यस्तै रहेछ क्रान्ति र विकास…


बिहानै मेलम्चीबाट उकालो लाग्दा त्यति गर्मी महसुस भएन । बिहान छिप्पिँदै जाँदा निख्रँदो वैशाखको घामले पाइन बढायो र आरुखर्क, कटुञ्जे, भटमासेको उकालोले उमर्को नै चलायो । हामी सिन्धुकोट हिँडेका, मित्र जितेन्द्र र म । मेरो जागिरको सिलसिला, उनी त मेलम्ची बजारमा फेन्सी दोकान गर्ने तर गाउँ घुम्ने रहरले हिँडेका । धुसिनचौर वरपर पुगेपछि पहेँलपुर भएर ऐँसेलु पाकेको देख्यौँ । निकै समय बितेछ ऐसेलुको झ्याङमा झुत्तिँदा । खाली पेट, भोकको रन्कोमा ऐँसेलु । हसुरिएछ गोद्रो अर्थात् चार–पाँच पसर नै । ओहो, मलाई डाहा भएर आयो । जितेन्द्रलाई चाहिँ केही भएन । नेत्र भट्टराई सरको घरमा पुगेर खाना खायौँ । जितेन्द्रले त्यहाँ निबुवाको पुरानो अचारको निकै प्रशंसा गरे । भन्थे, ‘अचार त जिब्रोमै राखिरहूँ जस्तो ।’
सामुदायिक संस्थाका प्रतिनिधिहरूको भेला राखिएको थियो । भट्टराई सरको घरबाट ओर्लंदा कोट (कोत भएको ठाउँ)मा आर्मीको समूह देखियो । उनीहरू खसी काटेर खाना बनाउँदै थिए । हामीले त्यहीँ नजिकको विद्यालयमा भेला निर्धारण गरेका थियौँ । दिउँसो गाउँलेहरू भेला भए । विविध छलफल भयो । त्यो रात सिन्धुकोटमै बितायौँ राजेन्द्रजीकामा । भोलिपल्ट मेलम्ची फर्कियौँ । मेलम्ची आइसकेपछि भोलिपल्टतिर खबर आयो मलाई ‘सिन्धुकोट नआउनू’ भन्ने । गएमा माओवादीबाट निकै खतरा हुनेछ । कतिपय मलाई राम्रो ठान्ने माओवादीका मित्रहरूले घरमा पनि खबर पठाएछन्, ‘हाम्रा साथीहरू रिसाएकाले त्यहाँ, डम्बरजीलाई नजान भनिदिनुहोला’ भनेर । माओवादीलाई भ्रम परेछ ‘मैले नै आर्मीलाई खबर गरेर सिन्धुकोट लगेको भन्ने ।’
मेरो जागिर मेलम्चीमै चलिरहेको थियो । माओवादी द्वन्द्व चरमचुलीमा पुगेको अवस्था, तैपनि जागिर राम्रै चलेको थियो, मेलम्ची भएकाले । मेलम्चीको पानी काठमाडौं ल्याएबापत स्थानीय समुदायको उत्थान गर्ने कार्यक्रम । त्यतिबेला जिल्ला विकास समितिको संयोजनमा त्यो कार्यक्रम भइरहेको थियो । सरकारी कर्मचारीमा शिक्षकबाहेक गाउँमा प्रतिनिधित्व नहुने अवस्थामा हामी प्रत्यक्ष रूपमा समुदायमा हाजिर थियौँ । गाविस सचिव सदरमुकाम केन्द्रित भइसकेका थिए । केही शिक्षकले विस्थापन भोगिसकेका थिए । मेलम्चीबाट टाढाका गाउँमा मुस्किल पर्दै आउन थाल्यो । सहकर्मी शंकरजीले पाल्चोकमा थप्पड खानुपर्‍यो । रामप्रसादजी इचोकबाट लखेटिनुपर्‍यो । सिन्धुकोटमा काम गर्ने मित्र अर्जुन खड्काजीलाई आर्मीले मेलम्चीमा तारिख लगाइदियो । अन्तत: उहाँ गाउँ जान सक्नुभएन र जागिर नै छाड्नुभयो । हामी यो खालको विडम्बना भोग्दै थियौँ ।
