पूर्वप्रम थापाको स्वास्थ्यमा सुधार

काठमाडौं, २९ जेठ । अचानक मुटुको गति बन्द भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्य स्थितिमा सुधार आएको छ । थापाका प्रेस सल्लाहकार किरण गिरीले पूर्वप्रधानमन्त्री थापाको स्वास्थ्य स्थितिमा धेरै सुधार आएको जानकारी गराएका छन् । गिरीका अनुसार थापाले आइतबार दिउँसोदेखि सामान्य कुराकानी गर्न थालेका छन् । ‘आइतबार दिउँसोदेखि उहाँले सामान्य कुरा गर्न थाल्नुभएको छ तर डाक्रटहरूले उहाँलाई धेरै नबोल्न सल्लाह दिएका छन्,’ उनले भने ।

थापाको मुटुमा स्थायी पेसमेकरको प्रत्यारोपण कार्य सफल भएको उनले बताए । थापाको उपचार गर्न भारतबाट आएका डा. रवि कासकिवालसहितको टोलीले आइतबार बिहान स्थायी पेसमेकर प्रत्यारोपण गरेको हो । मुटुको चाल सञ्चालनमा सहयोग पुर्‍याउने स्थायी पेसमेकरको प्रत्यारोपणपछि थापाको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले जानकारी दिए । डा. रावतका अनुसार स्थायी पेसमेकरको शल्यक्रिया भारतबाट आएका पेसमेकरसम्बन्धी विशेषज्ञ चिकित्सक डा. मुकेन्दर चौहानको सहयोगमा भएको थियो ।
डा. चौहानका अनुसार आइतबार जडान गरिएको पेसमेकरले ८ देखि १० वर्षसम्म काम गर्नेछ । शनिबार बिहान ९ बजेर ४५ मिनेटमा अचानक ‘हार्ट एरेस्ट’ भएर उपचारका लागि अस्पताल भर्ना भएका थापालाई कृत्रिम श्वासप्रश्वास दिएर मेकानिकल भेन्टिलेटरमा राखिएको थियो । अचानक बेहोस भएर ढलेका थापालाई शनिबार बिहान १० बजे अस्पताल पुर्‍याउँदा नाडीको गति, रक्तचाप, श्वासप्रश्वास नभएको अवस्था थियो ।
८६ वर्षीया थापा मुटुसम्बन्धी पुरानै रोगी हुन् । उनको २२ वर्षअघि अमेरिकामा ओपन हार्ट शल्यक्रिया भएको थियो । उनको केही समयअघि नभिर्कमै कोरोनरी एन्जियोग्रामसमेत गरिएको थियो ।

प्रतिक्रिया