कम्युनिस्ट सत्ताको विकृत रूप

विकृतिको कालो धब्बाले पोतिएको चेहराबाट लाल लालसाको उदय हुन्छ । सायद यो विकृतिवादको चरम अवस्थामा पुगेको स्थिति हो । फासीवादका राजकुमार बेनिटो मुसोलिनी र फासीवादका नायक एडोल्फ हिटलरको दर्शनमा कतै जनता र देशका लागि थुप्रै दार्शनिक अभिलेख राखिएको होला । तिनै मीठा वाक्यको भरमा राजनीतिक विचार, सिद्धान्तलाई व्याख्या र विश्लेषण गर्दा समाज परिवर्तन र राजनीतिक परिवर्तनका लागि स्थापित गरिएको विश्व बदल्न सफल महानतम दर्शनलाई अपहेलना गरेको ठानिन पुग्छ । महानतम राजनेताहरूको अनुपम त्याग, तपस्या, बलिदान र सौर्यले शक्तिशाली तानाशाहाको पतन भएको इतिहास धेरैले पढेका छन् । मानवीय अभिलेखमा यस्ता थुप्रै घटना परिघटनाका फेहरिस्त पनि प्रशस्त मात्रामा पाइने गरेको छ ।
वर्तमानमा सत्ताका लागि मात्र क्रान्ति हो भन्ने सिद्धान्त केही सीमित देशलगायत नेपालमा पनि प्रमाणित गर्ने कोसिस गरिरहेका छन् । यो प्रयास इतिहासले निरर्थक सावित गरिदिइसकेको प्रयास हो । नेपालमा पनि एकदिन जनताले यस्तो प्रवृत्ति र प्रयासलाई पराजित गरिदिनेछन् । बकवासपूर्ण कुतर्क राजनीतिक सिद्धान्त, विचार र दर्शन कदापि हुन सक्दैन । जनताका लागि प्रयोगमा आउने विचार, जुन विचारलाई आफू र आफ्नो विचारसँग सम्बद्ध तमाम नेतृत्वले आफूमाथि नै प्रयोग गर्दैन त्यसलाई जनताले कहिल्लै स्वीकार गर्दैनन् । तर, नेपालको राजनीतिक वृत्तमा उल्लिेखत कुतर्कलाई जबर्जस्ती स्थापित गर्न खोजिएको छ । यो दुष्प्रयासले समाजमा थुप्रै खाले विकृति पैदा गरिदिएको छ । अहिले जीवित रहेका विकृतिलाई हटाउन सानो प्रयास र संघर्षले सक्ने देखिँदैन । यो अवस्थालाई चिरेर जान आदर्शयुक्त अथक प्रयासको खाँचो परेको छ । इटालीको फासिस्ट नेता मुसोलिनीले २० वर्षसम्म इटालीमा शासन चलाएका थिए । राजनीतिका विद्यार्थीले यसलाई फासिइज्मका राजकुमार मुसोलिनीले कसरी शासन चलाए भनेर सोच्न सक्छन् । तर, त्यसो नभई मुसोलिनीले पनि राजनीतिक सिद्धान्त अघि सारेका थिए र उनको ग्राउन्ड काउन्सिल पार्टी थियो । अब प्रश्न उठ्छ यदि पार्टी थियो भने त्यो पार्टीका अरू नेताले उसका क्रियाकलापको किन भन्डाफोर गर्न सकेनन् र उसलाई पार्टी कमिटीबाट गलहत्याउन किन सकेनन् ?
विचार, सिद्धान्त, आदर्शको कुनै मूल्य मान्यताले ठाउँ नपाई एकलौटी रूपमा सनक र लहडमा पार्टीलाई लैजान खोजेपछि सबै पार्टीमा मुसोलिनीजस्तै जन्म हुनु स्वाभाविकै हुँदोरहेछ । एकदलीय तानाशाही विचारको ह्याङओभर बोकेर हिँडेका व्यक्ति वा समूहले मल्टीपार्टी सिद्धान्तको आदर्शलाई स्विकार्न कठिन हुन्छ भन्ने विषय नेपालका वर्तमान प्रधानमन्त्रीले पुष्टि गरिदिएका छन् । म्याउ म्याउ नगरी मुसा मारी हिँड्ने चरित्र उतारेका तिनले दलाल, दरिद्र, साम्राज्यवादी र नवउपनिवेशिकतालाई प्रश्रय दिने पार्टीहरूबाहेक अरूलाई झस्काइदिएका छन् । कतै लोकतान्त्रिक व्यवस्थालाई खतरा पुर्‍याउने यो योजना सुनियोजित त छैन भन्ने प्रश्न उठ्न थालेको छ । स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न नेपालमाथि यही सरकारले नंग्रा गाढ्न दिएको छ । नेपालको अस्मितामाथि खेलबाड गर्न ढोका खोलिदिएको छ । बिप्पा, सुपुर्दगी, सम्पत्ति शुद्धीकरण, बृहत् नदी जडान योजना, कोसी उच्च बाँध जुन जुन नाममा सम्झौता गरिए पनि त्यो सम्झौताको लक्ष्य केवल नेपालको अस्तित्व मेटाउने योजना नै हो । यसको पुष्टि हालसालै एयरपोर्टको सुरक्षा भारतलाई दिने जुन हर्कत लाल ध्वजा बोकेका क्रान्तिकारी हँसिया हथौडाधारी प्रधानमन्त्रीले गरे त्यसबाट पुष्टि हुन्छ ।
