अमेरिका र आतंकवाद : चर्चा र यथार्थ

भारतीय बाह्य गुप्तचर संस्था ‘रअ’का पूर्वअधिकारी बी रमनले आफ्नो आत्मकथामा लेखेका छन्– ‘सन् १९८० मा अफगानिस्तानबाट सोभियत फौजविरुद्ध आतंकवादी उत्पादन गर्ने पाकिस्तान क्याम्पको गोप्य भ्रमण गर्दा अमेरिकी गुप्तचर संस्था (सिआइए) का प्रमुख विलियम जे केसीले त्यहाँ प्रशिक्षण लिइरहेका मुजाहिद्दिनलाई मेरा छोराहरू भनेर सम्बोधन गर्ने गर्थे । पछि, उनका छोराहरू र सहयोगीले जनताका हजारौँ छोरा मरेको उनले हेर्न पाएनन् । सेप्टेम्बर ११ मा उनको आफ्नै देशका करिब तीन हजार जनताको मृत्यु भयो ।’ त्यस्तै आतंकवाद उत्पादनबारे तत्कालीन पाकिस्तानी राष्ट्रपति परवेज मुसर्रफको आत्मकथा ‘इन द लाइन अफ फायर’मा पनि धेरै अनुत्तरित रहस्यलाई तथ्यगत रूपमै व्याख्या गरिएको छ । पुस्तकमा सोभियतविरुद्ध अमेरिकी अभियानमा पाकिस्तानी तथा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरूले पाकिस्तानमा लडाकुलाई कसरी तालिम, हतियार, आर्थिक सहायता, परिचालन र प्रेरणा दिन्थे भन्ने पक्षको खुलासा गरिएको छ ।
वास्तवमा सन् १९८१ जनवरी २८ मा रोनाल्ड रेगनको नयाँ प्रशासनमा विलियमलाई सिआइए प्रमुख बनाइएसँगै अमेरिकाले आतंकवादको बिउ रोप्ने तथा हुर्काउने घातक कार्यको सुरुआत गरेको थियो । यसको सुरुको योजनाकार फ्रेन्च अन्तर्राष्ट्रिय गुप्तचर नियोग प्रमुख ली कोस्टे अलेक्जेन्डर डी मरान्चेस पनि थिए । उनी सन् १९८१ को सुरुआतमै वासिंगटन डिसी नै पुगेर सोभियत सेनालाई अफगानीस्तानबाट लखेट्न आफ्नो खतरनाक गुप्तचरी योजनाका विषयमा विलियमलाई विश्वस्त पारेका थिए । ली कोस्टेले सोभियत सेनालाई लागु औषधमा लठ्याउनेदेखि, लडाकु जन्माउने उपाए, सोभियत फौजलाई अनुसन्धान विकेन्द्रित गर्न भियतनामबाट बरामद गरिएका हतियारको प्रयोग गर्ने, चिनियाँ हतियार तथा तस्करबाट सोभियतसंघबाटै किनिएका अत्याधुनिक हतियारबाट तालिम गराउनेलगायत दर्जनौँ योजनाको फेहरिस्ता विलियमलाई सुनाएका थिए । उनको योजनाबाट प्रभावित सिआइए प्रमुखले तत्कालै अमेरिकी राष्ट्रपति रेगनसँग भेटाइदिएर संयुक्त योजना अगाडि बढाउन भूमिका निर्वाह गरेका थिए । अमेरिकी राष्ट्रपति रेगनलाई भेटेपछि हौसिएका ली कोस्टेले सोभियतविरुद्ध मुजाहिद्दिन जन्माउने अप्रेसनको नामसमेत जुराएका थिए– ‘अप्रेसन मस्क्युटो’।
