बमजन पथमा प्रचण्ड

पथलैयाको जंगलमा रामबहादुर बमजन दस वर्षअगाडिदेखि तपस्यारत थिए । जब बमजन तपस्वी रहेछन् भन्ने बाहिर आयो सुरुका दिनमा नेपाल, भारत, श्रीलङ्कालगायत विश्वका धार्मिक आस्था बोकेका मानिस पनि बमजनलाई हेर्न पथलैया जंगलतिर डोहोरिन थाले । भर्खरको १६/१७ वर्षको एउटा केटो ध्यानमग्न भएको देखेर त्यसताका साक्षात् भगवान्ले नेपालमा मै अवतार लिए भन्ने धेरै थिए । संसारभर प्रकाशित पत्रपत्रिकाहरूमा समाचारको ब्यानर बनेका तपी जसरी विश्वजगतमा उदाएका थिए त्यसरी नै नांगिदै गए । त्यसपछिका दिनमा उनको चार्म, अस्तित्व, इमेज, औकात, हैसियत र इमानदारीमाथि नै थुप्रै प्रश्नको वर्षा हुन थाल्यो । साक्षात् भगवान नै प्रकट भएझैँ भान हुने बमजनको भित्री र बाहिरी रूप फरक देखिन थाले । यसले के स्पष्ट गर्‍यो भने आवरण मात्र भएका जीवन पनि मजाले बाँचेका हँुदा रहेछन् । अप्राकृतिक आत्माको अस्मिताले मात्र पनि महत्त्व झल्काउँदो रहेछ ।
तपस्यारत मानिएका बमजन सधैँ विवादको घेराभित्र तानिइ नै रहे । तपी बमजनका लागि रातो राहदानीको आवश्यकता किन र केका लागि ? जंगल फडानी गरेर नगद जम्मा गरेको केका लागि ? तस्करीमा दत्तचित्त किन र केका लागि ? तपीका लागि यातायात बन्द, बजार बन्द कति सान्दर्भिक ? यी आदि उनको तपस्याका दिनहरूमा उठेका प्रश्न हुन् । यी प्रश्नको जवाफ नदिएसम्म तपी बमजन विवादबाट मुक्त हुनसक्ने छैनन् । ठाउँसारी गर्दै तपस्या गर्न पल्केका बमजनको जति बाहिर आएका विषयवस्तु छन् त्यो भन्दा गहिराइमा उनका तपभित्रका धेरै यथार्थ कुनै दिन बाहिर आउला वा नआउला त्यो पछिका दिनमा नै थाहा हुनेछ । बमजनको तपस्याभित्र लुकेका धेरै विषय अहिले पनि बाहिर आउनसकेका छैनन् । रहस्यको गर्भमा हुर्किएर रहेका ती रहश्य अवश्य एक दिन उजागर हुनेछन् । जसले आफ्नै गुणको अवसान गराउँछ, अबोध बालकलाई जन्म दिएर नृशंस तवरले हत्या गरिएको हुन्छ त्यसलाई सबैले घृणाको दृष्टिले अपहेलत्व गरेकै हुन्छन् । स्वार्थका लागि सिद्धान्तलाई वली चढाइयो त्यो पनि व्यक्तिगत इच्छा र चाहनामा । यसलाई विचारकहरूले सधैँ राजनीतिक हत्या भन्ने गर्दछन् । हत्याराहरूले जुन बाटोमा आफूलाई हिँडाउने कार्य गर्दछन् पछि सोही बाटोबाट नै उसको आफ्नै अवसान हुने गर्छ । यसको पुष्टि पनि भएको छ ।
एकताका माक्र्सवादलाई देवदूत मान्नेहरूले सोही माक्र्सवादलाई अहिले युगको विज्ञानमा घोटेर खानुपर्दछ भन्दै हिँड्न थालेका छन् । युगको विज्ञानमा वादलाई घोटेर लगाउने र खानेभन्दा पनि विश्वमा जे जति दार्शनिकहरूको विचार, सिद्धान्त छन् त्यसले वर्तमान युगलाई परिवर्तन गर्दै नयाँ युगमा प्रवेश गराएकै हुन्छ । यथास्थिति र युगलाई बदल्नसक्ने, समाजलाई बदल्नसक्ने र बदल्नहरूले नै विश्वमानचित्रमा शिखरको चुली सधैँ चुमिरहेको पाइएको छ । वर्तमान राजनीतिक विचारका हिमायतीहरूले पूजा गरेको वहानामा माक्र्सवादमाथि अपहेलत्व गरेका छन् । त्यसको उदाहरण नेपाल बनेको छ । त्यसले क्षणिक स्वार्थ प्राप्त गर्छ होला । तर अन्ततोगत्वा त्यस्ता व्यक्ति विशाक्त फोहोरी आहालभित्र डुबुल्की मार्न बाध्य हुनेछन् । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका असल नाइके हौं भन्नेहरू, बफादार पुजारी हौं भन्नेहरूको खुनी चेहरा अहिले च्यातिन थालेकोमा श्रमजीवी वर्ग खुसी हुनु स्वाभाविकै हुनजान्छ ।
