अरुलाई कम्युनिस्ट नदेख्ने वामपन्थी

परी थापा नेपालको वाम राजनीतिमा सुपरिचित पात्रको नाम हो । कुनैबेला चित्रबहादुर केसीकै सान्निध्यमा राजनीति गरी लामो समय बाग्लुङका जनप्रतिनिधि रहेका यी थापालाई माओवादीले निकै लखेटेको थियो । उनकी पत्नीका खुट्टा भाँचिदिएको थियो माओवादीले । उनकै सहयात्री नवराज सुवेदी ‘सबैभन्दा ठूलो दल’ एमाओवादीको शरणमा पुगे, यी अझै नेकपा एकीकृतको पोलिटब्युरोमा छन् । उनलाई लाग्छ, माओवादीले नै परिवर्तनको एजेन्डा बोकेको छ । कतै उनले पनि नवराज मार्गतिर हेरेका छैनन् ? पार्टीगत एकता गर्नुपर्छ भन्ने छैन, कार्यगत एकता गरेर एकै ठाउँमा उभिन पनि सकिन्छ भन्नेबाट उनको लक्ष्य बुझ्न सकिन्छ । यसपटक यिनै परी थापासँग समसामयिक कुराकानी भए । ०५१ सालमा भएको अल्पमतको सरकारपछि नेपाली राजनीतिमा विचारधाराको अवसान नै भएको निष्कर्ष निकालेका चिर सांसद परी थापासँगको कुराकानीको संक्षेप :
ब्रिटिस लाहुरेको छोरा । सानोमा आफू पनि बाबुजस्तै लाहुरे बनूँला भन्ने थियो र त्यस्तो रहर उनलाई सात कक्षा पढ्दासम्म टुटेन । आफ्ना दौतरी लाहुरे हुन गल्लावालाकहाँ धाउँदा यिनी पनि जान्थे तर प्रतिस्पर्धामा भने कहिल्यै पनि सामेल भएनन् । लाहुरे होइन, बरु धैरै पढेर प्रोफेसर हुन्छु र सबैलाई चेतना बाँड्छु भन्ने सोचेका थिए, परी थापाले । अझ उनलाई पिएचडी गरेर नामको अगाडि डाक्टर थप्न मन थियो । उनी प्रोफेसर त भएनन् तर पार्टीका कार्यकर्तालाई बेलाबेला राजनीतिक दर्शन भने पढाउँछन् । परी थापा हाल नेकपा एकीकृतका पोलिटब्युरो सदस्य हुन् ।
‘मैले राजनीति नगरेको भए पक्कै प्रोफेसर हुन्थेँ, अहिले पनि पार्टीको भेला प्रशिक्षणमा राजनीतिक दर्शन, राजनीतिक शास्त्र पढाउँदा मलाई आनन्द आउँछ र म सक्छु पनि’ भन्छन् । पहाडका आदिवासी जनजाति विदेशी सेनामा भर्ती गर्नाले पछाडि परेको उनको ठहर छ  । ‘भर्ती प्रक्रियाले राजनीतिक, आर्थिक, शैक्षिक, रूपमा यो समुदाय पछाडि पर्छ । पढ्नु पनि नपर्ने अलिअलि साक्षर भए पुगिहाल्ने’ परी भन्छन्, ‘यसले उनीहरूलाई सामाजिक मान्यता प्रदान गर्दैन ।’ यसबारे उनले धेरै नै अध्ययन पनि गरेका छन् ।