सन् १९८१ मेमा समाजवादी पार्टीका नेता फ्रास्वाँ मितेराँले राष्ट्रपतिको चुनाव जितेपछि फ्रेन्च गुप्तचर प्रमुखमा पिरर म्यारिअन नियुक्त गरे । समाजवादी राष्ट्रपति र पिररले त्यस्तो कदमबाट लाभ नहुने बरु प्रयुत्पादक हुने ठानेपछि पूर्वप्रमुखको योजनाबाट हात झिकियो र आतंकवाद जन्माउने फोहरी योजनाबाट फ्रान्सले मुक्ति पायो । फ्रान्सको असंलग्नतापछि पनि अमेरिकाले पाकिस्तान, साउदी अरेबियालगायत अन्य पश्चिमा गठबन्धन देशका गुप्तचर संस्थाको सहयोगमा आतंकवाद उत्पादन गर्ने अभियानलाई तीव्रताका साथ अघि बढाएको थियो । संयोग नै मान्नुपर्छ समाजवादी राष्ट्रपति मितेराँ हुँदा फ्रान्सले घातक संलग्नताको खाडलबाट मुक्ति पाएको थियो भने १७ वर्षपछि सत्तामा आएका समाजवादी राष्ट्रपति फ्रास्वाँ होलन्डले नै अमेरिका, नेटोलगायत अन्य देशको प्रवाह नगरी सन् २०१२ को अन्त्यसम्म आफ्ना लडाकु सैन्य फिर्ता गर्ने विवेकी निर्णय लिएका छन् । फ्रान्समा दुई समाजवादी राष्ट्रपतिले अफगानीस्तानको मामिलामा फ्रान्सलाई गहिरो दुस्प्रभावबाट जोगाए छन् । होलन्डको घोषणापछि अफगानिस्तानमा पाँचौँ ठूलो सैन्य उपस्थिति (३३,००) रहेको फ्रेन्च सैनिकहरू अगामी महिनाबाट फिर्ती हुँदैछन् । यो कदमले निश्चय नै नेटोमा एउटा तनाबको वातावरण पैदा गराइदिएको छ । हाल अफगानमा एक लाख ३० हजार सैन्य तैनाथी गर्ने ५० वटै देशमा ठूलो आन्तरिक हलचल आएसँगै सैन्य फिर्तीबारे नयाँ रणनीतिहरू तयार हुँदै छन् ।
शीतयुद्वका प्रमुख हिमायती अमेरिका र तत्कालीन सोभियत संघले आफू अनुकूलको विश्वव्यापी गुट/उपगुट तथा घात/प्रतिघातको शृंखला नै आजको जटिल, कठिन एवं चुनौतीपूर्ण अफगान युद्ध हो । लगत्तै अमेरिकालगायत पश्चिमा देशले सोभियत फौजलाई हराउन हरतबरबाट प्रयास गर्दै जाँदा राजनीतिक संघर्षले हिंसात्मक मोड लिन पुग्यो । सोभियत संघले सन् ८० को दशकको मध्यतिर अफगानिस्तानमा सेनाको संख्या एक लाख पुर्‍यायो । तर, अफगानिस्तानमा वाञ्छित उपलब्धि हासिल गर्न सकेन । त्यस्तै, सन् २०१० मा अमेरिकी नेतृत्वको गठबन्धन सैन्य एक लाख ४० हजार पुर्‍याउनुपर्‍यो । तर, उपलब्धि भने हुन सकेन । १५ हजार सैनिक गुमाएपछि सोभियत सैनिकमा ठूलो भावनात्मक हलचल पैदा हुँदै अन्तत: सन् १९८८ अप्रिल १४ मा सन् १९८९ फ्रेबुअरी १५ सम्म अफगानिस्तानबाट रुसी सेना फिर्ता हुने र संयुक्त राष्ट्रसंघको पर्यवेक्षणमा चुनाव गर्ने सहमति समेटिएको जेनेभा सम्झौता भयो । सोभियत सैनिक त फर्कियो तर राष्ट्रपतिविरोधी आन्दोलन चर्कंदै जाँदा चार वर्षसम्म रक्तपातपूर्ण भिडन्त रोकिएन । पदलोलुपता तथा आपसी राजनीतिक संघर्षका कारण देशमा