हाम्रा प्रधानमन्त्रीले जनता केही होइनन्, विचार सिद्धान्त पनि केही होइन, केवल दलाल बन्नुको मज्जा र खेलहरू मात्र थाहा पाउँछन् भन्ने पनि पुष्टि गरिदिएका छन् । फासिज्म र  एकदलीय तानाशाही व्यवस्थाको राजनीतिक चरित्रमा समानता पाइन्छ र पाइँदो रहेछ । फासिज्ममा पनि तानाशाहीले मूल्य मान्यता मिच्दै मौलिक अधिकारलाई हनन् गर्ने र जबरजस्त शासन चलाउँछन् । एकदलीय तानाशाहीले पनि जनताको गाँस–बास–कपासको नारामा मानवीय मूल्य मान्यता, सिद्धान्त, जनताको मौलिक हक, अधिकारमाथि थिचोमिचो गर्दै शासन चलाएका हुन्छन् । यसको पुष्टि वर्तमान राज्य शासकहरूले आफूले देखाएका चेहराबाट प्रमाणित गरिदिएका छन् । रोमन तानाशाह मुसोलिनीलाई ९ बजे राति १८ अप्रिल १९४५ मा कम्युनिस्ट पार्टीका मुक्ति सेनाले अपदस्त गरी कब्जामा लिए । उनी कब्जामा हुँदा सयौँ रखेलमध्ये लारा पेताचीको अँगालोमै बेरिएका भेटिए ।
मुसोलिनीलाई कब्जापछि मात्र होस आयो र आफ्ना इमानदार धर्म पत्नी र छोरा छोरीलाई क्षमायाचनाको पत्र लेख्दै आफूले गरेको अपराध बोध गरे । कथित यस्ता मानवताविरोधी अपराधीले पनि अन्तिम घडीमा सही र गलतलाई महसुस गरेका पाइयो । नेपालको वर्तमान सत्ताधारीले पनि नजानी नजानी संविधानसभालाई विघटन गरेको चाँहि होइन । केवल बकम्फुसे लहर र सनकले मात्र यो काम गरेको पनि होइन होला । कसैको बहकाउमा संविधानसभालाई विघटनचाँहि यिनले गरेका हुन् भन्ने आमजनताले बुझेका छन् । मुसोलिनीले झैँ गल्ती महसुस गर्ने समय पर्खिरहँदासम्म नेपालको भविष्य कतातिर मोडिएको हुनेछ त्यो इतिहासकै जिम्मामा छोडौँ । कुरा के हो भने फाँसीवादको विरुद्धमा कम्युनिस्ट र लाल योद्धाहरूले लाखौँलाख कुर्बानीका साथ धैर्य, सौर्य, आत्मीयता र सिद्धान्तलाई विचलित नहुने गरी आश्चर्यचकित पार्ने विजय हासिल गरेका थिए ।
सायद कम्युनिस्ट पार्टीहरूले फासीवादी हिटलर र मुसोलिनीको तेजोवध नगरिदिएको भए युद्धले अर्कै मोड लिने थियो होला । यसरी सौर्य प्रदर्शन गरेका सर्वाहारा किन कसरी आफ्नो विचारको सत्ता टिकाउन पछि पर्‍यो ? ती प्रश्न सारा राजनीतिक जगतमा उठिरहेका छन् । त्यसको उत्तर नपाइरहेको समयमा नेपालका कम्युनिस्ट शासक एमाओवादीले आफ्नो चरित्रद्वारा संसारका वर्तमान कम्युनिस्ट पार्टी र उसका कार्यकर्तालाई घृणायुक्त उत्तर दिन पुगेको छ । सर्वाहाराको नाममा गरिने सत्ता सञ्चालन यही प्रक्रियाबाट गरिँदो रहेछ भन्ने प्रमाण दिएका छन् । नैतिकताको पाठ जनतालाई सिकाइहिँड्ने एमाओवादीको चरित्रको विश्लेषण गर्दा लाज मान्नुपर्ने अवस्था सिर्जना भएको छ ।
माओवादीले सत्ता सम्हालेपछि नेपाली समाजमा वर्ग वर्गबीचको दूरी झन चुलिँदै जानु, सर्वहाराको नेता बादशाहमा रूपान्तरित हुनु, मानवताको हितमा कुनै पनि कार्य अगाडि नसारी केवल व्यक्ति र पार्टीको हितमा जनताको करबाट उठेको जनताको सम्पत्ति सिध्याउनाले नै विश्वबाट कम्युनिस्ट सत्ताको अवसान भएको त होइन ? यस प्रश्नको उत्तर त्यही हो भनेर वर्तमान शासकले प्रमाणित गरिदिएका छन् । यही परिस्थितिमा विश्वका कम्युनिस्ट बाँचेका र हुर्किरहेका हुन् भने विश्वभरि समाजवादको परिकल्पना दिवास्वप्न हुन जानेछ ।

प्रतिक्रिया