क एक वर्षजति कराते सिकाए । विधानले थानेश्वर राईबाट ग्रिनबेल्ट डिग्रीसम्म हासिल गरे । उनी भन्छन्, ‘थानेश्वर राई खेलकुदप्रति अत्यन्त समर्पित व्यक्तित्व हो । उहाँले ममाथि ठूलो गुन लगाउनुभएको छ । सधैँ राम्ररी खेल्नुपर्छ, समर्पित भएर खेल्नुपर्छ, भन्नुहुन्थ्यो ।’
फागुन २०३९ सालमा नेपालमा तेक्वान्दो भन्ने नयाँ मार्सल आर्ट्स खेलशैली भित्रियो । दशरथ रंगशालामा बृहत् प्रदर्शन भयो, जसलाई हजारौँ मानिसले हेरे । तिनै हजारौँ दर्शकमा एकजना विधान पनि थिए । उनलाई नयाँ खेल मन पर्‍यो र उनी कराते छाडेर तेक्वान्दो सिक्न दौडिए । पाँच रुपियाँमा ब्रुस ली हेर्दै बढेको मार्सल आर्ट्सप्रतिको रुचि तेक्वान्दोमा पुगेर केन्द्रीकृत भयो ।
तेक्वान्दो प्रवेश र प्रतिस्पर्धा
नेपालमा तेक्वान्दोको विकास गर्न भनेर त्यो बेला दक्षिण कोरियाली प्रशिक्षक मास्टर जेके सिन काठमाडौं खटाइएका थिए । यिनै मास्टर सिन नेपालमा डब्ल्युटिएफ तेक्वान्दोका मूल संस्थापक हुन् । उनलाई साथ दिने सहायक गुरुहरूमा दिनेश राई, दीपराज गुरुङ आदि थिए । विधानसँगैको समूहमा तेक्वान्दो सिक्ने अरू खेलाडीमा रमेश डंगोल, राजेन्द्र प्याकुरेल, शुभप्रताप केसी, अष्टमान डंगोल आदि थिए ।
उनले नेपालमा पहिलोपटक २०४० सालमा प्रतियोगितामा सहभागिता जनाए र त्यो वर्ष युवा महोत्सव तेक्वान्दो प्रतियोगिता काठमाडौंमा हुँदा उनले फ्लाइवेट (५०–५४ केजी) मा प्रतिस्पर्धा गरेर स्वर्ण पदक जितेका थिए । जनवरी १९८४ मा प्रथम सगरमाथा कप तेक्वान्दो च्याम्पियनसिप हुँदा त्यसमा गुरुचेला सबैलाई भिडाइएको थियो । दीपराज गुरुङ त्यसमा पराजित भएका थिए । विधानले त्यो प्रतियोगितामा महेश श्रेष्ठसमेत दुईजना ब्ल्याकबेल्ट र एकजना ब्राउनबेल्ट खेलाडीलाई पराजित गर्दै फाइनलमा असुराज श्रेष्ठलाई हराएर स्वर्ण पदक जितेका थिए । यसै विजयले उनलाई पहिलोपटक चर्चित बनायो ।
तिनताका कुनै पनि विदेशी अथवा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा ब्ल्याकबेल्ट हुनुपर्ने नियम थियो । यही क्रममा सन् १९८४ मा विधानले तेक्वान्दो ब्ल्याकबेल्ट डिग्री पाए । समयक्रममा उनी छैटौंँ डान प्राप्त प्रशिक्षक भइसके भने सन् १९९९ मा इन्टरनेसनल रेफ्री सेमिनार, क्यानाडा उत्तीर्ण गरेर तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक पनि छन् ।
प्रथम सगरमाथा कप तेक्वान्दो प्रतियोगितापछि विधानले २०४५ सालसम्म देशभित्र भएका प्राय: सबै प्रतियोगिता खेले र एकाध पटकबाहेक सधैँ सफल पनि रहे । योबाहेक उनले मनिलामा भएको छैटौँ एसियन तेक्वान्दो प्रतियोगितापछि सन् १९८५ मा दक्षिण कोरियामा भएको सातौँ विश्व तेक्वान्दो प्रतियोगिता, १९८६ मा अस्ट्ेरलियाको डार्बिनमा भएको सातौँ एसियाली तेक्वान्दो प्रतियोगिता, १९८६ मै दक्षिण कोरियामा भएको दसौँ एसियाली खेलकुद प्रतियोगिता, सन् १९८७ मा स्पेनको बार्सिलोनामा भएको आठौँ विश्व तेक्वान्दो प्रतियोगिता, सन् १९८८ मा काठमाडौंमा भएको आठौँ एसियाली तेक्वान्दो प्रतियोगिता र सन् १९८८ मा दक्षिण कोरियामा भएको सोल ओलम्पिक्समा प्रतिस्पर्धा गरे । यसबीच उनले दोस्रो सगरमाथा तेक्वान्दो आमन्त्रण प्रतियोगिता –जुन १९८६, काठमाडौं) खेलेर सात देशका सहभागीमाझ स्वर्ण पदक जिते । तेस्रो सगरमाथा तेक्वान्दो आमन्त्रण प्रतियोगिता– १९८७ काठमाडौंमा ६ देशका सहभागीबीच खेल्दा उनले रजत पदक पाए, सन् १९८७ मै इरानी सहर तेहरानमा भएको ‘टेन डेज अफ डान, इन्टरनेसनल कल्चर एन्ड स्पोर्टस् टुर्नामेन्ट’ मा अर्का नेपाली सहभागी राजकुमार राईसँगै रजत पदक जिते । त्यसै वर्ष अर्थात् सन् १९८७ मै हङकङस्थित ब्रिटिस फोर्सेज तेक्वान्दो संघको आयोजनामा हङकङमा भएको पहिलो आमन्त्रण तेक्वान्दो प्रतियोगितामा उनले स्वर्ण जिते ।
विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली
मनिलामा भएको छैटौँ एसियाली तेक्वान्दो प्रतियोगिताबाट फर्केपछि नेपालमा भएको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विधानहरूले सहभागी हुन पाएनन् । साफ खेलकुदको आठौँ संस्करणमा मात्र तेक्वान्दो र कराते समावेश गरिँदा नेपाललाई सार्क क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको थियो । तर, विधानले सन् १९८५ मा सातौँ विश्व तेक्वान्दो च्याम्पियनसिप खेल्दै सोलमा सानदार प्रदर्शन गरे । उनका प्रतिद्वन्द्वी दुईपटक विश्व च्याम्पियन र एकपटक उपविजेता रहिसकेका अमेरिकी नागरिकता ग्रहण गरेका कोरियाली खेलाडी ङे सुङ ली थिए । प्रारम्भिक राउन्डदेखि तीव्र प्रतिस्पर्धा हुँदै जाँदा तीन राउन्डसम्म नै दुवैजनाको अंक बराबरीमा थियो । अन्तत: बल्लतल्ल सुङ ली विजेता ठहरिए पनि प्रतियोगितामा विधानलाई ‘सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार’ भनी विशेष कप प्रदान गरिएको थियो ।
अस्ट्रेलियाको डार्बिनमा खेल्दा पहिलो चरणमै पराजित भए पनि सन् १९८६ विधानका लागि र अन्तत: नेपालकै लागि विशेष उल्लखेनीय रह्यो । यसै वर्ष सोलमा दसौँ एसियाली खेलकुद प्रतियोगिता
(एसियाड) हुँदा नेपालले आश्चर्यजनक तरिकाबाट आठवटा कास्य पदक जित्यो । एसियाडमा सहभागी भएको पैँतीस वर्षको इतिहासमा पहिलोपटक नेपाललाई कुनै पदक प्राप्त भयो । संयोग के भने एसियाली खेलकुदमा पहिलो पदक जित्ने नेपाली उनै विधान लामा थिए । विधानबाहेक तेक्वान्दोमा थप तीन कास्य र बक्सिङमा दलबहादुर रानामगरको एकसमेत चारवटा कास्य पदक नेपाललाई प्राप्त भएको थियो ।
अर्को वर्ष सन् १९८७ मा स्पेनको बार्सिलोनामा भएको आठौँ विश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुन पुगेका विधानले त्यहाँ पनि कास्य पदक जिते । उनीसँगै त्यहाँ प्रतिस्पर्धा गर्न जाने अरू खेलाडीमा मधुकर राजभण्डारी, हरि तामाङ, मोहन राई, सीमा खड्का आदिसमेत थिए । तर, विधानको सफलता फेरि एकपटक अभूतपूर्व हुन गयो किनभने कुनै पनि विश्वस्तरीय प्रतियोगितामा नेपालले जितेको यो नै पहिलो पदक थियो ।