स्कुल पढ्दा जान्ने विद्यार्थीमा गनिने परी वामपन्थीहरूको संगतमा परेपछि त्यतैतिर प्रभावित भए । त्यतिबेला बाग्लुङमा वामपन्थीहरूको प्रभाव थियो । नेतृत्वले अब्बल विद्यार्थीलाई खोजी सम्पर्कमा राख्ने प्रयास गर्थे । चौध–पन्ध्र वर्षको किशोरवयका नौ कक्षामा पढ्दै गरेका उनी अनेरास्ववियुप्रति आकर्षित भए । उनलाई गुरुहरूले विद्यालयको किताब मात्र होइन, राजनीतिक दर्शन पनि पढाए । दस कक्षाको पढाइसँगै कम्युनिस्ट पार्टीको सदस्य भएका उनी लगातार दुई दशक नेपालको विधायक पनि भए । त्यो ठाउँ लिनेहरूमा कुल आठ–दसजना रहेको बताउँछन् उनी । विद्यार्थी राजनीति गर्ने क्रममै उनले सिद्धान्त र दर्शनको अध्ययन गरे ।
परीका अनुसार उनले राजनीति सुरु गर्दाको समय अहिलेको जस्तो बिल्कुलै थिएन । राजनीतिमा यतिविघ्न अस्वस्थ प्रतिस्पर्धा थिएन । जातीय र क्षेत्रीय नारा थिएनन् । मुलुक र जनताका लागि अनावश्यक भइसकेको राजतन्त्रको विरोध गर्नुपर्छ भन्ने मान्यता थियो ।
आफ्नो राजनीतिक जीवनयात्रामा जेलको अनुभव धेरै नै गरेछन् । उनका लागि मुद्दा मामिला झेल्नु पनि सामान्य थियो । ०४१ सालमा पोखरामा बिए पढ्दाको घटना उनको स्मृतिमा कहिल्यै नमेटिने गरी टाँसिएको छ । भन्छन्– ‘त्यति बेला मोटो मसाल र पातलो मसाल थिए, हामी पातलो मसालमा थियाँै, मोटो मसाल पक्षका साथीहरूले राजाका टाउकोमा साँढेको शरीर बनाएर त्यसलाई खुकुरीले काटेको र राजतन्त्र मुर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद लेखेर टाँस्नु भएछ । त्यसमा मसहित धैरै साथीले मद्दा खेप्नुपर्‍यो ।’
उनले राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा धेरै नै खेपे । २०५१ सालमा प्रहरीले गिररुतार गरेर राजकाजविरुद्धको मुद्दा लगायो । ‘त्यतिबेला मलाई लाग्यो, जे होला होला राजनीतिमै होमिनुपर्‍यो, अर्को मनले आत्मसमर्पण गर्न उक्साउँथ्यो ।’ तर, उनको मनले पहिलो सोचाइलाई रोज्यो, जसले उनलाई यहाँसम्म ल्याइपुर्‍याएको छ ।
उनका समकालीन साथीहरूमध्येका धेरैजना मन्त्री भई सत्ता र शक्तिको स्वाद चाखिसके । हुन त उनलाई पनि त्यस्तो सुअवसर नआएको होइन, धैरैले आग्रह गरे तर उनको मनले सत्तालाई कहिल्यै प्राथमिकतामा राखेन । उनको विचारमा सत्तामा जानु ठूलो कुरा होइन, सैद्धान्तिक निष्ठा पहिलो कुरा हो । ‘मलाई त लाग्छ, सत्तामा गएर आफ्नोबाहेक के नै गर्न सकुँला ? के हामी प्रधानमन्त्री चलाउन सक्दैनौँ र ? तर कुरा विचारको हो’ –उनको टिप्पणी थियो । आफूले भोगेको अनुभव र देशको राजनीतिक अवस्थालाई समेटेर किताब लेख्ने मुडमा छन् थापा । नेपालको राजनीति नै परिपक्व लाग्दैन उनलाई । ‘एउटा पुस्ता त राम्ररी फाटेको छैन अनि कसरी परिपक्व हुन्छ राजनीति ?’ उनी प्रतिप्रश्न गर्छन् ।
