सुरुआती खेलबाटै जमेका तीन स्टार

वार्सा : स्पेनका फर्नान्डो टोरेसले आयरल्यान्डसँगको युरोकप फुटबलअन्तर्गत बिहीबार राति भएको समूह ‘सी’को दोस्रो खेलमा दुई गोल गरे । त्यसै दिन भएको पहिलो खेलमा इटाली र क्रोएसियाबीचको खेल १–१ गोलको बराबरीमा सकियो । क्रोएसियाका विरुद्धमा आन्द्रेई पिर्लोले फ्रि–किकमा सानदार गोल गरे ।  युरोकप २०१२ मा पहिलो चरणको पहिलो खेलमा नाम चलेका स्टार सबै नजमे पनि दोस्रो खेलसम्म आइपुग्दा नै धेरै स्टारले नामअनुसारकै प्रदर्शन गर्न थालेका छन् । महँगो रकममा बेलायती क्लब चेल्सीमा आबद्ध भएका फर्नान्डो टोरेसले इटालीसँगको पहिलो खेलमा दुई राम्रा अवसर गुमाएपछि उनी आलोचनाको सिकार भएका थिए । बिहीबारै भएको खेलमा पिर्लोको गोलले इटालीलाई अग्रता दिलाएको थियो । इटालीलाई सन् २००६ को विश्व विजेता बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पिर्लोले गत महिना युभेन्ट्सले इटालियन सेरी ए उपाधि जितेपछि आफू अझै पनि विश्वस्तरको मिडफिल्डर भएको र आफूलाई कम नआक्न चेतावनी दिइसकेका थिए । पहिलो खेलमा भने उनी त्यति प्रभावकारी देखिएका थिएनन् । युरोकपका समूह ‘ए’ ‘बी’ र ‘सी’मा रहेका टोलीले दुई खेल खेलिसक्दा धेरै स्टारले दुवै खेलमा उत्तिकै राम्रो प्रदर्शन गर्न सकेनन् । एकाध स्टार मात्र दोस्रो खेलमा चम्किए । प्रतिभाशाली संघर्षशील तीन खेलाडी यो युरोकपमा त्यत्तिकै जमेका छन् ।

मारियो गोमेज : बायर्न म्युनिखका मारियो गोमेज जर्मनीेले हात पारेको दुवै खेलमा नायक बने । दुई खेलमा ६ अंक बटुल्ने क्रममा प्रशिक्षक जोचिम लोउको टोलीले तीन गोल गरेको छ । यी तीनै गोल गोमेजले नै गरेका हुन् । क्षमतावान् हुनुका बाबजुद उनलाई पहिलो खेलमा नै बेन्चमा राख्दै अनुभवी स्ट्राइकर मिरोस्लाभ क्लोसलाई मौका दिने चर्चा पनि नचलेको होइन । ठूला प्रतियोगिातमा राम्रो अवसर पाएर यसलाई पुष्टि गर्नका लागि गोमेजले लामो समय पर्खिएका थिए । स्पेनिस मुलका गोमेज २१ वर्षको उमेरमै जर्मनीर्का घरेलु फुबटलका उत्कृष्ट खेलाडी मानिन्थे । सन् २००६ –०७ मा स्टुगार्टलाई घरेलु लिगको च्याम्पियन बनाउने क्रममा उनले १४ गोल गरे भने सात एसिस्ट पनि । त्यसपछि उनी जर्मन फुटबलर अफ द इयर घोषित भए । त्यसको एक वर्षपछि उनी स्टुगार्टमै रहे । तर, टोलीका अन्य खेलाडीले स्तरीयता कायम राख्न सकेनन् । उनले भने १९ गोल गरे । २४ गोल गरेका लुकाटोनीभन्दा पछि रहँदै उनी दोस्रो सर्वाधिक गोलकर्ता बने । तर, जर्मन कपमा भने उनी ६ गोल गर्दै शीर्ष गोलकर्ता बन्न सफल भए ।
२००९–१० को सत्रमा उनी जर्मन फुटबलको कीर्तिमानी रकममा स्थानन्तरण हुँदै बायर्न म्युनिख पुगे । वायर्नमा उनको पहिलो सत्र भने सुखद् हुन सकेन । म्युनिखमै बिताएको दोस्रो सत्रमा भने उनी जर्मन बुन्डेसलिगाको शीर्ष गोलकर्ता भए । त्यसै सत्र गोमेजले बुन्डेसलिगामा १३औं ह्याट्रिक पूरा गरे । च्याम्पियन्स लिगमा गोमेजले आठ गोल गरे । त्यसपछिको च्याम्पियन्स लिगमा उनले गरेको सानदार प्रदर्शन भने फुटबलमा चासो राख्नेका लागि सधैँ स्मरणीय रहनेछ । म्यानचेस्टर सिटीसँगको पहिलो चरणको खेलमा दुई गोल गरेका गोमेजले ह्याट्रिक गरेपछि बायर्नले नेपोलीलाई पनि ३–२ ले पराजित गरेको थियो । एफसी बासेलसँग पहिलो लेगमा १–० ले पराजित वार्यनले दोस्रो खेलमा ७–० को जित हात पार्‍यो । गोमेज एक्लैले चार गोल गरे । मार्सेलीसँगको खेलमा गोल गर्दै उनले एकै सत्रको च्याम्पियन्स लिगमा गोलसंख्या ११ पुर्‍याए । रियल म्याड्रिडसँगको पहिलो लेग सेमिफाइनलमा वार्यनलाई २–१ को जित दिलाउने क्रममा गोमेजले निर्णयक गोल गरेका थिए ।

