प्रशासनका कार्यक्रम बहिष्कार

दैलेख, २४ जेठ । हत्याको पाँच वर्ष पुग्दा पनि पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्नलाई कानुनी दायरामा नल्याएको भन्दै दैलेखका पत्रकारले प्रहरी प्रशासनका कार्यक्रम बहिष्कार अभियान चलाएका छन् । इलाका प्रहरी कार्यालय नौमुलेको नवनिर्माणाधीन भवनको उद्घाटन गर्न पुगेकी डिआइजी पार्वती थापाको कार्यक्रमसमेत पत्रकारले बहिष्कार गरेका छन् ।
०६१ असारमा नेकपा (माओवादी)ले खानेपानीको विवाद मिलाउन भन्दै बोलाइएका रेडियो नेपालका संवाददाता थापालाई अपहरण गरेर २७ साउनमा हत्या गरेका थिए । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसकेको, परिवारलाई राहत र पत्रकार थापालाई सहिद घोषणा नगरिएको विरोधमा पत्रकारले डिआइजी थापालाई जानकारी गराउँदै मंगलबारबाट प्रशासन र प्रहरीका सबै कार्यक्रम बहिष्कार गरेको बताएका छन् । ३२ प्रहरीको ज्यान जाने गरी भएको आक्रमणमा ध्वस्त इलाका प्रहरी कार्यालयको भवन उद्घाटन गर्न पुगेकी डिआइजी थापासँग पत्रकारले आफ्ना माग राखेका थिए ।
अपहरणपछि हत्या गरिएका थापाको शवसमेत माओवादीले बेपत्ता पारेका थिए । नेपाल पत्रकार महासंघ दैलेखका निवर्तमान अध्यक्ष विष्णु शर्माको कार्यकालमा पत्रकार र मानवअधिकारवादीको सक्रियतामा ०६४ मा उनको शव उत्खनन गरेर पीडित परिवारलाई दिइएको थियो । थापाको दाहसंस्कारपछि पत्नी लक्ष्मीले चारविरुद्ध १४ भदौ ०६४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएको पाँच वर्ष बित्दा पनि स्थानीय प्रशासनबाट काम नभएपछि दैलेखका पत्रकार पुन: आन्दोलनमा उत्रेका हुन् ।
पत्रकारले नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालयले समेत थापा हत्यालाई ओझेलमा पारेको बताएका छन् । डिआइजी थापाले पनि हत्याका अभियुक्त पक्राउ पर्ने आश्वासनमात्रै दिएकाले उनको कार्यक्रम बहिष्कार गरेर आन्दोलनमा उत्रिनुपरेको महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले बताए ।

प्रतिक्रिया