चेस ओलम्पियाडका लागि परिषद्को बेवास्ता

काठमाडौ, ८ साउन । नेपाली बुद्धिचाल खेलाडीहरू यसपटक पनि चेस ओलम्पियाडमा आफ्नै खर्चमा ओलम्पियाडमा सहभागी हुने भएका छन् । ४०औँ चेस ओलम्पियाड २७ अगस्टदेखि टर्कीको इस्तानबुलमा हुँदै छ । प्रतियोगितामा छैटौँ राष्ट्रिय खेलकुदमा शीर्ष पाँच स्थान प्राप्त गर्न एफएम मनीष हमाल, केशव श्रेष्ठ, प्रचण्ड मालाकार, दीर्घराज जोशी र रूपेश जयसवालको सहभागिता रहेनेछ ।
नेपालले चेस ओलम्पियाडमा सहभागी हुनथालेयता कुनै पनि समय राज्यको निकायले राम्रो सहयोग गरेको छैन । स्रोतका अनुसार यसपटक बुद्धिचाल अधिकारी राष्ट्रिय खेलकुद परिषद्सँग सम्पर्क गर्दा ‘पदक नजित्ने खेललाई हामी केही गर्दैनौँ’ भन्ने गैरजिम्मेवार जवाफ सदस्य–सचिव युवराज लामाले दिएका थिए ।
लगातार तेस्रोपटक ओलम्पियाडमा सहभागी हुने प्रचण्ड मालाकार आफ्नो खेलमाथि राज्यले हदैसम्म बेवास्ता गरेकामा दु:ख व्यक्त गर्छन् । पहिलोपटक नेपाल २००२ मा स्पेन ओलम्पियाडमा सहभागी भएको थियो । नेपाली बुद्धिचाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गराउने क्रममा राज्यका तर्फबाट खेलकुदमा प्रतिनिधित्व गर्ने कुनै पनि व्यक्तिले भन्दा भारतीय बुद्धिचालका परिचित व्यक्तित्व धर्मेन्द्रकुमार र अतानु लहरीको सहयोग र सल्लाह रहेको थियो ।
यसबीचमा ओलम्पियाडमा गरेको प्रदर्शनकै आधारमा वर्तमान राष्ट्रिय च्याम्पियन मनीष हमाल र विलमलाल श्रेष्ठ फिडेमास्टर बनेका छन् । परिषद्ले कुनै पनि प्रशिक्षक नराखेको खेल बुद्धिचाल नै नेपालमा सक्रिय रहेको खेलमध्ये रहेको छ । यसैगरी, यस खेलको महासंघ फिडे फुटबलको सर्वोच्च निकाय फिफापछिको ठूला खेल महासंघ पनि हो ।
यसबीचमा महासंघले पूरा गरेको मापदण्ड पूरा गर्दै चेसमा नौजना प्राविधिक तयार भइसकेका छन् । यी कसैको पनि सिपविकासमा राज्यको कुनै पनि निकायको सहयोग रहेको छैन । चेसका आधिकारिक क्षेत्रीय र महादेशीय प्रतियोगितामा पनि नेपाली खेलाडी व्यक्तिगत खर्चमा सहभागी हुँदै आएका छन् । विगतको यो परम्पराले बेवास्तामा परेको यो खेलप्रति वर्तमान परिषद् झनै पूर्वाग्रही रहेको छ ।
स्मरणीय छ, परिषद्ले दिने अनुदान र अन्य सुविधामा वर्तमान नेतृत्व झनै पूर्वाग्रही रहेको आरोप लाग्दै आएको छ । युवराज लामा नेतृत्वको परिषद् आफूले राजिनीतिक हस्तक्षेप गरेको र पावर गेमभन्दा बाहेक अन्य खेलप्रति पूर्वाग्रही भएको आरोप यसअघि पनि नलागेको होइन ।

प्रतिक्रिया