स्पेन र इटालीले अंक बाँडे


वार्सा, ३०  जेठ । युरो कप २०१२ मा साबिक विजेता स्पेनलाई बराबरीमा रोकेर ‘कमजोर’ आंकलन गरिएको इटालीले आफ्नो स्तरीय फुटबल चरित्र देखाएको छ ।
समूह सीअन्तर्गत आइतबार इटाली र स्पेनबीच १–१ ले बराबरी हँुदा सोही राति अर्को समूहमा रहेको क्रोएसिया आयरल्यान्डलाई ३–१ ले हराएर शीर्षस्थानमा रह्यो । क्रोएसियाविरुद्धको खेल आयरल्यान्डका लागि सर्वाधिक म्याच खेलेका से गिभनका लागि बिर्सनलायक रह्यो । खेल सुरु भएको तेस्रो मिनेटमा घाइते भएका गिभन घुँडा र कापको समस्याका कारण प्रतियोगिताका बाँकी खेलमा उपस्थित हुने/नहुनेमा अन्योल देखिएको छ ।
घरेलु क्लब फुटबल म्याच फिक्सिङ प्रकरणमा फसिरहेका बेला युरो कपको पूर्वसन्ध्यामा खेलिएको मैत्रीपूर्ण म्याचमा रुसविरुद्ध ३–० ले पराजित हँुदै सुरुआतमा ओझेलमा परेको इटालीले स्पेनविरुद्ध राम्रो प्रदर्शन गरी आफूविरुद्धका सम्पूर्ण पूर्वानुमान  गलत साबित गर्‍यो ।
प्रशिक्षक सिजर प्रान्डेलीले कम प्रभावकारी देखिएका मारियो ब्यालोटेलीलाई प्रतिस्थापन गरी मैदान प्रवेश गराएका एन्टोनिओ डी नाटालेले मैदान प्रवेश गरेको पाँच मिनेट पनि बित्न नपाउँदै गोल गरी इटालीलाई अग्रता दिलाएका थिए । यद्यपि त्यसको तीन मिनेटपछि नै सेस फाब्रिगासको गोलमार्फत विश्वकप विजेता स्पेनले खेललाई बराबरीमा ल्याइपुर्‍यायो ।
‘आजको खेल निकै कठिन रह्यो किनभने हाम्रो सामु विश्वविजेता थियो,’ खेलपछि इटालीका प्रशिक्षक प्रान्डेलीले भने, ‘तर हामी त्यहीँं मैदानमा थियाँैं र हामी खेल्न चाहन्थ्यौँं ।’ उनले स्पेनलाई अवसर दिएका कारण गोल सामना गर्नुपरेको बताए । ‘हाम्रै गल्तीका कारण स्पेनले गोल गर्‍यो । यसलाई नै हामीले सच्याउनुपर्छ आगामी खेलमा,’ उनले अगाडि थपे ।
प्रान्डेलीका स्पेनी समकक्षी भिसेन्ट डेल बोस्क्युले इटालीले गरेको प्रदर्शनको तारिफ गरे तर फर्नान्डो टोरेस र अल्भारो नेग्रेडोजस्ता स्ट्राइकरलाई सुरुआतदेखि बेन्चमा राखेर गल्ती गरेको आरोप भने स्वीकार गरेनन् । स्पेनको टोलीमा कुनै पनि स्ट्राइकर थिएनन्, फर्वार्ड मात्र थिए ।
सन २०१० को विश्वकपमा समूह चरणको पहिलो खेल स्विजरल्यान्डविरुद्ध खेल्नेक्रममा १–० ले पराजित भए पनि स्पेन विजेता भएको थियो । युरो कपको इतिहासमै सबैभन्दा वृद्ध प्रशिक्षक रहेका आयरल्यान्डका ७३ वर्षीय जिओभानी ट्रापाटोनी क्रोएसियाविरुद्धको नतिजापछि निरास देखिए । आठ वर्षअघि सम्पन्न संस्करणमा इटालीलाई प्रशिक्षण गरेका ट्रापाटोनीको उक्त टोली कुनै खेल नहारे पनि समूह चरणबाटै बाहिरिएको थियो ।  खेलको तेस्रो मिनेटलगत्तै क्रोएसियाले अग्रता लिएको थियो ।
मारिओ मेन्डजुकिकले खेलको सुरुआतमै गोल गरी आयरल्यान्डलाई दबाबमा राखेका थिए । १९ औँ मिनेटमा आयरल्यान्डले खेललाई बराबरीमा ल्याइपुर्‍याए पनि लगत्तै क्रोएसियाले दोस्रो पटक अग्रता लिएको थियो । आयरल्यान्डका लागि सिन सेन्ट लेडगरले हेडमार्फत गोल गरेका हुन् । तर २२ आँै मिनेटमा निकिका जेलाभिकले क्रोएसियालाई अग्रता दिलाए । दोस्रो हाफमा मेन्डजुकिकले गोल गरी क्रोएसियालाई ३–१ को स्थितिमा पुर्‍याएका थिए ।

प्रतिक्रिया