किन चाहियो देश ?

अचेल व्यक्तिले व्यक्तिलाई, पार्टीले अर्को पार्टीलाई एउटै पार्टीभित्र एक गुटले अर्को गुटलाई, जनताले नेतालाई र नेताले जनतालाई खुला हृदयले, निकै उदारतापूर्वक थोक भाउमा सभ्य पारामा असभ्य गाली गर्ने स्वस्थ परम्परा विकसित भएको छ । यसरी प्रेमपूर्वक गाली र निन्दाको आदानप्रदान गरेको देख्दा साह्रै खुसी लागेर आउँछ । ‘राम्रा काम जति सबै हाम्ले नै गर्‍या हौँ’ भनी जुँगा मुसार्ने नाक घोक्र्याउने नेता भनाउँदा जन्तु नै हुन्छन् । त्यसैले यो रमाइलो संस्कृतिको विकास गर्ने श्रेय पनि नेतृत्व वर्गलाई नै जान्छ । अब पनि नेताले क्यै काम गरेनन् भन्न पाइयो त ?
गौतम बुद्धले नेपालबाट भारतको सारनाथमा गएर ज्ञान प्राप्त गरेका थिए । नपत्याए इतिहास हेर्नू । मैले पनि शोणितपुर हुँदै चन्द्रगिरी, महाभारत, चुरे र सिंगो उत्तरी भारतलाई छिचोल्दै दक्षिणी भारतको तमिलनाडु प्रान्तमा पर्ने भेलोरमा भौँतारिएर ठूलै ज्ञान प्राप्त गरेँ । यो अत्यन्त दु:खले आज्र्याको ज्ञान हो, सबैलाई चेतना भया । रोगी भएर भेलोरको सिएमसी अस्पताल पुग्दा पनि जताततै नेपाली अनुहारको दर्शन गर्न पाउँदा नेपालीहरूले जनसंख्या र रोग दुवै समस्यालाई सँगसँगै हुर्काएका रहेछन्, भन्ने कुरो बुझियो । कामको नाममा सिन्को नभाँच्ने र वर्षौंसम्म भत्ता भोग गरी देशको राजनीतिक रंगमञ्चमा नांगो भएर नाच्ने संविधानसभाका भतुवा सभासदहरूलाई जस्तो खुसी प्राप्त हुन्छ, त्योभन्दा पनि उच्च श्रेणीको खुसी अनुभव भयो । कुनै पनि शुभ काम गर्दा पहिले गणेशजीलाई सम्झने हाम्रो सनातन परम्परा छ । यसै क्रममा म काठमाडौंको धुम्बाराहीका नवराज घिमिरेलाई सम्झन्छु । उनको बाहिरी ‘गेट अप’ हेरँ एकैछिन त झुक्किएँ । कुनै खेलाडी मर्निङ वाक गर्दागर्दै आफ्नो गर्लफ्रेन्डलाई लिएर कतै भाग्न पो लाग्या हो कि ? तर, हाम्रा नवराज गेणशजी त सपत्नी उपचार गराउन दिल्लीतिर दुगुर्दै थिए । हँसिला, रसिला, फरासिला नवराजजीले रेलको त्यस बोगीका धेरैजसोलाई हँसाए । दु:खलाई पनि कसरी दु:ख दिने भनी हामीलाई हौस्याए । हुनेखाने भएर पनि मिजासिला घिमिरे बन्धुमा मपाइँ पल्टने रोग लागेको थिएन । मैले के ज्ञान पाएँ भने प्रत्येक नेपालीले जतिसुकै दु:ख पाए पनि नवराज घिमिरेले जस्तै दु:ख
सहँदै हाँस्न र हँसाउन सक्नुपर्छ, सिक्नुपर्छ । हरेक कुरामा सरकार,
व्यवस्था र नेतालाई मात्र गाली गरेर के गर्नु † बानी परेपछि दु:ख पनि
सुख नै बुझिन्छ ।
