श्रीलंकासँग पाकिस्तान शृंखला पराजयनजिक

कोलम्बो, २८ असार । तेस्रो तथा अन्तिम टेस्टमा कमजोर ब्याटिङ गरेपछि पाकिस्तान श्रीलंकाविरुद्ध जारी तीन टेस्ट म्याचको शृंखला गुमाउने स्थितिमा पुगेको छ । चौथो दिनको खेल समाप्तिमा बुधबार ८ विकेट गुमाउँदै दुई सय ९९ रन जोडेको पाकिस्तानले समग्रमा एक सय ८८ रनको अग्रता लिएको छ । पहिलो म्याच जितेको श्रीलंकाले दोस्रो खेल बराबरी गरेको थियो । शृंखला बराबरी गर्न पनि पाकिस्तानलाई जारी म्याचमा जितको आवश्यकता छ ।
अजहर अलीले शतक तथा मोहम्मद हाफिज र आसाद सफिकले अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याट्सम्यानले दोस्रो इनिङमा कमजोर प्रदर्शन गरेपछि पाकिस्तान संकटमा पुगेको हो । प्रारम्भिक ब्याट्सम्यान तउफिक उमर चार रनमा आउट भए भने युनिस खान १९, मिसवाह उलहक पाँच, मोहम्मद सामी तीन, उमर गुल शून्य र सइद अजमल पाँच रन बनाई आउट भए । बलिङतर्फ रंगना हेराथले चार र दिल्हारा फर्नान्डोले तीन विकेट लिए ।
२७–१ को स्थितिबाट चौथो दिनको खेल थालेको पाकिस्तान दोस्रो विकेटका लागि ९४ रनको साझेदारी भएपछि १५८–३ मा पुगेको थियो । चौथो विकेटका लागि १८ रनको मात्र साझेदारी गरे पनि पाँचौँ विकेटका रूपमा एक सय रनको साझेदारी भएपछि पाकिस्तानले श्रीलंकालाई बलियो चुनौती पेस गर्ने अनुमान गरिएको थियो । तर, पछिल्लाक्रमका ब्याट्सम्यानहरू धेरै समय क्रिजमा टिक्न सकेनन् । अलीले एक सय ३६ रन जोडे भने हाफिजले ५२ र सफिकले ५५ रन जोडे । ३२ ओभर बलिङ गर्ने क्रममा चार मेडन राखेका हेराथले दुई रन औसतमा बलिङ गरेका थिए ।
यसअघि पहिलो इनिङमा पनि पाकिस्तानको ब्याटिङ प्रदर्शन कमजोर रहेको थियो । पाहुना टोली पाकिस्तानले दुई सय २६ रन जोड्दा सम्पूर्ण विकेट गुमाएको थियो । सफिकले ७५ रन जोड्नुबाहेक पाकिस्तानका अन्य कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ खेलेका थिएनन् । यस क्रममा हेराथले तीन विकेट लिएका थिए । एजेन्सी

प्रतिक्रिया