मदनको एकल अग्रता

काठमाडौं, १० श्रावण  । शीर्ष बरियताका गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थले क्याथफोर्ड प्रथम राष्ट्रिय विश्वविद्यालय बुद्धिचाल प्रतियोगिताको साताँै चरणको समाप्तिमा एकल अग्रता कायम गरेका छन् । मंगलबारको खेल सकिंदा कायस्थले ६ दशमलव ५ अंकका साथ एकल अग्रता कायम गरेका छन् । उनले छैटौँ खेलमा महेन्द्ररत्न क्याम्पसका श्यामबाबु शाह र सातौँ चरणमा शंकरदेव क्याम्पसका पुरुषोत्तम चौलागाईलाई प्रतिस्पर्धात्मक खेलमा माथ गरेका थिए ।
‘पोजिसन बराबरी थियो, तर उपाधि होडमा जित्नै पर्ने दबाबले गर्दा अन्तिम समयसम्म जितकै लागि प्रयास गरेँ,’ पुरुषोत्तमसँगको जितपछि खुसी हुँदै मदनले बताए । पुरुषोत्तमले छैटौँ चरणमा गोल्डेनगेट कलेजका रोशनकुमार जैसवाललाई हराएका थिए ।
विश्वविद्यालय खेलकुद संघ नेपाल (युसान) को आयोजना, क्याथफोर्ड कलेज ललितपुरको मुख्य प्रायोजन र कुमारी जापानिज ल्यांग्वेज काठमाडौं सहप्रायोजन रहेको यस प्रतियोगितामा पुरुषोत्तमसँगै दमक बहुमुखी क्याम्पसका प्रकाश नेपाल, रोशन, सिभिएमका सुशील चौधरी, एड्भान्स इन्जिनियरिंगका निकेश दुवाल र पाटन संयुक्त क्याम्पसका सौरभ प्रधान ६ अंकका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । प्रकाशले छैटाँै खेलमा पिरामिडका सुरज पण्डितसँग बराबरी गरे भने सातौँमा पशुपति क्याम्पसका सुमन राइलाई पराजित गरे । सुशीलले छैटौँमा बाराका सन्दीप चौधरी तथा सातौँमा गोल्डनेगेटका प्रशान भासिमालाई पराजित गरे ।
निकेशले छैटौँमा डम्बर चौहान तथा सातौँमा ग्रृष्मा प्रधानलाई पराजित गरे । सौरभले छैटौँ र सातौँ खेलमा क्रमश: राजन दाहाल र विक्रम ध्वज श्रेष्ठलाई माथ गरेका थिए । प्रतियोगितामा पुल्चोक इन्जिनियरिंग कलेजका आशिष आचार्य, पाटन क्याम्पसका सजिन महर्जन र सेन्टजेभियर्सका प्रसुन जजोडियाको ५ दशमलव ५ अंक छ ।

प्रतिक्रिया