‘कम्युनिस्ट पार्टीका चारजना संस्थापकमध्ये एक नरबहादुर कर्माचार्य छँदै छन् । कांग्रेसमा पनि पुस्ता परिवर्तन भएजस्तो  छैन । विचार र सोचमा परिवर्तन हुनुपर्‍यो नि, त्यो छैन । जब राजनीति परिपक्व हुँदैन सरकारको संरचनामा पनि परिवर्तन हुँदैन ।’ परी थापाको निष्कर्ष यस्तो छ, ‘हामी त राजनीतिक नेता कार्यकर्ताको हिसाबले एकले अर्कोलाई आलोचना, गाली गरौँला तर देशको वस्तुस्थितिका बारेमा राजनीतिशास्त्री र इतिहासविद्हरूले केलाउने बेला भएको छ । अहिले उनीहरूले स्वतन्त्र रूपमा पछिल्लो राजनीतिक परिस्थितिबारे सोच्ने र सहजकर्ता बन्ने बेला हो ।’
राजनीतिशास्त्री र विश्लेषकमा देखिने राजनीतिक गन्ध उनलाई पनि पटक्कै मन पर्दैन । जबर्जस्ती पार्टीको पछाडि लाग्नुपर्छ भन्ने गलत मान्यताको विकास पञ्चायतकै पालादेखि भएको र राज्य व्यवस्थित र जवाफदेही हुन नसक्नाले यस्तो भएको उनको धारणा छ ।
जनजाति नेताहरूले जनजाति पार्टी खोल्न लागेको हो ? यस प्रश्नमा उनको भनाइ छ– ‘पार्टी भनेको विचारधारात्मक हुन्छ । विचार, सिद्धान्त हुन्छ र राजनीतिक हुन्छ । हामीले उठाएका अहिलेका मुद्दा उत्पीडित क्षेत्र, वर्ग, लिंगप्रतिको सम्मानजनक व्यवहार हो । राजनीतिक दलहरूले ती कुरालाई सम्बोधन गर्न नसकेकोले नै जनजाति नेताहरू अगाडि बढेका हुन् । विचारधाराको आधारमा चलेको भन्ने पार्टीहरूले समयमै यस्ता कुराहरूलाई ध्यान दिएनन् भने जातीय मुद्दामा आधारित पार्टीहरू खुल्न पनि सक्छन् । त्यो हाम्रो रहर भने होइन ।’
कम्युनिस्ट नेताहरूले जातीय कुरालाई प्राथमिकता दिन मिल्ला ? थापा भन्छन्– ‘कम्युनिस्टहरूले मुख्य ध्यान त वर्गीय समस्यालाई नै दिनुपर्ने हो तर नेपालको सन्दर्भमा जातीय समस्या पनि प्रखर भएर आएको छ । कम्युनिस्ट पार्टीहरूले आफूलाई सिद्धान्तमा अगाडि बडाउन नसकेकाले यस्तो अवस्था आएको हो ।’
थापाका विचारमा यो जातीय, धार्मिक, वर्गीय, भाषिक, सामाजिक र सांस्कृतिक मुद्दालाई सम्बोधन गर्न नसक्दा आएको समस्या हो । उनलाई लाग्छ, नेपालमा कम्युनिस्ट पार्टीलाई समर्थन गर्ने ठूलो समुदाय हुँदाहँुदै पनि नेताहरूले जनताको मन भने जित्न सकेनन् । आदिवासी जनजातिलाई समेट्ने सवालमा कम्युनिस्ट नेताहरू सिपालु नभएको उनको बुझाइ छ ।
‘कम्युनिस्ट नेता निम्नजातीय, निम्नवर्गीय, निम्नधार्मिक हुनुपर्ने लाग्छ तर म त्यस्तो देख्दिनँ । मैले संगत गरेका कुनै पनि नेता सैद्धान्तिक र दार्शनिक रूपमा कम्युनिस्ट छैनन् । अझ द्वन्द्वात्मक भौतिकवादी कोही पनि छैन, सबै आदर्शवादी छन्’ –परी भन्छन् ।
