तीनसल्ले, आठराई–नेपालबाट छापिएको लिम्बू भाषाको पहिलो किताब किराती खेदाका प्रकाशकको ठेगाना यस्तै लेखिएको छ । यसका संकलक काजीमान कन्दङ्वाको घरको ठेगाना पनि यही हो । काजीमान काकाको घरबाट २० मिनेट जति तेर्सा बाटो उत्तर हिँड्दा भेटिने पहिलो घर मेरो हो । अर्थात् म यस्तो ऐतिहासिक पुस्तक छाप्ने प्रकाशकको छिमेकी भएर जन्मिएँ, हुर्किएँ ।
तैपनि, गाउँमा पुस्तक उति पाइँदैनथे । उनै काजीमान काकाले रोपेको र देवीप्रसाद जिम्दारले हुर्काएको प्रणामी मिडिल स्कुलमा मैले पढेँ । त्यसको पुस्तकालयमा विश्वकथा संग्रह नामक एउटा किताब थियो । प्रकाशक र अनुवादकको नाम अनि प्रकाशन साल जस्ता कुरा खुल्ने पेज च्यातिइसकेका थिए । तैपनि, अनुवादक ‘बाङ्देल’ भएको र यो पुस्तक सन् १९४५ अर्थात् आजभन्दा ६७ वर्षअघि नै छापिएको संकेत मिल्थ्यो । यी बाङ्देल पछि ठूला कलाकार र साहित्यकार भएका लैनसिंह बाङ्देल नै हुनुपर्छ ।
बाँकी बचेको सबैभन्दा सुरु र अन्तिम पेजमा धुलो तथा चिसो मिलेर मयलको पत्रैपत्र जमाएका थिए । तैपनि, यसभित्र जेजस्तो खुराक थियो, त्यो अनुपम थियो । पछि रत्नपुस्तक भण्डारले यसको प्रकाशन गरेपछि मैले थाहा पाएँ, त्यसमा टल्सटाय, चेखोब, मोपासाँ, एड्गर एलेन पो, केरोली, तुर्गेनिभ आदिका कथा थिए । ती कथा मलाई अहिले पनि राम्रा लाग्छन् । त्यस संग्रहका कथा पढ्दा बाङ्देलको अनुवाद कलाको पनि स्वाद पाइन्छ । नेपाली अनुवाद कलापछि आएर मात्र खस्केजस्तो लाग्छ मलाई ।
मैले पढेको कोर्सबाहिरको पहिलो किताब यही थियो । यसको अर्थ कोर्सका किताब नराम्रा थिए भन्ने होइन ।
स्कुलको पढाइ सकेर थप पढ्न मेची क्याम्पस पुगेपछि मैले थाहा पाएँ— अंग्रेजी भाषामा मैले पाँच कक्षा पनि पास गरेको रहेनछु । पाँच कक्षा किन भनेको भने त्यतिबेला पाँच कक्षामा पुगेपछि मात्र अंग्रेजी पढाउन थालिन्थ्यो । त्यसपछि अंग्रेजी सपार्ने धुन चल्यो । अंग्रेजी भाषामा छापिएका कुनै कागजको टुक्रो बाटोमा भेटियो भने त्यो पनि टिपेर पढौँ जस्तो लाग्नेगरी ।
आइएको परीक्षा सकेर म झापाबाट आठराई गएँ । अंग्रेजी सिक्ने धुन पनि साथमै लगेको थिएँ । त्यहाँ पत्रपत्रिकाका नाममा अंग्रेजी त के नेपाली पनि पुग्दैनथे । त्यसैले, अंग्रेजी सुधार्ने भोक मेट्न मैले मेरो घरको बुइँगलमा जताततै छरिएका पुराना पाठ्यपुस्तकको धुलो टक्टक्याउनुपर्यो । एउटा पुस्तक फेला पर्यो, च्यातिइसकेको थियो । त्यसको सबैभन्दा पहिलो पेज अर्थात् भूमिका पढ्दा थाहा भयो— त्यो पुरानो शिक्षाको एसएलसीको पाठ्यपुस्तक रहेछ । किताबको नाम तथा सम्पादक र प्रकाशकको नाम थाहा पाउन सकिँदैनथ्यो । त्यो किताब पालैपालो पढ्ने मान्छेका नाम भने भित्री पेजमा प्रशस्तै थिए । कालो र नीलो मसीले थरिथरिका बान्की परेका अक्षरमा कम्तीमा १५ जना पाठकको नाम लेखिएको थियो त्यसमा । तिनका भित्री पेजमा अंग्रेजीमा मुद्रित शब्द जति थिए तीभन्दा बढी हस्तलिखित शब्द नेपालीमा शब्दार्थ लेख्न खर्चिइएका थिए । यसले मूल पाठ पढ्न जति अप्ठ्यारो परेको थियो, अर्थ बुझ्न त्यति नै सजिलो ।
