क्यानभासमा निष्काम कर्मयोग

राजनीतिको धेरै रङ भएजस्तै रङको पनि धेरै राजनीति हुन्छ । ब्रस च्यापेर पार्टीको झन्डामुनि ओत लागेका छन्, धेरै नेपाली कलाकार । कला विभाजित भएको छ, कलाकार विभाजित भएका छन् ।

कस्तो राम्रो चित्र एउटा कला प्रदर्शनीमा एक कलापारखी भन्दै थिए ।
‘यति राम्रो चित्र बनाउने अशोकमान सिंह भन्ने मान्छे कस्ता होलान्, हगि ?’ उनको थप जिज्ञासा थियो ।
कलाकार अशोकमान सिंह उनकै पछाडि थिए, मुस्कान–मुद्रामा । ठीक पछाडि ।  तर, उनले ‘त्यो चित्र बनाउने मान्छे मै हुँ’ भनेर आफूलाई प्रकट गर्न चाहेनन् । यस्ता मामिलामा उनी लज्जालु छन् । चुपचाप, चुपचाप काम गरिरहनु (चित्र बनाइरहनु) र ‘स्पटलाइट’ मा पर्ने लालच त्याग्नु–अशोकमानको विशेषता नै यही हो । उनको जीवनदर्शन असाध्यै सरल छ– ‘काम गर, फलको आशा नगर ।’ गीताको निष्काम कर्मयोग उनको जीवन दर्शन हो । कलामा जीवन अर्पेका अशोकमानले कहिल्यै चर्चा चाहेनन् । कुनै कला प्रदर्शनीमा एउटा चित्र झुन्डाएको कलाकार, जसको ब्रसमा राम्रो कमान्ड पनि हुँदैन, मिडियामा छाउन चाहन्छ । तर, २५ वर्षदेखि साधनारत अशोकमानलाई अखबारमा आफ्नो अनुहार देखाउने रहर कहिल्यै भएन ।
पाल्पामा जन्मेका हुन् उनी । कर्मथलो भने काठमाडौं बन्यो । ‘काठमाडौंले मभित्रको कलाकारलाई हुर्काउन योगदान गर्‍यो,’ काठमाडौंलाई कृतज्ञता व्यक्त गर्छन् उनी ।
‘कामना’ म्यागजिनमा उनले २०४१ सालमा आर्टिस्टका रूपमा काम गरेका थिए । त्यतिबेला उनी ग्राफिक डिजाइनर, इलस्ट्रेटर, पत्रकारका रूपमा काम गर्थे । एउटा मानिसका यति धेरै स्वरूप थिए । तर, प्रतिभाशाली अशोकमान हरेक ‘डिपार्टमेन्ट’मा बुलन्द थिए । त्यस पत्रिकामा उनले पाँच वर्ष काम गरे ।
त्यसपछि उनलाई जागिरदेखि उच्चाट लाग्न थाल्यो । हुन पनि क्रिएटिभ मानिसलाई जागिरको झर्काेलाग्दो नियमिततादेखि वाक्क लाग्नु स्वाभाविकै थियो । रङ र ब्रससँग खेल्न बानी परेको मान्छे कुनै कुरा, विषय या ठाउँमा धेरै टिक्न कहाँ सक्छ र ? अशोकमान पनि सकेनन् ।
‘कामना’ छाडेपछि केही समय उनी घरै बसे, बेरोजगार । बेरोजगार भनेको रोजगारविहीन हो, सिर्जनाविहीन होइन । उनले पेन्टिङ थाले । विभिन्न थिमलाई कलर, प्याटर्न र एक्सपेरिमेन्टका माध्यमबाट क्यानभासमा उतार्न थाले । यही समयमा उनले आफ्ना जीवनका उत्कृष्ट चित्र बनाए ।
पाल्पामा हुँदा उनले फोटोग्राफी गरेका थिए । ‘तर त्यसमा भविष्य देखिनँ’ त्यसपछि भविष्य खोज्न काठमाडौं छिरेका थिए उनी । दस वर्ष गरे उनले फोटोग्राफी । तर, चित्रले दिने आनन्द र तस्बिरले दिने आनन्दमा आकाश–जमिनको फरक हुन्छ । तस्बिरमा प्रतिभाभन्दा प्रविधि हाबी हुन्छ । उनी स्विकार्छन्, ‘चित्रकला फोटोग्राफीभन्दा धेरै सिर्जनशील विधा हो ।’ अहिले कलाकारितामा सम्पूर्ण समय दिइरहेका छन् अशोकमान । उनको प्रत्येक दिन सिर्जनशील छ । उनी चित्र बनाउँछन्, कथा लेख्छन् ।