पदक विजेताहरूलाई चौध अञ्चल घुमाइयो
बार्सिलोनामा पदक जितेर फर्किएपछि विधानलाई स्वदेशमा भव्य स्वागत भयो । विमानस्थलबाटै फूलमाला र अबिर दलेर जिपमा राखी राजधानी उपत्यका परिक्रमा गराइयो । उनलाई ३५ हजार रुपियाँ नगद पुरस्कार पनि प्रदान गरियो ।
विधानलाई सम्झना छ, ‘सोल एसियाडमा पदक जितेर आएपछि हामी आठ खेलाडीलाई चौध अञ्चल नै घुमाइएको थियो । कतै मोटरमा राखेर, कतै हात्ती त कतै घोडामा राखेर घुमाइयो । सबै जिल्ला र अञ्चलमा स्थानीय व्यक्तिले केही न केही उपहार दिए । कसैले चित्र दिए, कसैले मुढा, राडी, चियापत्ती त कसैले के । नारायणी अञ्चलले आठैजना पदकधारीलाई राजदूत मोटरसाइकल उपहार दिएको थियो । हामी आठजना प्रत्येकले ६५–६५ हजार रुपियाँ नगद पुरस्कार पनि पायौँ ।’
‘अञ्चलहरूमा घुम्दा हाम्रा बारेमा निकै प्रचार गरिएको थियो । तेक्वान्दो भनेर थाहा नभए पनि खेलकुदका लागि यस्तो गरेछन् भन्ने ठूलो प्रचार थियो । ठाउँ–ठाउँमा मानिसहरू ठूलो संख्यामा भेला भएका हुन्थे, फूलमाला र अबिर दलिदिन्थे, टीका लगाइदिन्थे । जनताको अपार माया देख्दा वातावरण भावुक हुन्थ्यो र थाहा नपाईकन आँखाबाट आफैँ आँसु खस्न पुग्थ्यो ।’ यसै सफलताका लागि उनीहरूले राजाबाट गोरखा दक्षिणबाहु विभूषण पाएका थिए ।
ओलम्पिकको सपना र ऐतिहासिक पदक
सन् १९८८ (विसं २०४५) विधानको खेलाडी जीवनको शीर्ष वर्ष थियो । यो वर्ष उनले पहिले काठमाडौंमा भएको आठौँ एसियाली तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे । सेमिफाइनलमा भिडन्त गर्दा उनको करङको हाड खुस्कियो । र, उनले फाइनलमा लड्नै नसकेर ‘वाकओभर’ दिनुपर्‍यो । यो घटना उनको खेलजीवनको सबैभन्दा दु:खद् घटना बनेर रहेको छ । सोही प्रतियोगितामा सीता राई, मीरा थापा, रीता श्रेष्ठ, मञ्जु तुलाधरले पनि कास्य पदक जितेका थिए ।
तेक्वान्दो खेल्न थालेदेखि नै विधानले एउटा सपना पालेका थिए– जे जसरी हुन्छ, ओलम्पिकमा एकपटक मात्र भए पनि सहभागी हुने र जोडदार प्रतिस्पर्धा गर्ने । उनको यो सपना सन् १९८८ मै पूरा भयो । सोल एसियाड–१९८६ मा पहिलोपटक समावेश गरिएको कोरियाली राष्ट्रिय खेल तेक्वान्दोलाई सोल ओलम्पिक्स–१९८८ मा पनि पहिलोपटक प्रदर्शन (तर पदक वितरण हुने) खेलका रूपमा राखिएको थियो । तेक्वान्दो खेलाडीहरूका लागि यो ठूलो उपलब्धिको पक्ष थियो । (पछि, सन् २००४ को एथेन्स ओलम्पिक्सदेखि तेक्वान्दो पनि ओलम्पिक प्रतियोगिताको नियमित खेल हुन थालिसकेको छ) ।
