विगतझै राम्रो आशा जगाउँदै यु–१४ टोली


काठमाडौं, १० जेठ । एन्फा एकेडेमीको स्थापनाको सुरुआती परीक्षण र एकेडेमी स्थापनाको औचित्य पुष्टि गर्ने पहिलो महत्त्वपूर्ण खेल शृंखला सन् २००२ मा काठमाडांैमा सम्पन्न यु–१४ एसियन युथ फेस्टिवल थियो । एसियाली फुटबल महासंघ (एएफसी) को विकासोन्मुख राष्ट्रमा फुटबलको विकास मात्र होइन, त्यहाँका बालकले फुटबललाई रमाइलोको रूपमा ग्रहण गरून् भन्ने सोचका साथ फेस्टिवलको सोच अगाडि आएको थियो । यु–१४ फेस्टिवलले तीनचरण पार गरेको छ । एक दशकअघि काठमाडांैमा प्रतियोगिताको रूपमा आयोजना भएको यु–१४ स्पर्धा दोस्रोपटक फेस्टिवल र प्रतियोगिताको मिश्रित रूपमा रहयो । त्यसपछि नेपालले चारपटक इरानको र दुईपटक बंगलादेशको आतिथ्यता ग्रहण गर्दा र यसपछि आफैले आयोजना गर्दा यो शृंखला नितान्त फेस्टिवलको रूपमा रहेको छ ।
परिणाम र अंकलाई महत्त्व नदिइए पनि खेल भावनाको विकास र फेयर प्ले फेस्टिवलको मुख्य पाटो बन्यो । कोचिङ, रेफ्री कोर्स र सेमिनार फेस्टिवलका अन्य पाटा बने । अनुशासित र फेयर प्लेका लागि ग्रिनकार्ड दिइने प्रचलन एएफसी यु–१४ फेस्टिवलमा मात्र रहेको छ ।
एसियाली राष्ट्रलाई पाँच भूगोलमा विभाजन गर्दै गरिने फेस्टिवलमा हाल नेपाल साउथ जोनमा रहेको छ । यस जोनमा भुटान, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्ससहित ६ राष्ट्र छन् ।
फेस्टिवल नै भए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो परिणाम प्राप्त गर्न नसकेको नेपालका लागि यहाँ गर्ने प्रदर्शन महत्त्वपूर्ण रहने गरेको छ । यु–१४ फेस्टिवलको १० वर्षे यात्रामा एकेडेमीका बालखेलाडीले गर्ने प्रदर्शनले आमनेपालीका लागि राम्रो भविष्यको संकेत गर्दै आएको छ । यसअघि घरेलु भूमिमा भएका दुवै शृंखलामा सानदार प्रदर्शन गर्दै यु–१४ फेस्टिवलको उपाधि जित्दा सरोकारवाला र फुटबल समर्थकले सुखद् र सुनौलो भविष्यको परिकल्पना गरेका थिए । पहिलोपटक काठमाडौंमा यु–१४ फुटबल हुँदा त्यही टोलीका शिशिर अधिकारी नेपाली फुटबलकै क्लिन फिनिसरको रूपमा उदाएका थिए । त्यसै टोलीका नीराजन खड्का र सन्दीप राईको फुटबलिङ क्लास एसियाली स्तरकै भएको दाबी गर्नेको पनि कमी थिएन । सन् २००३ मा कोलकातामा भएको एएफसी यु–१७ फुटबल छनोटमा तिनै खेलाडीले सहभागिता जनाउँदा त्यो खेल हेर्ने भारतीय प्रशिक्षकहरूले राई र खड्का कुनै पनि भारतीय क्लबका लागि उपयुक्त हुन सक्ने विचार व्यक्त गरेका थिए । अन्तत: त्यो टोलीले पनि राष्ट्रिय टोलीको स्तर बढेको आभाष दिलाउन सकेन । कतिसम्म भने एन्फा एकेडेमीकै प्रतिभाशाली मानिएको दोस्रो ब्याचका नीराजन र सन्दीपबाहेक अन्य खेलाडीले राष्ट्रिय टोलीमा प्रवेश नै पाएनन् ।
दोस्रोपटकको यात्रामा त्यत्तिकै राम्रो फिनिसरका रूपमा नेपाली फुटबलमा उदाएका चेतन घिमिरे चोटबाट ग्रसित हुँदै लामो समयदेखि मैदानबाहिर छन् । त्यो टोलीका अधिक खेलाडीले राष्ट्रिय टोलीमा प्रवेश पाए पनि फुटबलको स्तर नै उकास्न भने सकेका छैनन् । उमेरसमूहमा स्तरीय प्रदर्शन र परिपक्व हँुदा उपयुक्त परिणाम दिन नसक्दा वर्तमान यु–१४ फेस्टिवलको त चर्चा नै कम हुन थालेको छ । प्रचारमा अत्यन्त रमाउने र राम्रो प्रचार संयन्त्र भएको अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले पनि यु–१४ फुटबल फेस्टिवलको प्रचारमा त्यति चासो दिएको देखिंदैन ।
त्यसो त काठमाडौंमा भएका तीनवटा संस्करणमा प्रशिक्षक टोलीमा रहेका सुनील श्रेष्ठ यो टोली नै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्छन् । उनले दाबी गरेअनुसार मंगलबार मात्र नेपाली टोलीले भारतको टोलीलाई ३–१ ले पराजित गर्न सफल रहयो । शृंखलाका अघिल्ला खेलमा पनि नेपाली यु–१४ टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । तथापि यस ब्याचबाट पनि सुन्दर भविष्यको परिकल्पना गर्न सकिन्छ भन्ने विश्वास भने कमैलाई छ । नेपाली फुटबललाई नजिकबाट नियाल्दै आएका फुटबलविज्ञ सञ्जीव मिश्र पनि श्रेष्ठको भनाइमा सहमत छन् ।
वर्तमान नेपाली फुटबलमा रोहित चन्द नै सबैभन्दा उत्कृष्ट खेलाडी भएको बताउने मिश्रकै विचारमा चन्दकै स्तरका चार या पाँचजना खेलाडीको सम्भावना भने त्यो टोलीमा छ । ‘अहिले पनि यु–१४ टोलीको खेलले हामीलाई आशावादी तुल्याएको छ । विगतमा नेपाली युथ फुटबल टोलीले आशावादी तुल्याए पनि त्यो स्तरीयता कायम रहन सकेन । हेरांै यो टोलीले के गर्छ ?’ मिश्रले भने ।
जसरी पहिलो संस्करणमा शिशिर अधिकारीले एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडीको कीर्तिमान कायम गरे, दोस्रोपटक चेतन घिमिरेको रूपमा उत्कृष्ट फिनिसर पायो, त्यसैगरी यस फेस्टिवलले विमल घर्तीमगरको रूपमा अर्को आशालाग्दो खेलाडी देखाएको छ । निश्चित छैन, उनी र उनका समकक्षी स्टारकै रूपमा रहने हुन् या अग्रजझैं उमेर परिपक्व हुँदा खेलस्तर गिर्दो हुने हो ।

प्रतिक्रिया