अशोकमानलाई गफ गर्न आउँदैन । यो ‘अयोग्यता’मा उनी दु:खी छैनन् । ‘मलाई काम गर्न आउँछ, गफ गर्न आउँदैन,’ उनी भन्छन्, ‘गफ गर्न जान्ने हुन पनि पर्‍या छैन मलाई ।’ सरल चित्तका अशोकमान र अशोकमानहरू न गफ गर्न जान्दछन्, न मिडियामा छाउने कुनै तिकडम र तरकिब नै थाहा छ उनीहरूलाई । फेरि मिडिया पनि त काम गर्नेको पछि कहाँ लाग्छ र ? जसले गफ दिन सक्यो, उसैलाई हिरो बनाउने उद्योगमा व्यस्त छ मिडिया । उसका पनि बाध्यता छन् । खबर बजारमा काम बेच्न सकिन्नँ, जति सजिलै गफ बेच्न सकिन्छ । अशोकमानको स्पष्ट सिद्धान्त छ– ‘यो दुनियाँमा काम गर्नेले राज गर्छ,’ उनी भन्छन्, ‘बोल्ने जतिसुकै बेजोड किन नहोस्, अन्तत: श्रमका अगाडि गफ पराजित भएर छाड्छ ।’
उनी विशाल महत्त्वाकांक्षा भएका मानिस होइनन् । आत्मसन्तुष्टि उनको एक मात्र ध्याउन्न हो । ‘मानिसले पाउनुपर्ने आत्मसन्तुष्टि हो,’ उनी भन्छन्, ‘जो म पेन्टिङबाट पाइरहेको छु ।’ विलासितासँग उनको बाह्र हातको तगारोले पनि नछुने साइनो छ । जीवनका सामान्य आवश्यकता पूरा होऊन्, त्यति भए पुग्छ उनलाई ।
कार, मोटर, बंगला, बैंक ब्यालेन्स… उनी तिलजति पनि मोह राख्दैनन् यी कुरासँग, यी तथाकथित सुखदायी उपलब्धिसँग । ‘जीवनमा जटिलता खडा गर्ने यिनै चिज हुन्,’ उनी स्पष्ट छन्, ‘स्वामित्वको भोकले मान्छेलाई मान्छेबाट गिराएको छ ।’
पेन्टिङमै प्रफुल्ल छन् उनी । चित्र उनको खुसी हो, आवश्यकता हो, विलासिता हो ।
उनी भूमिगत कलाकार हुन् । २५ वर्षसम्म कलामा साधनारत रहे उनी । कतै पनि प्रकाशमा आएनन्, आउन चाहेनन् । यस अवधिमा उनका हरेक पेन्टिङ बिक्री भए । उनका घरमा आउने कलापारखीले उनका चित्र किने । उनको प्रतिभालाई सम्मान गरे । ‘मसँग एउटा पनि चित्र बाँकी छैनन्,’ उनी भन्छन् । धेरैले उनलाई सल्लाह दिने गरेका छन्, ‘आफ्नो चित्रको फोटो खिचेर राख्नू । तपाईंको मास्टर पिस कम्तीमा क्यामरामा त सुरक्षित रहन्छ ।’
२५ वर्षपछि बाहिर आउँदै छन् उनी । अचर्चा, अप्रकाशबाट बाहिर । चित्रको हाट लगाउँदै छन् । एकल चित्रकला प्रदर्शनी हुँदै छ उनको । तर, यसका लागि उनी भव्य मेहनत गर्दै छन् । सबै नयाँ चित्र हुनेछन् प्रदर्शनीमा । पुराना चित्र त उनीसँग भए पो †
उनी ‘पोलिटिक्स’ बुझ्दैनन् । ‘राजनीति’ पनि बुझ्दैनन् । अशोकमानजस्तो सरल चित्तको मान्छेले यो देशमा बुझ्न सक्ने कुरा साह्रै थोरै हुन्छन् । राजनीतिको धेरै रङ भएजस्तै रङको पनि धेरै राजनीति हुन्छ । ब्रस च्यापेर पार्टीको झन्डामुनि ओत लागेका छन्, धेरै नेपाली कलाकार । कला विभाजित भएको छ, कलाकार विभाजित भएका छन् । कोही कांग्रेसका कलाकार छन्, कोही एमालेका र कोही माओवादीका ।
‘म देशको कलाकार हँु,’ कलाकार अशोकमान सिंहको इमानदार घोषणा हो यो ।

प्रतिक्रिया