अर्जुनजीले जागिर छाडेपछि सिन्धुकोट रिक्त हुन पुग्यो । हाकिमहरूको गुलामी गर्न नसक्ने म बबुरोको हालत खराब हुने दिन आयो । एक हप्ताभित्र सिन्धुकोट पुगेर कामकाज अगाडि बढाउने भन्ने हुकुमीपत्र आइपुग्यो । जहाँ माओवादीले दच्काएर साथीले जागिर नै छाडे, त्यहाँ जानुपर्ने भयो । नत्र कुम्लोकुटुरो बोकेर घर जानुपर्ने स्थिति बन्यो ।
गाउँले वातावरण सन्त्रस्त थियो, दिउँसै सन्नाटा छाउँथ्यो । मानिस मात्र होइन, पशुपक्षी, बोटबिरुवा पनि बिराना लाग्ने । कोही नौलो मान्छे देख्दा त गाउँलेहरूलाई ‘काल’ नै हो कि झैँ लाग्थ्यो । अलि अघि त्यही गाउँमा आर्मीले माओवादीका आठजना कार्यकर्तालाई एकचिहान बनाएको । माओवादी केन्द्रजस्तो थियो सिन्धुकोट त्यो क्षेत्रको । मैले त त्यहीँ जानु छ । जानाजानी भुंग्रोमा हात हाल्नुजस्तो । तैपनि कुनै भय नबोकीकन कार्यक्षेत्र लागेँ निर्धारित मितिमै । कार्यक्रम सम्बद्ध स्थानीयलाई भेटेँ । उहाँहरूलाई मैले सुरुमै माओवादीहरूसँग सल्लाह गरेर अघि बढौँ भनेँ । माओवादीको स्वीकृतिविना काम गर्ने अवस्था छैन भन्ने मैले राम्रै बुझेको थिएँ । त्यसैले सबैभन्दा पहिले माओवादीको कमान्डरसँगै छलफल गर्न समय मिलाउन भनेँ ।
रसुवा घर भएका, उमेरले मभन्दा कमका, पिखले टाइपका एक ठिटाले त्यताको पन्ध्र–सोर्‍ह गाउँ हेर्ने रहेछन् । कमान्डर कमरेड प्रतीक र उनका दुई–तीन आसेपासेसँग खासगरी मेरो वार्ता हुने भो । उनले मलाई त्यति वास्ता नि’ गरेनन् । हान्ने गोरुजत्तिकै फूँफूँ गर्ने किसिमले आए । डाँकोले सात्तो खाउँलाझैँ गरेर उनीहरूको साझा भाषा बोले, ‘तपाईंहरूको यो जनताहरूलाई कनिका छरेर अलमलाउने बाटो, क्रान्तिको धारलाई बोध्याउने मेलो’ यस्तै यस्तै भनेर मलाई बोल्न नि’ दिएनन् । मैले धैर्य गरेँ । उनको स्वर बढ्दै जाँदा गाउँका मान्छे जम्मा हुने क्रम पनि बढ्यो । मैले उनीलाई हस्तक्षेप गरेँ र भनेँ, ‘क. प्रतीक, यति उच्च स्वरले बोल्न जरुरी छैन । बिस्तारै बोल्दा पनि म बुझ्छु । म त जागिर खाने एक निरीह प्राणी हुँ । यहाँ जागिर खाउँला, नभए कहीँ खाउँला । जागिर नै खानुपर्छ भन्ने नै के रह्यो र चाहेँ भनेँ मै पनि त तपाईंहरूले जस्तै बन्दुक बोकेर हिँड्न सकुँला । मुख्य कुरा समुदायको हो । उनीहरूको नाउँमा पैसा आएको छ । गत वर्ष पनि तपाईंहरूकै अवरोधले उनीहरूको दस लाख गुमिसकेको छ । मलाई होइन, उनीहरूलाई सोध्नुस् यो कार्यक्रम आवश्यक छ कि छैन ?’