हान्स एन्डर्सन, महात्मा गान्धी, क्याथरिन म्यान्सफिल्ड, बुकर टी वासिंगटन, मिनु मसानी, टल्सटाय, रवीन्द्रनाथ ठाकुर आदिका कल्पना गरिएका र वास्तविक विषयमा लेखिएका रचना थिए त्यसमा । जन्मेको अठार महिनापछि सुन्न, बोल्न र देख्न नसक्ने हेलेन केलरको साँचो कथा त्यसमा थियो । उनलाई यी सबै अप्ठ्यारा पार गर्न मद्दत गर्ने शिक्षकको कथा त्यसमा थियो । रेडियम पत्ता लगाएर म्याडम क्युरी बनेकी, दुई–दुईपटकसम्म नोबेल पुरस्कार पाएकी लज्जालु र संकोची पोलिस महिलाको वास्तविक मर्मस्पर्शी कथा त्यसमा थियो । आफ्ना लोग्नेका साथमा साह्रै दु:ख गरेर आफूले पत्ता लगाएको रेडियम बनाउने विधि व्यापारीलाई बेचेकी भए उनले धेरै सम्पत्ति कमाउने थिइन् । तर, त्यसो गर्दा सुदूर भविष्यसम्म क्यान्सर रोगीको उपचार महँगो पर्छ भनेर उनले त्यसो गरिनन् । यस्ता महान् मानिसको साँचो कथा पाठ्यपुस्तकमै थियो । टु जेन्टलम्यान अफ भेरोनाजस्ता कथा अनि तेन्जिङ नोर्गे र हिलारीले सगरमाथा चढेको साहसिक कथा पनि त्यसमा थिए । बुकर टी वासिंगटनको द स्ट्रगल फर एजुकेसनले मलाई उनको आत्मवृत्तान्त पूरै पढ्न प्रेरित गर्यो ।
त्यस किताबले मलाई अंग्रेजी सिकायो । आख्यान र गैरआख्यानको चिनारी गरायो । संसार चिनायो । आफू हिँड्ने बाटो रोज्न केही हदसम्म मद्दत गर्यो । मिनु मसानीको हु आर द फिटेस्ट ? शीर्षकको निबन्धमार्फत मलाई आममानिसले भन्दा फरक ढंगले सोच्न प्रेरणा दियो ।
कोर्सका किताबको एउटा समस्या के छ भने ती विश्वविद्यालयको जाँच पास गर्ने उद्देश्यले मात्र पढिन्छन्, जिन्दगीमा पास हुने किसिमले पढिँदैनन् । नाम जान्न नपाएको माथि उल्लेख भएको किताब पढेपछि मैले कोर्सका किताब विश्वविद्यालय र जिन्दगी दुवैको जाँच पास गर्ने उद्देश्यले पढ्न थालेँ । त्यसैले त बिएमा पढेको लङमेन प्रकाशनको द इंग्लिस वी युज र अक्फोर्ड प्रकाशनको एस्सेज, सर्ट स्टोरिज एन्ड वान एक्ट प्लेजले मलाई ती पहिलोपटक पढेको २७ वर्षपछि पनि मद्दत गरिरहेका छन् । यी किताबले मलाई ‘स्वतन्त्र जन्मेको मान्छे साङ्लैसाङ्लाले बाँधिन्छ’ भनेर समाजसँग मुर्मुरिन होइन, ‘मान्छे जन्मँदा साङ्लाले बाँधिएको हुन्छ तर पछि स्वतन्त्र बन्न सक्छ’ भनेर समाजसँग रमाउन सिकाए ।
दुनियाँले कुनै पनि समाजको प्रशंसा गर्ने वा घृणा भन्ने कुरा त्यस समाजले कति मात्रामा व्यक्तिगत स्वतन्त्रता दिएको छ भन्ने आधारमा होइन, त्यस समाजमा कस्तो खालको स्वतन्त्रता खोजिएको छ भन्ने आधारमा निर्धारण हुन्छ भनेर तिनै पाठ्यपुस्तकले सिकाएका थिए । यस्तो ज्ञानले नेपालको अहिलेको अवस्थाको व्याख्या गर्न मद्दत गर्छ । नेपालीले पाएको व्यक्तिगत स्वतन्त्रताका आधारमा त हामी संसारकै उत्कृष्ट ठहरिन सक्छौँ किनभने यहाँ अपराध गर्नेले पनि जेलबाट छुटकारा पाउनेसम्मको स्वतन्त्रता दिइएको छ तर कस्तोखाले स्वतन्त्रता खोजिएको छ भन्ने कुराका आधारमा नेपाललाई नाप्ने हो भने हामी निकृष्ट ठहरिन्छौँ ।
