कहिले हट्ला बोक्सीको अन्धविश्वास ?

चितवन, ९ असार । चितवनको माडीमा बोक्सी आरोपमा जलाएर एक महिलाको हत्या भएको चार महिनापछि सदरमुकाम भरतपुर नगरपालिकाभित्रै बोक्सी भगाउन भन्दै एक महिला कुटिएको घटना सार्वजनिक भएको छ ।
बोक्सी भगाउन भन्दै शारीरिक तथा मानसिक यातना दिएको आरोपमा शुक्रबार चितवन प्रहरीले धामी मानबहादुर विकलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो । भरतपुर–१२ मुनालचोककी ३५ वर्षीया सावित्री तिवारी बोक्सीको आरोपमा धामी विकबाट कुटिएका हुन् । धामीको कुटाइबाट सावित्रीको दुवै आँखाको तल्लो भाग र देब्रे पाखुरामा नीलडाम छ ।
धामीले यौनजन्य अंगमा पनि कुटपिट गरेको उनी बताउँछिन् । सामान्य बिरामी भएकी सावित्रीकी सासू सरस्वतीलाई बोक्सी लागेको भनेर देखाउन लैजाँदा उल्टै बोक्सी भनेर धामीले कुटेको उनको भनाइ छ ।
बोक्सी लागेको भन्दै धामीकहाँ जान सल्लाह दिने भरतपुर–४, बेलचोकका ज्योतिषी ५५ वर्षीय यमनाथ सिंखडालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको लिखित जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाक्रमअनुसार सावित्रीले बिरामी सासू सरस्वतीलाई ज्योतिषी यमनाथलाई देखाएकी थिइन् । उनैले सरस्वतीलाई बोक्सी लागेको बताएपछि धामीकहाँ पुगेको पीडितले जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । ‘कालो पिचास’ लागेको र बोक्सीले नाग उठाई हानेको तथा सरस्वती स्वयंलाई पनि बोक्सी सिकाइँदै गरेको ज्योतिषीले बताएपछि उनले सासूलाई धामीकहाँ लगेकी थिइन् । ३० वर्षदेखि धामी–झाँक्रीको काम गर्दै आएका विकले पनि सरस्वतीलाई बोक्सी चढेको भन्दै उनकै कारणले परिवारका अरू सदस्यमा क्षय हुने बताएका थिए ।
सावित्री २ असारमा बोक्सी फाल्न धामीकहाँ गएकी थिइन् । भोलिपल्ट बिरामी ल्याउन भनेपछि उनको परिवारले सरस्वतीलाई धामीकै अगाडि उपस्थित गरायो । राति १० देखि ११ बजेसम्म झारफुक गरेका धामीले सरस्वतीको बोक्सी बुहारी सावित्रीलाई सरेको र झार्न नीलडाम हुनेगरी पिटेको पीडितले बताइन् ।
यसअघि माडीमा गत ५ फागुनमा बोक्सी आरोपमा ढेगनीदेवी महतोको जलाएर हत्या भएको थियो ।

प्रतिक्रिया