‘लेख्न नेपालीमा सजिलो, अंग्रेजीमा छिटो’

हिजोआज के लेख्दै हुनुहुन्छ ?
दिल्लीको एउटा प्रकाशनका लागि फकिरमाथि एउटा सैद्धान्तिक किताब लेख्दै छु ।
अहिलेसम्म कति लेखिसक्नुभयो अब बाँकी कति छ ?
पढाइ पूरा गरेर सैद्धान्तिक पक्ष लेख्दै छु । बाँकी छ निकै ।
तपाईंको लेखनमा ‘हृदय’ हाबी हुन्छ कि ‘दिमाग’ ?
लेखनको विधाअनुसार हुन्छ । साहित्यिक रचनामा मलाई हृदय अथवा भावनाको धेरै महत्त्व हुन्छ भन्ने लाग्छ । सिद्धान्त र प्राज्ञिक लेखनमा फरक हुन्छ ।
तपाईंको लेखको शीर्षक जहिल्यै ‘तीन शब्द’को हुन्छ यति धेरै ‘तीन शब्द’ मोह किन ?
तीन शब्दको प्रत्येक शीर्षकमा म कवितामा जस्तो भावना र विचारको संयोजन गर्छु । हाइकु कविताको प्रभावमा तीनको प्रयोग गरेको स्विकार्छु । तर, तीन हरफ होइन, तीन शब्द भएका कारणले तीन शब्द लक्षणा बनिन्छन् । बीचमा खाली हुन्छ तर तीन लक्षणाका अभिव्यञ्जनाले ती जोडिन्छन् । तीन शब्दले चित्र दिन्छन् । लेख्न सजिलो हुन्छ ।
मिडियामा सधैँ छाइरहनु हुन्छ, ‘मिडियामा प्राध्यापक अभि सुवेदी’ छाएको हो कि, ’साहित्यकार अभि सुवेदी’ ?
दुइटै हो । मेरो पठनपाठनको ज्ञान सूक्ष्म रूपमा लेखमा आउँछ । त्यो सूक्ष्मता एउटा साहित्यिक हुनुले गर्दा भएको हो ।
तपाईं आफैँलाई ‘प्राध्यापक अभि सुवेदी’ बेजोड लाग्छ कि ’साहित्यकार अभि सुवेदी बेजोड’ लाग्छ ?
यी फरक अवस्था हुन् । म प्राध्यापक हुनुभन्दा धेरै दशकअघि लेखक भएको थिएँ । लेखक हुनु मेरो सिर्जनात्मक नैरन्तर्य हो । प्राध्यापक हुनु मेरो शैक्षिक तालिम र पढाइ अनि जागिरको अवस्था हो । तर, म दुवै हुँ ।
तपाईंलाई अंग्रेजीमा लेख्न सजिलो हुन्छ कि नेपालीमा ?
लेख्न नेपालीमा सजिलो हुन्छ । तर, अंग्रेजीमा छिटो हुन्छ । अनि ज्ञानका विषयमा लेख्ता अंग्रेजीमा प्रसंगहरू धेरै मिल्छन्, अनि बढी सजिलो हुन्छ । सिर्जनात्मक लेखन नेपालीमा सजिलो, सार्थक र यथार्थिक हुन्छ ।
तपाईं नेपालीमा सोच्नुहुन्छ, कि अंग्रेजीमा ?
भाषाशास्त्रीय भनाइ छ, मानिसले मातृभाषामा नै सपना देख्छ । तर, अंग्रेजीको धेरै संगत, दिनको हजारौँ शब्द यस भाषामा पढिने, विचार, भाव र अल्झनका कुरा पनि अंग्रेजीमा पढिने र त्यो मनमा घुमिरहेको अवस्थामा सपना पनि त्यही भाषामा देखिन्छन् । अंग्रेजीमा भाषण गरेको, छलफल गरेको देख्छु । कतिपय कोमल क्षणका सपना पनि अंग्रेजीमा देखेको छु । तर, मूल रूपमा नेपालीमा नै सपना देख्छु ।
नेपाली र अंग्रेजी दुवैमा लेख्नुहुन्छ बढी सन्तुष्ट कुन भाषामा लेख्दा हुनुहुन्छ ?
नेपालीमा सन्तुष्टि बढी हुन्छ । तर, अंग्रेजीमा लेख्दा हुने सन्तुष्टि अर्कै हुन्छ । त्यो फरक किसिमको हुने रहेछ ।
उपन्यास लेखनको लहर चलिरहेको छ, तपाईंलाई चाहिँ उपन्यास लेख्ने झोँक चलेको छैन ?