तिनै पाठ्यपुस्तकले मलाई जर्ज बर्नार्ड शा, समरसेट मम, बर्टेन्ड रसेल, टिएस इलियट आदिका रचनासँग परिचित गराए, टल्सटायका रचना तेस्रोपटक अनि क्याथरिन म्यान्सफिल्ड र अन्तोन चेखोबका रचना दोस्रोपटक पढ्न लगाए । सन् १९५० देखि १९५५ सम्म छापिएका अंग्रेजी साहित्यका राम्रामध्येका रचना पढ्ने अवसर दिए ।
तिनै कोर्सबुकले मलाई अप्ठ्यारोमा बाटो देखाउने गर्छन् । जब आफ्ना मनमा लागेका कुरा शब्द, दृश्य र आवाजका माध्यमले अरूलाई बताउन कठिन हुन्छ, आफ्नै अभिव्यक्तिसँग चित्त नबुझेर ‘मजस्तो अभिव्यक्त गर्न नजान्ने मान्छे किन अभिव्यक्ति गर्ने पेसामा लागेको हुँला, खुरुक्क भारी बोक्न नगएर †’ भन्ने लाग्छ म ती कोर्सबुकमा संगृहित सामग्रीका लेखकका कुरा सुन्छु र चित्त बुझाउँछु । ‘एक लाख शब्दको उपन्यास लेख्न थाल्दा म तीन लाख शब्द लेख्छु । यसो गर्नु एकदमै ठूलो दुरुपयोग हो । तर, त्यसो नगरीकन म मैले चाहे जसरी अभिव्यक्त गर्न सक्दिनँ ।’ राम्रा भनेर चिनिएका लेखकको त यो हाल हुँदो रहेछ भने मेरो किन नहोस् भन्छु । आफूले लेख्न लागेको लेख आफ्नै दृष्टिमा छाप्न अयोग्य हुँदा आपैँmसँग रिस उठ्छ । त्यतिबेला म तिनै कोर्सबुकमा भनिएका यस्ता कुरा सम्झन्छु– प्रकाशकको नब्बे प्रतिशत समय नछापिने पाण्डुलिपि हेर्नमा बित्छ भन्ने कुरा आममानिसलाई के थाहा हुन्छ र †
तिनै कोर्सबुकले मलाई स्वदेशीहरू कसरी लेख्छन् भनी हेर्न प्रेरित गरे । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘म सय लेख्नु छ भने दस बाँकी राख्छु’ भनेको पढ्न लगाए, भूपीको ‘भूपी शेरचन’ भन्ने कविता पढ्न लगाए जहाँ उनले लेख्दा आफ्नो कस्तो हालत हुन्छ भनी लेखेका छन् । अर्थात् लेख्दा पनि किसानले खेती गर्दा जस्तै अति धेरै मेहनत गर्नुपर्छ भन्ने कुरा तिनै कोर्सबुकले सिकाए ।
कोर्सबुकले मलाई जीवनदर्शन मात्रै दिएका छैनन् । जीवनदर्शनले मात्रै त बाँच्न सकिँदैन यस संसारमा । तिनले मलाई गरिखाने बाटो पनि दिएका छन् । मैले लेखेका राम्रामध्येका केही लेख लेख्ने विषयवस्तु मैले तिनै किताबबाट पाएको थिएँ । धेरै वर्ष पहिले मैले जेबी प्रिस्ट्लेको स्टुडेन्ट्स मोब्स नामक निबन्ध कोर्सबुकमै पढेको थिएँ । नेपाली विद्यार्थीको पुस्तक होइन, उपद्रो प्रेम देख्दा/भोग्दा मलाई त्यही निबन्धको सम्झना आयो । फेरि एकपटक पढेँ । त्यसपछि त्यसका केही वाक्यसमेत पैँचो लिएर विद्यार्थी सिर्जनशील भएको हेर्ने रहर लेखेँ । यसले मेरा लागि निकै प्रशंसा बटुलिदियो । मेरो बजार भाउ बढाइदियो ।
कोर्सबुक भनेपछि काम नलाग्ने भनी होच्याउने चलन हामीकहाँ छ । आजसम्म चल्ने यस वर्षको पुस्तक प्रदर्शनीमा पनि कोर्सबुकका पुस्तक भनेर तिनलाई होच्याउने मानिसको कमी थिएन । ती धेरै जान्ने भएका हुन् कि म धेरै नजान्ने भएको हुँ थाहा छैन । मेरा लागि त कोर्सका किताब ठूलो सहारा भएका छन् ।
(पत्रकार मोहन आजभोलि आफ्नो यात्रा संस्मरणको पुस्तकलाई अन्तिम रूप दिँदै छन्)
प्रतिक्रिया