आर्थिक मन्दीको खतरा कायमै

वासिंटन,३ साउन । अन्तर्राष्ट्रिय मुद्राकोष  (आइएमएफ) ले विश्वमा आर्थिकमन्दीको खतरा कायमै रहेको बताएको  छ । युरोजोनको अर्थतन्त्रमा अझै पनि अनिश्चितता रहेकाले मन्दीको खतरा कायमै रहेको उसले बताएको हो ।
आइएमएफले युरोजोनबारे चाँडै सोच्नुपर्ने भन्दै युरोपेली शीर्ष नेताले सही निर्णय लिन ढिलो गरेमा आर्थिक संकट गहिरिनसक्ने बताएको छ । मुद्रा कोषले गत अप्रिलमा सन् ०१३ मा विश्व आर्थिक वृद्धि दर चार दशमलव एक प्रतिशतले हुने अनुमान गरेको थियो तर यसको सम्भावना अब कम हुँदै गएको  छ ।
सो अनुमानलाई कम गरेर उसले तीन दशमलव नौ प्रतिशत मात्र आगामी वर्ष विश्वको आर्थिक वृद्धि हुने अनुमान गरेको तथ्य सार्वजनिक गरेको हो । बेलायतको आर्थिक वृद्धिको अनुमानलाई पनि शून्य दशमलव आठ प्रतिशतबाट घटाएर शून्य दशमलव दुई प्रतिशत बनाइएको छ । विश्व अर्थतन्त्रको आँकलनमा मुद्रा कोषले भनेको छ, ‘गिरावटको खतरा देखिन्छ यसबाट के थाहा हुन्छ भने नीतिगत निर्णय लिन ढिलो भइरहेको छ वा त्यो पर्याप्त छैन ।’
‘अहिलेको सबैभन्दा ठूलो प्राथमिकता युरोजोन संकटको समाधान खोज्नु हो,’ आइएमएफले भनेको छ । १७ सदस्यीय मुलुकको समूह युरोजोनको अर्थतन्त्रमा यो वर्ष शून्य दशमलव तीन प्रतिशतले कमी हुने आशंका गरिएको छ । मुद्रा कोष, युरोपेली युनियन र युरोपेली केन्द्रीय बैंकले ग्रिस, स्पेन र पोर्चुगलजस्ता अर्थतन्त्रलाई सहायता प्याकेजको बदलामा सरकारी खर्चमा कटौती माग गरिरहेका छन् ।
यता युरोजोनमा आएको आर्थिक संकटका  कारण लाखौँ मानिसले रोजगारी गुमाउनुपरेको छ । मुद्रा कोषका अनुसार युरोपले बैंकिङ र राजस्वसम्बन्धी खर्चलाई जोडेर समग्र मौद्रिक नीति बनाउनुपर्छ । हालै युरोजोनका शीर्ष नेताले स्पेनका बैंकलाई सहायता प्याकेज दिने सहमति जनाएका थिए र बैंकिङका साथै राजस्व कोषलाई जोड्ने कोसिस पनि गरेका थिए ।
तर सो प्रस्ताव लागू हुन अझै कति समय लाग्ने हो भन्नेबारे केही भन्न सकिने अवस्था छैन । त्यसैगरी मुद्रा कोषले अमेरिकी सांसद्सँग पनि वर्षको अन्त्यसम्म धनी अमेरिकीलाई करमा छुट दिनुपर्छ वा पर्दैन भन्नेबारे स्पष्ट पार्न आग्रह गरेको छ । अमेरिकी अर्थतन्त्र यो वर्ष दुई प्रतिशतले वृद्धि हुने सम्भावना छ भने सन् ०१३ मा दुई दशमलव तीन प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
त्यसैगरी उदीयमान अर्थतन्त्रको आर्थिक वृद्धिको अनुमानलाई अहिले कम आँकलन गरिएको बताइएको छ । मुद्रा कोषको प्रतिवेदनमा सन् ०१२ मा यी अर्थतन्त्रको वृद्धि दर पाँच दशमलव ६ प्रतिशत हुने जनाइएको छ । वृद्धिको गति विशेषगरी ब्राजिल, चीन र भारतमा सुस्त हुने अनुमान गरिएको छ । तर, ब्राजिल, चीन र भारतजस्ता अर्थतन्त्रलाई अहिलेको समयमा विश्व आर्थिक बहालीको चालक मानिन्छ । यस वर्ष जनबरीदेखि मार्च महिनाको बीचमा भारतीय अर्थतन्त्र पाँच दशमलव तीन प्रतिशतको वार्षिक दरले वृद्धि भयो जुन पछिल्लो नौ वर्षमा सबैभन्दा कमजोर वृद्धि थियो ।
विगत दुई वर्षमा बढ्दो महँगी भारतीय नीति निर्धारकको सबैभन्दा ठूलो चिन्तामध्येको एक रहेको छ । बढ्दो मूल्यसँग जुध्न भारतीय रिजर्ब बैंकले कैयाँै कदम चालेको छ । यसमध्येको एक कदम भनेको सन् ०१० मार्च महिनादेखि १३ पटक ब्याज दर बढाउनु थियो । गत साता जारी भएको आँकडाअनुसार गत वर्ष मे महिनाको तुलनामा यस वर्षको मे महिनामा थोक मूल्य सूचकांक बढेर ७ दशमलव ५५ प्रतिशत भएको भारतीय अर्थशास्त्रीको पछिल्लो आँकडा छ । भारतीय अर्थ विशेषज्ञका अनुसार उच्च महँगी दर र सुस्त हुँदै गएको अर्थतन्त्रका कारण भारतीय रिजर्ब बैंकका लागि नीति निर्माण गर्न कठिन भएको छ ।

प्रतिक्रिया