यादवलाई हटाउन आफ्नै पार्टीको माग

काठमाडौं, २० असार । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष नन्दकुमार दत्तले सञ्चारमन्त्री राजकिशोर यादवलाई तत्काल पदबाट नहटाए सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर दत्तले पार्टीबाट निष्काशित व्यक्तिलाई मन्त्रीमा राखिरहन नमिल्ने जिकिर गरे । उनले भने, ‘पार्टी कारबाहीमा परेको व्यक्तिलाई प्रधानमन्त्रीले तत्काल पदबाट बर्खास्त गर्नुपर्छ ।’
पार्टी निर्णय अनुसार यादवलाई मन्त्रीबाट हटाउन यस अघिनै प्रधानमन्त्री बाबुराम भट्टराईलाई जानकारी गराएको बताएका दत्तले भने, ‘कामचलाउ सरकारका प्रधानमन्त्री भट्टराईले दोहोरो चरित्र देखाएका छन् ।’
सञ्चारमन्त्रीबाट यादवलाई हटाउन जेलमा रहेका अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताद्वारा हस्ताक्षरित पत्र समेत आफूहरुसँग सुरक्षित रहेको दत्तले बताएका छन् ।
पार्टी नीति विपरित काम गरेको भन्दै फोरम गणतान्त्रिकको बहुमत केन्द्रीय समितिले सञ्चारमन्त्री समेत रहेका यादवलाई कारबाही गरेर निष्कासन गरेको छ । (तस्बिर, सञ्चार मन्त्री राजकिशोर यादव)

प्रतिक्रिया