उपन्यास म लेखहरूको रूपमा खण्डहरूमा लेखिरहेजस्तो लाग्छ । पात्र, घटना र समय छन् तिनमा । उपन्यास एउटा कालिक कथानक चित्र हो । म त्यो सायद लेख्दै छु । उपन्यास हुन सक्छ त्यो लेखिरहेको । तर, सकेर आफैँ र आफ्ना नजिकका भूतपूर्व विद्यार्थी जो प्राध्यापक र लेखक छन् उनीहरूसँग सल्लाह गरेर मात्र बाहिर देखाउँछु ।
नेपालका बौद्धिकहरूको बौद्धिकता कक्षाकोठा र होटलका सेमिनारमा मात्रै सीमित भयो, लेखनमा आएन भनिन्छ नि, ठीकै हो ?
त्यो कुरामा निकै सत्यता छ । अत्यन्त चुनौती र छलफलको बेला बौद्धिक कर्ममा संलग्न मित्रहरूले त्यति अगाडि आएर लेख प्रस्तुत गरेको, छलफल अनि बौद्धिक विश्लेषण गरेको देखिएन । कक्षाकोठालाई त्यति दोष दिन मिल्दैन किनभने त्यो तालिम हो, शिक्षा हो । त्यो कक्षा कोठामा नै गरिन्छ । त्यो नेपालमा मात्र गरिने अभ्यास होइन । तर, त्यसको प्रयोग आखिरमा जीवनमा गरिने हो । नेपालमा त्यहाँनेर केही समस्या छन् ।
तपाईंले नलेख्दा तपाईंलाई बढी घाटा हुन्छ कि पाठकलाई ?
नलेख्ता मलाई नै घाटा हुन्छ नि । लेखन मेरो अस्मिता हो, नलेख्दाको अवस्था मैले अनुभव गर्ने हो । निजी यात्रा हो । पाठक नैरन्तर्य हो । त्यो कसैलाई पर्खिंदैन ।
विश्वविद्यालयको कक्षाकोठामा प्रोफेसर भएर पस्दा या विद्यार्थी भएर बस्दा कुनचाहिँ बढी आनन्दमयी लाग्यो तपाईंलाई ?
फरकफरक अनुभव हुन् । विद्यार्थी भएर बस्दा अगाडि आउने रंगीन भविता देखिन्छ । साथीहरूबीचमा प्रेम इन्द्रेनीजस्तो टाँगिन्छ । प्राध्यापक हुँदाको आनन्द आफू अर्कोपटि उभिनुबाट जन्मिन्छन् । लिनुको आनन्द र दिनुको आनन्द फरक हुन्छन् । तर, दुवैतिर आनन्द छन् ।
यौन कि लेखन –कुन प्रक्रिया बढी उत्तेजक हुन्छ ?
लेखनमा कहिलेकहीँ आउने उमंग र भावनाका तरंगमा समानता हुन्छ । यौनमा मन पहिला आउँछ अनि शरीर आउँछ । दुवै मिलेनन् भने कष्ट र विसंगति जन्मिन्छन् । लेखन पनि त्यस्तै हो ।
यतिखेर देश अशान्त छ ‘साहित्यकार अभि सुवेदी केही भनुँ लागेको छैन ?
नेपाल देशमा आएको अशान्ति नै त होइन तर इतिहासको अत्यन्त महत्त्वपृ्र्ण कालखण्ड हो । यो बेला लेख्ने बेलाको चिप्लिने चिन्तनको स्थितिजस्तो हुन्छ । अस्थिरता बलियो हुन्छ । तर, देश भनेको कडोरौँ मानिसले सम्झौता गरेर बनाएको भौगोलिक परिवेश हो जहाँ संस्कृति, कला र चलन अनि पद्धतिहरूको सहअस्तित्व हुन्छ । अहिले आएको अवस्थालाई राम्ररी प्रयोग गरियो भने नेपाल अत्यन्तै महत्त्वपूर्ण देश हुन्छ । भएन भने अप्ठेरो अवस्था आउँछ । नेपाल भत्किन बेर लाग्दैन । तर, मेरो सोचाइ सकारात्मक हुन्छ ।
प्रस्तुति : राजेश राई

प्रतिक्रिया