यसो गरे कसो होला ?

भन्छन्, पाँच वर्षसम्मका केटाकेटीमा भगवान्को प्रत्यक्ष बास हुन्छ रे † अर्थात् बालपनको निश्चलता झल्किने हुनाले त्यसो भनेको हुन सक्छ । जे होस् यस्तै उमेरको निश्चल, निद्र्वन्द्व एक बालकले मेरो दिमाग चाट्न खोज्यो । मलाई कता–कता शंका लाग्यो माथिको भनाइ अचेलका बालबालिकामा लागू हुन्छ कि हुँदैन ।
आधुनिक बालक, अझ अत्याधुनिक स्मार्ट बालक † बोल्नमा बिजुली, चलखेल गर्नमा चमेरो । उसले पहिलो प्रश्न लयात्मक पारामा सुरु गर्‍यो, हैन यसो गरे कसो होला ? मैलै आश्चर्य सोधेँ, कसो गरे कसो होला ? अलि बुझिने गरी भन त † ठुल्ठूला राजनीतिज्ञहरूलाई उछिन्दै उसले भन्यो– मलाई त यस देशको अवस्था देखेर टेन्सन भइसक्यो । मैले जिल्ल पर्दै भनेँ– यति सानो उमेरमा ललिपप खाने उमेरमा यति ठूलो टेन्सन किन बोक्या त ? धेरै टेन्सन लिन थाले बौलाउन बेर लाग्ने छैन ।
अल्ट्रा मोडर्न ठिटोले फुर्ति देखायो, हाम्रो मुलुकमा सधैँभरि नेतृत्वका लागि, कुर्सीका लागि, हानथाप परिरहन्छ । सबै सधैँ बिरालो र कुकुरझैँ ङ्यार–ङ्यार, ङुरङुर गरिरहन्छन् † हरेक पार्टीलाई एक–एक महिना शासन गर्न दियो भने देशमा शान्ति हुन्थ्यो कि ? यसो गरे कसो होला ? मैले उसको मुखमा बुजो लाउने प्रयास गरेँ– संविधानले यसको अनुमति दिँदैन । स्मार्ट बालकले उत्तर दियो– अहिले त संविधान नभएको बेलामा यस्तो नियम चलाएर हेरे के पो बिग्रन्छ र † बिग्रने जति बिग्रिसक्यो अब के पो बिग्रन बाँकी छ र †
अनि मैले सम्झाएँ– त्यसो भनेर हुँदैन । नियम कानुन परम्परा, चलन– व्यावहारिकता सबैथोक हेर्नुपर्ने हुन्छ । लौत त्यसो भए यसो गरौँ । लिगलिगे दौड गराऊँ इतिहासले आफूलाई कहिलेकाहीँ दोहोर्‍याउँछ । लिगलिगमा पहिले राजा हुनका लागि दौडको आयोजना हुन्थ्यो रे † हामी पनि त्यसै गरौँ । हरेक पार्टीका नेतालाई जम्मा पारेर टुँडिखेलमा घोडेजात्रामा घोडा दगुराएजस्तै दगुराऔँ । अनि जो फस्ट हुन्छ, उसैलाई एक वर्षका लागि राज्य सुम्पिदिए हुन्छ । संकट आइपरेछ भने राष्ट्रमा कम से कम उसले दगुरेर आफूलाई त बचाउन सक्ला † राजा पनि खोज्न पाइने, झेली गर्न नपाइने । नेपाली काइदा सबैलाई फाइदा † यसो गरे कसो होला ? जसले जित्यो रेस उसले खायो देश † कि कसो ?
मैले हप्काएजस्तो गरेँ– यो केटाकेटीको खेल हो र † घोडा रेस गरेजस्तै राजा रेस गर्न त पाइन्न नि † यसले बेथितिलाई निम्त्याउँछ † भाँडभैलो हुन्छ ।
त्यो बालकले हार मानेन । उसले फेरि यसो सोचेजस्तो गरेर भन्यो, त्यसो भए यसो गरे कसो होला ? नेताहरूमा फ्री स्टाइल कुस्ती गराऊँ । जसले जित्यो कुस्ती उसले पायो कुर्सी । कुर्सी र कुस्तीमा कति समानता छ, हेर्नुस् त † फ्री स्टाइल कुस्ती भनेपछि जहाँ हान्न पनि पाइन्छ, जति हान्न पनि पाइन्छ । त्यसरी जितेको बहादुरले बहादुरीका साथ वर्ष दिन देश खायो भने नेपालीहरूलाई पनि चित्त बुझाउने एउटा मेसो हुन्छ । फेरि अर्को वर्ष फाइट हेर्न पाइन्छ भनेर सबैले उग्र उत्सुकताका साथ पर्खी बस्छन् । एक वर्ष त मिलिक्कै जान्छ । यसो गरे कसो होला ?
अब चैँ मलाई झर्कै लागेर आयो । मैले तैपनि स्वयंलाई संयम पार्दै भनेँँ– यस्ता भारेभुरे तालले देश चल्दैन बाबै † देश चलाउन त इमानदार नेता हुनुपर्छ । डा. बाबुराम भट्टराईजस्तो इमानदार मात्र भएर हुँदैन । पार्टीको हितभन्दा देशको हितलाई प्राथमिकता दिने नेता हुनुपर्छ । हाम्रो देशमा त उल्टो क्रम छ– पहिले आºनो र आºनो पार्टीको हित, पार्टीभित्र पनि आºनो लबीको हित, सरकारमा सम्मिलित अन्य पार्टीको अनुचित दबाब † अनि कसरी चल्छ देश †
त्यो स्मार्ट बालकले कान्छी औँला ठड्याएर मलाई देखायो र दगुरेर गयो ।

प्रतिक्रिया