तपाईंहरूलाई माओवादीको नजिक भएको आरोप लाग्छ नि ? भन्ने प्रश्नको प्रतिवाद उनले यसरी गरे– ‘नेपालमा जसलाई जे भन्न पनि छुट छ । दार्शनिक, सैद्धान्तिक रूपमा जो जसको पनि नजिक हुन सक्छ । तर, कोही कसैको नजिक वा टाढा हुँदैन । अरूले भन्दा माओवादीले नै परिवर्तनको एजेन्डा बोकेको छ । त्यस्तो भूमिका अरूले खेले पनि उनको पार्टीले पनि खेले पनि संघीय लोकतान्त्रिक धर्म निरपेक्ष गणतन्त्र ल्याउन प्रमुख भूमिका माओवादीको रहेको छ ।’
कम्युनिस्ट पार्टीहरू एकै ठाउँमा उभिन र एकतामा पुग्न नसक्नुका कारणबारे खुलाउँदै थापा भन्छन्– ‘कम्युनिस्ट पार्टीको महासचिव भएको मान्छे पनि त आफ्नो फाइदाका लागि दरबारको पछि लागे । सिद्धान्तभन्दा स्वार्थलाई केन्द्रभागमा राख्ने परम्पराले नै सबै समस्या सिर्जना गरेको हो । विचारमा जब मान्छे प्रस्ट हुँदैन यस्ता समस्या आइरहन्छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मान्ने पार्टीहरू एक ठाउँमा बसेर काम गर्न सकिन्छ, त्यसका लागि पार्टी एकता नै गर्नुपर्छ भन्ने छैन । फेरि नेपालमा कम्युनिस्ट मात्र फुटे भन्नु गलत हो,  अरू पार्टी पनि त फुटेका छन् । सुधारवादी पार्टी राप्रपा पनि त फुटेको छ ।’ सत्ता पाएपछि जोसँग पनि मिल्ने प्रवृत्तिले देशमा समस्या निम्त्याएको उनलाई लाग्दो रहेछ ।
०५१ सालमा भएको अल्पमतको सरकार (हङ पार्लियामेन्ट) पछि नेपाली राजनीतिमा विचारधाराको अवसान नै भएको उनको बुझाइ छ  । त्यसपछिका दिनमा सरकारमा जानका लागि जे पनि गर्ने प्रवृत्तिको विकास भएको र सुधारवादी पार्टी र लोकतान्त्रिक पार्टी मिलेर अगाडि बढ्न थालेपछि मुलुक अगाडि बढ्दै नबढ्ने उनले बताए । उनको विचारमा मूल्य र मान्यता नै नमिल्ने पार्टी सँगै हिँड्न खोजे ।
‘अस्ति हेर्नुस् न कांग्रेस र एमाले सरकारमा गए, एक–एक थान उपप्रधानमन्त्री खाए, सरकारमा किन गयो पनि थाहा छैन, अर्को दिन किन छोड्यो पनि थाहा छैन । एउटा उद्देश्य त हुनुपर्छ नि †’, परीले दृष्टान्त प्रस्तुत गरे ।
उनी संविधानसभा भंग हुनुलाई सामान्य भन्छन् । अब प्रस्ट भएर जनतामा जान लाज मान्न नहुने र जनतासँग भागेर वा लाज मानेर राजनीति पनि गर्न नसकिने उनले बताए । अबको चुनावमा भने संवैधानिक संकट देख्छन् उनी । चुनाव हुनेमा ढुक्क छैनन् । फेरि चुनावले नै सबै समस्या समाधान हुने के ग्यारेन्टी ? जनतालाई चाहिएको संघीय गणतान्त्रिक मुलुकको संविधान हो, त्यसका लागि छलफल भइरहेको र समाधान हुनेमा उनको विश्वास छ ।
–चमिना भट्टराई

प्रतिक्रिया