सन् १९८७ को बार्सिलोना विश्व प्रतियोगितामा कास्य पदक जितेका आधारमा विधानले सोल ओलम्पिकका लागि स्वत: छनोट भएर ‘वाइल्ड कार्ड इन्ट्री’ पाए । नेपालस्थित कोरियाली प्रशिक्षक मास्टर जेके सिनको विशेष अनुरोधमा नेपाललाई थप एक खेलाडीको कोटा प्राप्त भयो । यसपछि फिनवेटमा विधान र फेदरवेटमा मानबहादुर तामाङले सोल ओलम्पिकमा प्रतिस्पर्धा गरे । तामाङको प्रदर्शन सामान्य रहयो । तर, विधानले भने उल्लेखनीय प्रदर्शन गरे । पहिलो भिडन्तमा उनी ग्रेट ब्रिटेनलाई र दोस्रो म्याचमा जर्मनीलाई पराजित गरेर सेमिफाइनल प्रवेश गरे । सेमिफाइनलमा कडा प्रतिस्पर्धा गरे पनि उनी प्रतिद्वन्द्वी अमेरिकी खेलाडीविरूद्ध पराजित भए । तर, यति भए पनि उनी कास्य पदकका हकदार भइसकेका थिए । विधानले पाएको यही कास्य पदक नेपालका लागि ओलम्पिकमा प्राप्त भएको हालसम्मकै एकमात्र पदक हो ।
ओलम्पिक पदक जितेपछि उनको प्रशंसा भयो, लैनचौर र लाजिम्पाटमा टोलवासीले उनको नागरिक अभिनन्दन गरे । तर, देशमा सामाजिक–राजनीतिक आन्दोलन चर्कन थालेकाले खेलक्षेत्र पनि प्रभावित नभइरहन सकेन । शरदचन्द्र शाहपछि आएको नयाँ नेतृत्वले खेलक्षेत्रको गतिशीलता कायम राख्न सकेन । मास्टर जेके सिन पनि लगभग आठ वर्ष नेपाल बसिसकेपछि अमेरिका पलायन भइसकेका थिए । उनका ठाउँमा नयाँ प्रशिक्षक हयुन चोल ओ खटाइएका थिए । ओलम्पिकभन्दा माथि उठ्ने ठाउँ नदेखेपछि विधान खेलक्षेत्रमा क्रमश: निष्क्रिय हुँदै जान थाले । सन् १९९२ को बार्सिलोना ओलम्पिक नजिकिएका बेला विधान ‘स्पेसल ओलम्पिक ट्ेरनिङ’ भनी सन् १९९० मा अमेरिकातिर हुत्तिए ।
बार्सिलोना ओलम्पिकमा खेल्न छनोटका लागि राष्ट्रिय खेलकुद परिषद्ले विधानलाई नेपाल बोलायो । लिग चरणको छनोटमा उनले पहिलो म्याचमा नारायण गुरुङविरुद्ध भिडे पनि दोस्रो भिडन्तमा टार्जन सुब्बालाई ‘वाकओभर’ दिए र अन्तिम छनोटका लागि कोरिया जान अस्वीकार गरे । त्यसको ६ महिनापछि एकजना पूर्वपरिचित अमेरिकी मिस्टर माइकको सहयोगमा ‘स्टुडेन्ट भिसा’मा फेरि अमेरिका प्रस्थान गरे । त्यहाँ ‘टोफल’ पास गरे र त्यहीँ बसेर मास्टर जेके सिनसँगै तेक्वान्दो तालिम दिन थाले । पछि, उनलाई अमेरिका स्थायी बसोबासको अनुमति ‘ग्रिन कार्ड’ प्राप्त भयो ।
सोल एसियाडमा पदक जितेर आइसकेपछि कम बोल्ने तर हँसिला विधानले स्वदेशमा अन्तर्वार्ता दिँदै भनेका थिए– ‘विदेशमा अरू खेलाडीले जित्दा उसको प्रशिक्षक खुसीले रुन्छ । तर, नेपाली प्रशिक्षकहरू नेपाली खेलाडीले जित्ला कि भनेर मलिन अनुहार लाउँछन्, पदक जितेमा खेलाडी अगाडि बढ्छ र आफू पछि परिन्छ भन्ने सोचाइ उनीहरूमा छ ।’ यो भनाइले गर्दा उनले धेरै ठाउँ स्पष्टीकरण दिनुपरेको थियो, यो उनी कहिल्यै बिर्सन्नन् ।
यति सफल र सम्मनित खेलाडी अमेरिका किन पसेको त ? विधान भन्छन्, ‘म पहिला ट्रयाक एन्ड फिल्ड र फुटबल पनि खेल्थेँ तर ती खेलमा आफू अगाडि बढ्ने सम्भावना देखिनँ । पछि पनि, विगत र वर्तमानमा केही गरे पनि यहाँ भविष्य देखिनँ । प्रशिक्षक भएर मात्र दिन बिताउन मनले मानेन । राजनीतिमा चासो थिएन र राजनीतिक सम्पर्क र ‘ब्याकिङ’ नभईकन कुनै राम्रो पद नपाइने देखेँ । खेलकुदमा पनि धेरै मानिस धेरैतिरबाट खुट्टा तान्न लागिरहेकै थिए । निकै सोचेपछि मैले ती खुट्टा तान्नेहरूका लागि जुत्ता छाडी दिएँ र म मोजासहितको खुट्टा लिएर अमेरिकातिर लागेँ ।’
०००

प्रतिक्रिया