राँके संक्रान्तिको सम्झना

वर्षका दुईवटा संक्रान्ति दशैँ तिहारभन्दा पनि निकै रमाइलो लाग्थे केटाकेटीमा । साउने संक्रान्तिमा रमाइलोसँग राँके फाल्न पाउँदा र मागे संक्रान्तिको परम्पराअनुसार गाउँभरि मीठो मीठो खान पाइने हुँदा निरन्तर सम्झनामा आउँथे ती दुई दिन । रुकुम, रोल्पालगायतका पहाडी जिल्लामा केटाकेटीमा मनाएको साउने संक्रान्तिको आज सम्झना आएको छ । समयमै पानी परे असारको अन्तिमतिर प्राय: रोपाइँको काम सकिन्छ । रोपाइँ नसकिए पनि संक्रान्तिमा हिलो नदेखाउन हलो, जुवा, जाँते, गोरुलाई पानीले सक्दो सफा गरिन्थ्यो । रोपाइँको बेला काटिएको वा हिलो र मलखादले (युरिया) पाकेका हली र रोपार्नीका खुट्टा चाँडै निको होऊन् र अर्को रोपाइँ नआउन्जेलसम्म खुट्टा हिलोमा टेक्न नपरोस् भनी सम्झने प्रचलन छ । आजकै दिन साँझ आगो समाएर थुप्रै रोगको नाम जपेर कहिल्यै नलागोस् भनी कल्पना गरिन्छ ।
संक्रान्ति आउनुभन्दा एक हप्ताअघि प्रत्येक घरबाट झर्को (दियालो) काट्न लेक जान्छन् । चलनअनुसार आज साँझ झर्को धुवाँ नआईकन दन्दनी बाल्नुपर्छ भन्ने मान्यता छ । त्यसैले सानाभन्दा साना झिर बनाएर सुकाउनुपथ्र्यो घाममा । राति ९ बजेतिर सबैका आँगनमा दियालो थोपरेर आगो बालिन्थ्यो । आगोको राँकोसँगै मनाउने यो पर्वलाई (राँके) संक्रान्ति भन्थे बूढापाकाहरू । केटाकेटीमा आगो ठूलो र लामो समय बाल्नका लागि प्रतिस्पर्धा हुन्थ्यो । ठुलाबाको छोरा हर्केले त अरू दाउरा मिसाएर दियालोको आगो भन्दै ढाँट्थ्यो स्कुलका साथीभाइलाई । राँकेमा निबुवाको बाख्रो काट्ने चलन भएकाले हर्के कान्छो र म बेग्माका निबुवा चोर्न जान्थ्यौँ । टोलभरि उसका बाहेक कसैका पनि थिएनन् निबुवा । घरको पिटाइबाट बच्न मागेर ल्याएको भन्नुपथ्र्यो । कुरिलो, ककभला, केराको पातलगायतका सामानको जोहो गथ्र्यौं । कालेराकस (एक किसिमको भूत) लाई भनेर एकातिर पाकेको रोटी पनि बनाउने चलन छ ।
कान्छाले निबुवामा काठ ठोकेर खुट्टा, पुच्छर र सिङ बनाउँथ्यो । बा झर्को बाल्थे । कुरिलोको पात जलाउँदै कालेराकसका जुंगा जले भन्थ्यौँ हामी । खुर्पे आँसीले (हँसिया) निबुवाको बाख्रो काट्दा हामी सकुन्जेल कराउँथ्यौ, पाटेसुसिर हाल्थ्यौँ । बलेको दियालो सुरुमा बाले तान्थे र ‘लुतो– पुतो, काल–कष्ट, रोग–व्याध लैजा है काले राकस’ भन्दै दियालो शरीरका अंग–अंग छुवाएर फाल्थे । फेरि अर्को दियालो लिएर ‘ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, खटिरा आउने सबै लैजा हे..हे..हे काले राकस’ भन्दै सक्दो टाढा फाल्थे । पालैपालो सबै परिवारले बाको जस्तै भन्थ्यौँ । संक्रान्तिपछि लगत्तै कोही बिरामी परेमा वा शरीरमा कुनै खटिरा आए राँके नफालेको भनी विधि नपुर्‍याउने अल्छी भन्दै गाउँभरि हल्ला गरिन्थ्यो । राँको नफाले बिरामी हुन्छन् भन्ने डर दिन्थे आमा–बा । कान्छो भने बिरामी परे दूध खान पाइन्छ भनेर राम्ररी राँको फाल्दैनथ्यो ।
काले राकसका लागि भनिएको एकतिर पाकेको रोटी रातभर आँगनमा राखिए पनि भोलिपल्ट जस्ताको तस्तै हुन्थ्यो । काले राकसले खाला भन्दै तर्साउँथे घरकाहरू । हामी भने रोटी नखाएको कुरालाई लिएर ‘काले राकस भए त रोटी खाइहाल्थ्यो नि’ भन्थ्यौँ । साँच्चै राँके संक्रान्ति असाध्यै रमाइलो लाग्थ्यो त्यो उमेरमा । ‘आमा अब कहिले आउँछ राँके’ भोलिपल्टदेखि नै म आमालाई सोधेर हैरान पार्थें । स्कुलमा पनि धेरैजसो राँके संक्रान्तिकै कुरा हुन्थ्यो । एक दिन हीराले कक्षामा राँके भन्न छुटाएर ‘संक्रान्ति कहिले
पर्छ ?’ भनेर सोध्दा पूर्ण सरले १ गते भनेपछि बिचरी लजाएर डेस्कमुनि निक्कैबेर टाउको लुकाएकी थिई ।
राँकेलाई पनि माओवादीको सशस्त्र युद्ध फापेको थिएन । कसैको घरमा राँको त के सानो बत्ती बल्दा पनि प्रहरीको निगरानीमा परिन्थ्यो । त्यसैको निहुँमा प्रहरीले दु:ख दिन्थ्यो । माओवादी पनि प्रहरीको शंकामा परिने डरले राँको नफाल्न भन्थे । परिवारमा कोही बिरामी पर्दा बलेको बत्तीको कारण माओवादीको नाममा ज्यान पनि गयो कतिको । संकटकालको समयमा राँके पर्‍यो भने त के कुरा ? युद्धकालको धङधङीले करिब आठ वर्ष त राँकेले चरम यातना भोग्यो । त्यसपछिका दिनमा आºनो महत्त्व र पहिचान बोकेर संस्कृतिका रूपमा फर्केको छ राँके । चाहेर पनि काठमाडौंमा राँके मनाउन सकिँदैन । विधि नपुर्‍याएर मनाउनुको पनि के अर्थ ? कान्छो मलेसियामा छ । हिरा त गाउँमा छे, उसले त मनाउँदै होली नि है ! मिस यु राँके ।

[email protected]

प्रतिक्रिया