राखेपद्वारा खेल र जिल्लाहरूको वर्गीकरण

काठमाडौं, ६ जेठ । राष्ट्रिय खेलकुद परिषद्को ९२औं बोर्ड बैठक नेपाली खेलकुदलाई दूरगामी प्रभाव पार्ने केही नयाँ नीतिनियम र निर्देशिका पारित गर्दै सकिएको छ । बैठक बसेको भोलिपल्ट त्यसबारे शुक्रबार राखेप समीक्षालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव युवराज लामाले सो जानकारी गराएका हुन् ।
बैठकले प्राविधिक कार्यकारी बोर्डको निर्देशिका–२०६९, प्राविधिक कार्यकारी बोर्डबाट तयार पारिएको तालिम तथा प्राविधिक कार्यविधि–२०६९ र बाह्रौं दक्षिण एसियाली खेलकुद तयारी, सहभागिता तथा प्रशिक्षणसम्बन्धी निर्देशिका–२०६९ तथा आर्थिक गतिविधि–२०६९ पारित गरेको छ । साथै बैठकले राखेपको सांगठनिक संरचना तथा दरबन्दी चार्ट अनुमोदन गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यसअघि एथलेटिक्स र भलिबल खेल मात्र हुने गरेकोमा विद्यालय खेलकुदलाई अझ प्रभावकारी बनाउन कराते, तेक्वान्दो, उसु, फुटबल र क्रिकेट गरी पाँच खेल थप गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
प्राविधिक कार्यकारी बोर्डको निर्देशिकामा ‘अधिकतम जनसहभागिता, लोकप्रियता तथा राष्ट्रिय प्रतिष्ठाका आधारमा वर्गीकरण गरी प्राथमिकता निर्धारण गरिएका खेलहरू’ भनेर विभिन्न खेललाई चार वर्गमा बाँडिएको छ । यसअनुसार मेजर प्रायोरिटी (पी–वान) मा राखिएका खेलमा एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बक्सिङ, भलिबल, फुटबल, बास्केटबल र क्रिकेट छन् । त्यसैगरी प्रायोरिटी (पी–टु) मा परेका खेलमा जुडो, आर्चरी, सुटिङ, भारोत्तोलन, व्याडमिन्टन, टेबलटेनिस, कुस्ती, पौडी, कवड्डी, जिम्न्यास्टिक, बुद्धिचाल र शारीरिक सुगठन छन् । यस्तै, डेवलपिङ प्रायोरिटी (पी–थ्री) मा राखिएका खेलमा हयान्डबल, हक्की, साइक्लिङ, गोल्फ, स्क्वास, लनटेनिस, ट्रायथलन, इक्वेस्ट्रियन, सफ्टटेनिस र स्नुकर एन्ड विलियर्ड छन् । ‘पी–फोर’ भनेर चौथो वर्गीकरणमा ननअफिसियल खेलहरू राखिएको छ ।
यसैगरी, नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितालाई दृष्टिगत गरी विशेष प्रशिक्षण सञ्चालनका लागि प्राथमिकता निर्धारण गरी प्रस्ताव गरिएका खेलहरूमा क्रमश: एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बक्सिङ, जुडो, सुटिङ, कुस्ती र भारोत्तोलन छन् ।
प्रशिक्षण, प्रतियोगिता तथा अन्य खेलकुद गतिविधि सञ्चालनका लागि मौसम तथा प्रकृतिअनुकूल अवस्थाको महत्त्वपूर्ण प्रभाव रहने हुनाले ‘लो सिजन’ र ‘हाई सिजन’ को अवधारणाअनुसार खेलकुद कार्यक्रम सञ्चालन गर्न उपयुक्त देखिएकोले उक्त आधारमा खेलकुद गतिविधि सञ्चालन गर्ने भनिएको छ । यसअनुसार लो सिजन भन्नाले असार, साउन, भदौ र असोज गरी चार महिना छन् । उक्त अवधिमा खेलकुदसम्बन्धी विषयगत सेमिनार, गोष्ठी, कभर्डहलमा सञ्चालन हुने आन्तरिक प्रशिक्षण, पूर्वाधार विकासका कार्यक्रम, खेलकुद प्रशासनिक तथा व्यवस्थापन कोर्स, रिफ्रेसर कोर्स एवं हाई सिजनका लागि आधारभूत कार्यक्रम सञ्चालन गर्ने लक्ष्य बताइएको छ ।
यसैगरी, हाई सिजन भन्नाले कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत, वैशाख र जेठ गरी आठ महिनालाई लिइएको छ । उक्त अवधिमा विद्यालय तथा उच्च मावि एवं विश्वविद्यालय खेलकुद, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तयारी, विशेष तथा बन्द प्रशिक्षण एवं वैदेशिक प्रशिक्षणलगायत महत्त्वपूर्ण खेलकुद गतिविधिसम्बन्धी कार्य सञ्चालन गर्ने लक्ष्य भनिएको छ ।
खेलकुदलाई जिल्लास्तरसम्मै सहजरूपमा विकास एवं विस्तार गर्ने उद्देश्यसहित विभिन्न जिल्लालाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको छ । ‘क’ श्रेणीका जिल्लामा ट्रेनिङ इन्चार्ज र सहायक इन्चार्जको तथा ‘ख’ र ‘ग’ श्रेणीका जिल्लामा ट्रेनिङ इन्चार्जको व्यवस्था गर्ने भनिएको छ ।
‘क’ वर्गका जिल्ला झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, रूपन्देही, कास्की, मकवानपुर, बाँके, दाङ, कैलाली र कञ्चनपुर छन् । त्यसैगरी, ‘ख’ वर्गका जिल्लामा इलाम, धनकुटा, उदयपुर, चितवन, नवलपरासी, कपिलवस्तु, तनहुँ, गुल्मी, सिरहा, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट, बारा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, बाग्लुङ, गोर्खा, पाल्पा, बर्दिया, सुर्खेत, डोटी र डडेलधुुरा गरी २५ जिल्ला छन् । बाँकी अरू सबै जिल्लालाई ‘ग’ श्रेणीमा राखिएको छ ।

प्रतिक्रिया