त्यतिबेला मेलम्ची खानेपानी माओवादीका लागि दुहुनो गाई नै थियो । निश्चित दाम त बुझाउनुपथ्र्यो नै, गाडी तथा कर्मचारीले प्रयोग गर्ने सञ्चारसेट (वाकीटकी)मा पनि माओवादीकै हालीमुहाली थियो ।
गाउँलेहरूले सोचेछन्– अब यहाँ केही अनिष्ट हुन्छ । माओवादीसँग यत्तिको बोल्ने मान्छे पहिलो नै भेटेका रहेछन् उनीहरूले । गोपाल रायमाझी सर त भन्नुहुन्थ्यो, ‘डम्बर सर, तपाईं त आँटिलो मान्छे हुनुहुँदो रहेछ, यत्तिको बोल्ने आँट कसैमा थिएन । हामी पनि चुपचाप नियमित चन्दा बुझाइरहेका छौँ । तपाईंको आवाजसँगै गाउँलेहरू अलि उत्साहित भएका छन् ।’
झन्डै वर्ष दिन अवरुद्ध भएको कार्यक्रम शिक्षा, स्वास्थ्यमा बढी केन्द्रित हुनेगरी कार्यक्रम अघि बढाउने टुंगो भयो । अनि भेला तोकेर म मेलम्ची फर्कें ।
हामीले तोकेको भेलामा उनीहरू आउने कुरो नै थिएन । संयोग कस्तो भने त्यही दिन आर्मी गस्तीमा गइदिएछ मेलम्चीबाट । झन्डै माओवादी र आर्मीबीच जम्काभेटको अवस्था आएछ । अनि त म सुराकीमा दरिइहालेँ नि † राज्यको त्यत्रो संयन्त्र नियन्त्रणमा लाग्दा त माओवादी संघर्ष उत्कर्षमा लागेको बेला मैले गर्न सक्ने र गर्न पर्ने त के थियो र, अनि मेरो वर्गशत्रु पनि त होइन माओवादी । मजस्तै दु:खको गर्तमा डुबेकाको उत्थानमा हिँडेका भनिएका माओवादीलाई मैले रिस गर्नपर्ने नै के थियो र ? सायद म पनि बेरोजगार थिएँ वा उग्रक्रान्तिको नशा ममा पनि फैलिन सकेको भए त्यही क्रान्तिमा पो होमिन सक्थेँ कि †
जब माओवादीहरूको ‘मिस अन्डरस्टयान्डिङ’ थाहा पाएँ– मेरो आङ सिरिंग भयो । त्यसअघि मारिएकाहरू पनि कुनै ठूलो निहँुले थिएन । भाइको ठाउँमा दाइ मारिएको अवस्था पनि मौजुदा थियो । एक किसिमले मन तमासियो पनि । मैले धेरथोर गाउँठाउँ बुझेको छु । नेपाली समाजको धरातल जानेको छु । कम्युनिस्टहरूले जप्ने नारा पढेको छु । मलाई एकखालको घमण्ड थियो । तर, मसँग जेजस्तो चिज भए पनि तरबारको आँखा थिएन, गोलीको कुनै ज्ञानेन्द्रिय थिएन । बमको आत्मा थिएन । अनि त म पनि जड बराबर भइहालेँ ।
क. प्रतीकलाई व्यहोरा मिलाएर चिठी लेखेँ । गाउँ गइनँ । मैले जागिरीय काम गर्न सकिनँ राजीनामा दिउँ कि भनेर जागिरीय मिटिङमा कुरो उठाएँ । कसैले दे पनि भनेन नदे पनि भनेन ।
तिनै प्रतीक कमरेड रहेछन्, प्रेमबहादुर तामाङ । रसुवाबाट संविधानसभा सदस्यमा राम्रै मत ल्याएर जिते । चार वर्षीय संविधानसभा नामको रंगमञ्चीय अभिनय सकेर पनि उनी बिदा भइसकेका छन् । भूपू सभासद् मिस्टर तामाङ कुम्लोकाम्लो बोकेर गाउँ लागेको खबरलाई मिडियाले पनि उठाएको सुनेको थिएँ । संविधानसभाको अवसान मात्र होइन, यतिबेला त उनको पार्टी पनि खण्डित भइसकेको छ । उनी कुन खण्डमा परे र के सोच्दै होलान् ? कालिकास्थान धैबुङतिरको खेतबारीमा धाउँदै होलान् कि चियापसलमा भावी चुनावको माथापच्चिसीमा होलान् वा छ्याङ खाएर विन्दास जिन्दगीमा छन् म जान्दिनँ । मैले जानेको त उनीले उन्मुक्ति दिन्छु भनेर हिँडेका जनताको हालत उस्तै छ, मैले उत्थान गर्न हिँडेको समुदायको अवस्था पनि उस्तै छ । उनी सभासद् भए केही पैसा कमाए, म जागिरे मैले नि केही पैसा पाएँ । आखिर केही नपाउने उनै जनता, उही समुदाय त रह्यो । यस्तै रहेछ नेपाल, यहाँको क्रान्ति र विकास ।

प्रतिक्रिया