मुस्लिम खेलाडीलाई रमजानले मर्का

लन्डन : मुस्लिम धर्मावलम्बीको ठूलो चाड रमजान चलिरहँदा ओलम्पिक खेलकुद सञ्चालन हुने भएपछि मुस्लिम खेलाडीहरू समस्यामा परेका छन् । तर, उनीहरू यस प्रतियोगितापछि मात्र उक्त चाड मनाउने तयारी गरिरहेका छन् । एक महिनासम्म व्रत बस्ने यो चाड ओलम्पिक खेलकुदका बेला परेको सन १९८० को मस्को संस्करणपछि पहिलो्पटक हो ।
रमजानका बेला सूर्योदयदेखि सूर्यास्त नहुँदासम्म खाना खान र पानी पिउन पाइँदैन । त्यसैगरी यौन सम्पर्क पनि गर्नु हँुदैन यसबीचमा । ‘इफ्तार’ खाएर उनीहरू दैनिक व्रत तोड्ने गर्छन् । यसपटक गत सातादेखि नै रमजान सुरु भइसकेको छ ।
लन्डन ओलम्पिक खेलकुदमा सहभागी हुने मलेसियाका खेलाडीलाई रमजान स्थगित गर्नसक्ने अधिकार दिइएको छ । मलेसियाको राष्ट्रिय फत्वा परिषद्का एक उच्च अधिकारीले राष्ट्रको सम्मानका लागि खेल्ने भएकाले ओलम्पिक खेलकुदमा आफ्ना खेलाडीले प्रतियोगिता स्थगित नहुँदासम्म रमजान स्थगित गर्नसक्ने बताए ।‘उनीहरू देशको ज्योति फैलाउन जाँदैछन्, त्यसैले पछि स्वदेश फर्किएपछि व्रत बस्न सक्छन् ।’ मलेसियाको पेराक राज्यका एक उच्च मुस्लिम धार्मिक नेता मुफ्ती हरुसानी जाकारीयाले भने । लन्डन ओलम्पिकमा मलेसियाबाट सहभागी हुने कुल ३० खेलाडीमध्ये ११ मुस्लिम धर्म मान्ने छन् । यस प्रतियोगितामा सहभागी हुने विश्वभरका करिब ३५ सय मुस्लिम खेलाडी व्रत नबसी प्रतिस्पर्धा गर्ने
तयारीमा छन् ।
‘म ब्रत बस्न सक्दिनँ । किनभने मलाई प्रोटिन, कार्बोहाइडेट्स र खनिज चाहिन्छ,’ इजिप्टियन खेलाडी मुस्ताफा सैदले भने, ‘मलाई लाग्छ, यसलाई भगवान्ले पनि स्वीकार गर्नेछन् ।’ खेलाडीहरू अनुदान गरेर वा गरिबलाई दिएर आफ्नो असक्षमताको क्षतिपूर्ति तिर्ने मनस्थितिमा पनि छन् । ‘रमजान मनाउने हामीसँग विभिन्न पाँच उपाय हुन्छन्, तीमध्ये एक व्रत हो ।’ इजिप्टकै अर्का खेलाडी यासर हेफ्नीले भने । इजिप्टकै ‘हाई इजिप्टियन इस्लामिक काउन्सिल’ले फत्वा जारी गर्दै ओलम्पिक खेलकुदमा आफ्ना प्रशिक्षक तथा खेलाडीलाई व्रतबस्नु आवश्यक नभएको बताइ सकेको छ ।
‘यदि हाम्रा खेलाडी व्रत बसेर खेलेभने उनीहरूले केही उपलब्धी हासिल गर्न सक्दैनन् ।’ लन्डन ओलम्पिकमा आएका इजिप्टका पेन्थालन प्रशिक्षक सेरिफ अल आर्यनले भने, ‘त्यसैले उनीहरूलाई व्रत नबस्न धार्मिक अनुमति प्राप्त छ ।’ फ्रान्सका बक्सर रचिद अज्जेदिन र बेलायतका मोहमद स्बिहिले पनि प्रतियोगिता नसकिँदासम्म रमजान व्रत स्थगित गर्ने बताए । धार्मिक नेतासँग कुरा गरेर स्बिही व्रतको साटो गरिब परिवारलाई खानाका परिकार खुवाउने मनस्थितिमा छन् ।
व्रत बसेर पनि तान्जानियाका सुलेमान न्याम्बुइले सन १९८० को मस्को ओलम्पिक खेलकुदमा रजत पदक जितेका थिए । उनी पाँच हजार मिटरमा दौडिएका थिए । ‘यदि कुनै कुरा तिमीले गर्ने निर्णय गर्‍यौ भने तिमीलाई साथ दिने अल्लाह छ ।’ न्याम्बुईले सफलताको राज खोले । रमजानको बेला गरिने प्रशिक्षण, प्रतिस्पर्धाभन्दा पनि कडा र कठिन हुने उनको अनुभव छ । उनले व्रत बसेर खेल्ने खेलाडीलाई सुरुमा गाह्रो भए पनि पछि सहज हुने बताए । ‘बानीपरेपछि सजिलो हुन्छ ।’ हाल तान्जानिया एथ्लेटिक्स एसोसिएसनको महासचिव रहेका न्याम्बुईले भने । ओलम्पिक खेलकुदबाहेकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भने मुस्लिम खेलाडीहरू व्रत बसेर धेरैपटक खेलिसकेका छन् । (एएफपी)

प्रतिक्रिया