नेपालका श्रमजीवी वर्ग उत्थानको रजनीतिक मुद्दा उठाएर तिनै श्रमजीवी वर्गलाई दमन गर्न जसरी थालियो त्यसले उसको वास्तविक अनुहार देखाइदियो । सुरुका दिनमा विश्वमा आफ्ना विचार स्थापित गर्न पुगेकाहरूलाई विश्वका राजनीतिज्ञले प्रश्नै प्रश्नको कुटुरो देखाउँदा पनि नेपालका मुक्तिकामी जनताको वास्तविक पङ्तिचाहिँ दृढ विश्वासमा उभिएकै थियो । सर्वहारा वर्गको मुक्तिको बाटोको ढोका नेपालबाट खुलेको हो भन्नेमा धेरै आशातित थिए । बाह्य जगतले जसरी ब्याख्या र विश्लेषण गरिरहेको थियो वास्तविकता भने फरक थियो । श्रमजीवी हुनका लागि, श्रमजीवी पार्टी हुनका लागि उसका तमाम कार्यकर्ताले आफूलाई श्रमसँग साइनो भने गाँसेका थिएनन् । उसको नेतृत्वले सबै कार्यकर्तालाई श्रमसँग साइनो गाँस्न लगाउनुभन्दा श्रम गरेर खाने प्रवृत्तिको पाठ सिकाउँदै जानुबाट के प्रमाणित भइरहेको थियो भने यो संघर्षले एउटा छुट्टै वर्गको जन्म गराउँछ । त्यो नयाँ वर्गको जन्मले यहाँका तमाम समस्या समाधान हुनुका अलावा झन्–झन् जटिल बन्नेछ ।
अन्य समस्याको जन्म गराउने र नेपालको राजनीतिक धरातलीय अवस्था नैतिक रूपमा नै बद्नाम बन्नेमा युद्धकालमा नै विद्वत् वर्गले आँकलन भने नगरेका होइनन् । तर १० वर्षे जनयुद्धका नायक, महान व्यक्तित्व, मुक्तिकामी जनताका आफन्त ठानिएका व्यक्तिले वास्तविक चरित्र बमजनले भन्दा पनि ज्यादै हल्का तवरले बाहिर प्रकट गरिदिए । त्यसले उनलाई आमजनता माझ वितृष्णाको पात्रमा परिणत गरायो । यस्तो अवस्थामा स्वयम् जनता र देशलाई थुप्रै हानी हुन पुग्यो । राजनीतिक दरिद्रताको सीमा पार गर्दै अगाडि बढेका ती व्यक्तिले नयाँघरका पुराना पर्दाझैँ हुन पुगेको यो राजनीतिक जगतमा वैचारिक रूपमा दरिद्र भएको आफूले आफैँलाई प्रमाणित गर्न पुगेका छन् ।
महान दार्शनिक माक्र्स, एङ्गेल्स, लेनिन र माओको फोटो जनतालाई देखाउँदै एसडी मुनिको प्रणयसूत्रमा बाँधिएकाहरूले अब राष्ट्रियतालाई कौडीको मूल्यमा बन्धक राख्ने कोशिस गर्नु नौलो कुरा रहेन । भ्रमको प्रचुर मात्रामा गरिएको खेतीको लागि धरातल भने आवश्यकता पर्दो रहेनछ । सबै खेतीबाट थोरबहुत उत्पादन हुन्छ । प्राणी जगतलाई वास्तविकताको बोध पनि गराएको हुन्छ । किटनाशक औषधि, मल, बीउ, औजार आवश्यकता पर्छ तर यो भ्रमको खेतीका लागि सफेद झुटको फाँटबाहेक अरू केही आवश्यकता पर्दैन भन्ने सोचको विकास गरेका छन् । यी नेतालाई अहिले भ्रम फुलाउने कोशिस गर्दा गर्दै आफैँले शिक्षा दीक्षा दिएका चेलाहरूबाट बच्न ज्यादै गाह्रो परेको छ । भ्रम खेती मात्र नभई सफेद बदमासी हो भन्ने प्रमाण उनीहरूकै कार्यकर्ताले दिएका छन् । केही दिनअघि भृकुटी महामेलामा जुन दृष्य देखियो त्यसले धेरै विषयको उजागर गरिदिएको छ । जनता र आफ्नै कार्यकर्तालाई भ्रम दिएर नभई बास्तविकतामा मात्र राजनीतिक कार्यदिशा अँगालेमा समाधानका बाटा खोलिनेछन् । यदि वास्तविकताभन्दा पर गएर राजनीति गरिन्छ भने त्यो केवल बकवास मात्र हुनेछ । यसरी हेर्दा अहिलेलाई बमजनको धार्मिक आवरण र प्रचण्डको राजनीतिक आवरण छुट्याउन जनतालाई कठिन भएको छ ।

प्रतिक्रिया