स्वीकारोक्ति

मेरो नाम सुनील पोखरेल हो । म माझकिराँतमा हुर्किएको हुँ । म जुन जात/थरमा जन्मिएँ, हुर्किएँ– त्यो मैले छानेको होइन । जन्मको जातले म बाहुन हुँ । मलाई त्यसमा गर्व छैन तर ग्लानी पनि छैन । किनभने म जात मान्दिनँ । कामको हिसाबले म आफूलाई दलित मान्छु ।
सानो छँदा पखाला लाग्यो भने मेरी बाहुनी हजुरआमाले मलाई ठूले बडा (ठूले राई) को घरमा कोदोको जाँडको छोक्रा खान पठाउनुहुन्थ्यो । बडा अब रहेनन् । तर, तिनको माया मेरो मनभरि छ । हामी चण्डिनाच (त्यो बेला साकेला सिली भन्नुपर्छ भन्ने थाहा थिएन) कुरेर बस्थ्यौँ ।

मेरी श्रीमती (निशा शर्मा) आधा नेवार आधा बाहुन हुन् । उनका बाबु बाहुन हुन् र आमा नेवार । विवाह गर्दा मेरो घरबाट ठूलो विरोध थियो । त्यो बिहेको निमन्त्रणा पत्र किशोर नेपाल दाजुको नाममा छापिएको थियो । बिहे भोज पनि उहाँले नै दिनुभएको थियो । प्रदीप गिरीले ब्यान्ड बाजाको खर्च दिनुभएको थियो । नारायण पुरीलगायत अरू रंगकर्मी साथीहरूले सबै व्यवस्थापन गरेका थिए । साथीभाइ बनाउने कुरामा हामी ‘बाहुन’ र अरू जात छुट्याउँदैनथ्यौँ । यो हाम्रो पुस्ताको कुरा हो है †
मेरा २ जना धर्म–छोरीहरू छन् । प्रमिला कटुवाल र निशा राई । प्रमिला गुरुकुलमा थिई । अहिले व्यापारको योजना बनाइरहेकी छे । अर्की छोरी निशा दिक्तेलमा १० कक्षामा पढ्छे । त्यसको आफ्नो फोन छैन । त्यसैले हामी फेसबुकमा कुरा गर्छौं । राजनीतिले हाम्रो सम्बन्धलाई अब के गर्छ– के थाहा ?

मेरा सबभन्दा प्रिय बाँचेका कविहरू बैरागी काइँला, श्यामल, विमल निभा, दिनेश अधिकारी, श्रवण मुकारुङ, बुद्धिसागर, उपेन्द्र सुब्बाहरू हुन् । त्यसमा पनि उपेन्द्र मलाई अत्यन्तै मन पर्छन् । तिनले थोरै लेखेका छन् तर गतिलो लेखेका छन् भन्ने मलाई लाग्छ । अब मैले तथाकथित बाहुन कविहरूलाई मात्र मन पराउनुपर्छ भन्ने दिन पनि आयो भने म त्यो दिनलाई बहिष्कार गर्छु । अथवा ? कवि पनि बाहुन र गैरबाहुन हुन्छन् र ? म
अज्ञानी छु ।
म खोटाङमा जन्मिएँ । ८ कक्षासम्म त्यही पढेँ । पछि हामी विराटनगर भन्दा १६ किमीपूर्व एउटा गाउँमा बसाइँ सर्‍यौँ । म विराटनगर निकै वर्ष बसेँ, पढेँ । त्यसपछि म राजधानी आएँ । यतै बिहे गरेँ र घरजम गरेँ । कृपया कसैले भनिदियोस्– अब म कुन राज्यको नागरिक हुँ ? मेरो छोरा १८ वर्षको भयो । अब म उसको कुन राज्यबाट नागरिकता निकालूँ ? (उसले धर्म र जातमा विश्वास गर्दैन, माफ पाउँm)

म सांस्कृतिक विविधतामा विश्वास गर्छु । संघीयतामा विश्वास गर्छु । यो हाम्रो शक्ति हो जस्तो मलाई लाग्छ । एकल जाति भएका युरोपेली राष्ट्रहरूलाई हाम्रो विविधतासँग डाहा लाग्छ । अस्ति, केदार शर्माले आफ्नो फेसबुकको भित्तामा लेख्नुभयो– ‘हामीले बडो यत्नका साथ हाम्रा छोराछोरीलाई धर्म, जात निरपेक्ष बनाएर हुर्काएका छौँ । कृपया यिनलाई बाहुन नबनाइदिनुहोस् ।’ (ठ्याक्कै शब्द यही नहुन सक्छ तर आसय यही हो) । सत्य हो, हामीले हाम्रा छोराछोरीलाई जात र धर्म सिकाएनौँ । नेपाल मात्र सिकायौँ । म नेपाली राष्ट्रियता र सद्भाव बिग्रियो भनेर मान्दिनँ । कहिलेकाहीँ उग्र नारा लाग्नु अस्वाभाविक पनि मान्दिनँ । तर, बाहुनहरू डरछेरुवा हुन्छन् भन्छन् । त्यसैले कहिलेकाहीँ मलाई पनि डर लाग्छ । (यो मैले थाहा नपाएको ‘बाहुन ग्रन्थी’ हुनसक्छ ।)

सिर्जनात्मक कलामा देश, जात, धर्म केही पनि हुँदैन । मैले धेरै धर्म र जातका मान्छेलाई रंगकर्म सिकाएको छु । यो मुलुकभर कतै पनि म भोकै बस्नुपर्दैन । कोही न कोही विद्यार्थी भेटिन्छन् । म ती विद्यार्थी र मित्रहरूलाई भन्न चाहन्छु– ‘साथी हो, जेसुकै गर्नोस् तर हामी मान्छे हौँ ।’ अधिकारसँगै कर्तव्यको पनि कुरा आउँछ भन्ने कुरा नबिर्सनु होला ।
असंगत कुराहरू हुन् । जीवन आफैँमा असंगत छ । राजनीतिको त कुरै नगरौँ । यो अप्ठेरो समयमा म यी शब्द किन लेखिरहेको छु, मलाई नै थाहा छैन । कसैको चित्त दुख्यो भने भूलचुक लिने दिने है ।

(नोट : दीपक † तिमीले भनेजस्तो नाटकबारे लेख्न सकिनँ । यो लेख पनि छोटो भयो, थाहा छ । राम्रो भएन, त्यो पनि थाहा छ । यो छापिएन भने पनि चित्त दुखाउँदिन । नाटकका बारेमा लेख्न मन लागेन मलाई । यस्तो बेला नाटकबारे के लेख्नु र ?)

प्रतिक्रिया