एलन जागायेभ : समूह ‘ए’मा रहेको रुसले बलियो मानिएको चेक गणतन्त्रलाई ४–१ ले पराजित गर्दा एलन जागायेभले दुई गोल गरे । जागायेभले नै पोल्यान्डसँगको खेलमा पनि गोल गरे । २००६ मा १६ वर्षको उमेरमा रुसको पायनियर क्लब सिएसकेए मस्कोमा आबद्ध जागायेभले त्यसको दुई वर्षपछि रुसको वर्ष युवा फुटबलरको पुरस्कार पाए । संघर्षशील बाल्यकाल बिताएका जागायेभ सामान्य रुसी परिवारमा जन्मेर सडकमै फुटबल खेल्दै हुर्केका थिए । उनकी आमाले उनलाई युवा फुटबल क्लबमा २००० मा पुर्‍याएकी थिइन् । पछि उनले त्यहीँ फुटबल खेल्न सिकेका थिए । २००८ मै उनी सिएसकेएको महत्त्वपूर्ण मिडफिल्डर बनेका थिए । पेरिस सेन्ट पिटरबर्गसँग युएएफा कपको खेलमा म्यान अफ द म्याच भएपछि अन्य ठूला क्लबले समेत उनीमाथि आँखा लगाउन थालेका थिए । त्यसको लगत्तै रियल म्याड्रिडले चासो देखाए पछि उनले आआफू केही समय रुसी लिग खेल्ने र त्यसपछि मात्र बाहिरी क्लबमा जाने बताएका थिए । म्यानचेस्टर युनाइटेडसँगको च्याम्पियन्स लिग खेलमा साँघुरो कोणबाट गोल गरेका जागायेभले युरापेली प्रतियोगितामा इन्टर मिलान र रियल म्याड्रिडसँग पनि गोल गरे । क्लब फुटबलमा सानदार प्रदर्शन गरेपछि उनी सन् २०१० मा जर्मनीसँगको विश्वकप छनोट खेलमा क्रोएसियाको राष्ट्रिय टोलीमा समवेश भए । १८ वर्ष ११६ दिनमा अन्तर्राष्ट्रिय खेल खेलेका जागायेभकै बारे तत्कालीन प्रशिक्षक गुस हिडिन्कले चतुर पास र सटिक प्रहारकै कारण जागायेभ एक दिन ठूलो स्टार बन्ने घोषणा गरेका थिए ।

मारियो मान्डुजकिक : उल्फ्सवर्गका लागि व्यावसायिक फुटबल खेल्ने क्रोएसियाका मारियो मान्डुजकिकले यस युरोकपमा तीन गोल गरिसकेका छन् । आयरल्यान्डसँगको पहिलो खेलमा दुई गोल गरेका मानडुजकिकले इटालीसँगको दोस्रो खेलमा पनि अंक बाड्ने क्रममा गोल गरे । सन् २००७ मा ब्राजिलियन फरवार्ड एडुडुवोरो डी सिल्भाको स्थानमा डायनामो जाग्रेबले मान्डुजकिकलाई भित्र्यायो । क्लबको निर्णय सही साबित गर्ने क्रममा उनले पहिलो सत्रमा १२ र ११ एसिस्ट गरे । अनुशासनहीनताको आरोप लाग्ने गरेको विवादमा पर्ने मानडुजकिक डायनामोमा आउँदा एकदमै कम मूल्यमा अनुबन्ध भएका थिए । २००८–०९ को सत्रमा १६ गोल गर्दै क्रोसियन लिगका शीर्ष गोलकर्ता बने । जर्मन क्लब वेडर ब्रेमनले उनलाई १ करोड २० लाख डलर तीर्न राजी भए पनि उनका लागि डायनामोले १ करोड ५० लाख डलर माग गर्‍यो । त्यसको लगत्तै एन्डरलेकसँग घरेलु भूमिमा भएको खेलमा कमजोर प्रदर्शनका कारण उनलाई जरिवाना गरियो । सन् २००७ मा क्रोएसियाको राष्ट्रिय टोलीमा प्रवेश पाएका उनले २००८ मा भएको विश्वकप छनोट खेलमा इंग्ल्यान्डविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरे । त्यसपछि उनले नर्वे, टर्की, जर्जिया र लाट्भियासँगको खेलमा गोल गरे । (एजेन्सी)

प्रतिक्रिया