प्रवासी नेपालीहरूसित परिचय र भलाकुसारी सकेपछि हाम्रो गफ नेपाली राजनीतिको राजपथमा प्रवेश गथ्र्यो । नेपाली मूलका भारतीय त हाकाहाकी भन्थे, ‘गणतन्त्रको स्वाद चाखिसकेकाले होला, देश टुक्रयाउन खोज्ने नेता र दल दुवैथरीलाई नेपाली जनताले माया गरेर माफ नगरोस् । भारतको उदाहरण हेरेर पनि सिक्नुपथ्र्यो नि †’ मेघालयतिरको एउटा पाको अनुहारले भन्यो, ‘जहाँका जनता मूर्ख हुन्छन्– त्यहाँका नेता धूर्त हुन्छन् । जनता जाग्नुपर्छ, आचार्य जी † जनता नजागुञ्जेल क्यै पनि हुँदैन । जुनसुकै तन्त्र आए पनि नेताले विकासका गीत गाए पनि त्यसले क्यै नाप्दैन † ताप्के तात्नुपर्छ, बिँड मात्र तातेर क्यै लछार्दैन † जनता नजागुञ्जेल राजनीतिको खोल ओढेर डाँकाहरूले देशमा रजाईं गरिरहन्छन्, जनता मरिरहन्छन् †’ एकजना दारीवालले भने, ‘पढ्नका लागि पनि विदेशमै धाउनुपर्ने, ओखती मूलो गर्नुपरेमा पनि विदेशमै आउनुपर्ने, काम खोज्दै देशको युवावर्गले खाडी मुलुकदेखि लिएर युरोप–अमेरिका साराको चर्पी सफा गर्दै नेपाली गीत गाउनुपर्ने अनि किन चाहियो देश ? केका लागि देश चाहियो ? जीवनभरि डेरामा बसेर गुजारा गर्ने परिवार पनि प्रशस्तै छन् । अब नेपालीले पनि सोच्ने बखत आइसक्यो कि त नेपालमा पनि अन्नाजस्ता सुधारवादी नेता जन्मनुपर्‍यो ।’ मैले भनेँ, ‘खै… † धनी मुलुकमा पनि भ्रष्टाचारीहरू त हुँदारहेछन् त † यो भ्रष्टाचार भनाउँदो रोग त कहिल्यै निको नहुने र’छ । यद्यपि मैले भ्रटाचारको समर्थन गर्न खोज्या होइन तर कटु सत्यलाई त्यत्तिकै बिर्सन पनि त सकिन्न ।’
विराटनगरको एक भद्र बुद्धिजीवी भेटियो । उनले सहर्ष जानकारी दिए, ‘नेपालमा त रोगको पत्तै लागेन । पैसा पानीसरि नै बगाइयो । दबाइले अलिकति पनि नछोएपछि पो त्यहाँको डाक्टरले भन्यो, तपाईं आफ्नो रोगीलाई भारततिरै लानुस् । हामीकहाँ जाँच्ने आधुनिक मेसिन छैन । जे होस् यो रोगको निहुँले दक्षिण भारतको नाक मुख त हेर्न पाइयो । नत्र घुम्नै भनेर आउने नेपाली नै कति हुन्छन् र ? आफ्नो देशमा राम्रो उपचारको व्यवस्था भइदिए यति टाढा यत्रो खर्च गरेर को पो धाउँथ्यो † कहिले हाम्रो देशको विकास होला †’ भारत सिलाङतिरको एक युवाले भन्यो, ‘यो पाराले त भयो विकास । बरु ‘ग्रेटर नेपाल’ को परिकल्पनालाई साकार पार्नतिर लाग्नुपर्छ । अरुणाचल प्रदेशको एक नेपाली अनुहारले टिप्पणी गर्‍यो, ‘हर्रो नपाउँदो जाइफल चपाउँदो †’ आसामको अर्को युवक यो सुनेर गज्जबसँग हाँस्यो । एकछिन लहरै हाँसेपछि भन्यो, ‘देख्या कुरा त साँचो नहुने युगमा लेख्या कुरा के गरी साँचो होला र †’ मलाई पनि क्यै भन्न त मन लाग्यो तर गर्मी र तिर्खाले लखतरान पारेको हुनाले चुपचाप सुनिरहनु नै बेस होला भन्ठानेँ ।

प्रतिक्रिया