अस्थिरता, अन्योलता, नैराश्य, दण्डहीनता तथा लडाकुहरूबीच सहर कब्जा गरी शासन गर्ने होडबाजी नै चल्यो । बढ्दो राज्यविहीनताकै बीच अमेरिकाले तालिम दिएर छाडेका छिन्नभिन्न लडाकुहरूलाई सामन्य मुजाहिद्दिनका लडाकु मुल्लाह ओमारले तालिबानमा आबद्ध गराउँदै दुई वर्षमै अफगानिस्तानभरि प्रभाव जमाए । अस्थिरताको धारमा एउटा मस्जिदका सामन्य इमाम ओमारले लडाकु र हतियारको बलमा सत्ता कब्जा गरी सरिया कानुनको नाममा आतातायी शासनको स्थापना गरेपछि विश्वभरका जिहादी लडाकुका लागि अफगानिस्तान स्वर्गजस्तो बन्न पुग्यो ।
जब सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकी योजनामा जन्मिएका आतंकवादीले नागरिक उड्डयन क्षेत्रका चारवटा विमान एका बिहानै एकैपटक अपहरण गरी तीमध्ये दुइटालाई न्युयोर्कको एक सय १० तले विश्वव्यापार केन्द्रमा ठोक्काएपछि तीन हजारजनाको मृत्यु हुनुका साथै दस अर्ब डलरभन्दा बढीको क्षति भयो । अमेरिकाले हमलाको आरोप अफगानिस्तानमा रहेका अलकायदाका प्रमुख ओसामा बिन लादेनमाथि लगाउँदै बुझाउन आग्रह गरे पनि तालिबान नेतृत्वले लादेन आफ्ना लागि हिरो भएको भन्दै अल्लाहले आक्रमण गरेको जवाफ फर्कायो । त्यसपछि आपैँmले जन्माएका लडाकुविरुद्व अमेरिकाले आफ्नै नेतृत्वमा सैन्य हमला गर्‍यो । सन् २००१ अक्टोबर ७ देखि हवाई हमला सुरु गरी डिसेम्बर ७ मा अफगान सत्ताको बागडोर समालिरहेको तालिबानलाई पूर्णरूपमा सत्ताच्युत गराएर अमेरिकी नेतृत्वको गठबन्धन सेनाले अफगानिस्तानमा नियन्त्रण जमायो । सुरुमा तितरबितर भएका तालिबान लडाकु सन् २००६ देखि एकीकृत भई पछिल्ला वर्षहरूमा हिंसा र संघर्ष चर्काउँदै आएका छन् । यस्तै, परिदृश्यले होला गत वर्ष इरानी राष्ट्रपति महमुद अहमदिनेजादले त राष्ट्रसंघीय साधारणसभालाई सम्बोधन गर्दै सेप्टेम्बर ११ को हमला अमेरिका आपैँmले गराएको आरोप लगाउँदै ताजा न्यायिक छानबिनको माग गरे । सन् २०१४ सम्म नेटो आबद्ध सेना फर्कने चर्चा सुरु नहुँदै हमलाहरू बढ्दै जान थालेका छन् । तालिबानलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन थालिएका प्रयासले सार्थकता पाउन सकेका छैनन् । राजनीतिक परिवर्तन भएर पनि उचित ढंगले व्यवस्थापन नहुँदा देश र जनताले भोग्नुपर्ने दुर्गतिको साक्षी बनेको अफगानिस्तानमा हिंसात्मक अतिवादीको जन्म गराइएका धेरै तथ्यहरू रहस्यकै गर्भमा रहे पनि प्रमाणसहितका केही उद्घाटित पाटोले अफगान हिंसाको मुख्य जिम्मेबार अमेरिका स्वयं देखिन्छ ।

प्रतिक्रिया