बार्सिलोना ७–० ले विजयी

एएफपी
म्याड्रिड, १९ वैशाख । पछिल्ला तीन भिडन्तमा व्यहोरेको खराब नतिजापछि युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिनुका साथै घरेलु लिगको उपाधि होडबाट टाढिएको बार्सिलोना आइतबार राति रायो भालेकानोविरुद्ध ७–० ले जित हात पार्दै विजय यात्रामा फर्किएको छ ।
स्पेनिस लिगमा लय समाउने क्रममा साविक विजेता बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँगको दूरी सात अंकमा छोटयाउँदै उपाधि जित्ने आशा झिनो भए पनि कायम राख्न सफल भयो । यसअघि गत साता यसै प्रतियोगितामा रियल म्याड्रिडसँग पराजित भएपछि उपाधि जित्ने बार्सिलोनाको सम्भावना कमजोर भएको थियो । त्यस्तै युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सीविरुद्ध पहिलो लेगमा २–१ ले पराजित भए पनि दोस्रोमा २–२ को बराबरीमा रोकिएको साविक विजेता बार्सिलोना फाइनल यात्रा तय गर्न असफल भएको थियो ।
रियल म्याड्रिड र बार्सिलोनाले तीन/तीन खेल खेल्न बाँकी छ । पछिल्ला तीन खेलमा गोल गर्न नसकेका लिओनेल मेसीले रायोविरुद्ध दुई गोल गरी जारी लिगमा व्यक्तिगत गोल संख्यालाई ४३ पुर्‍याए । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले पनि ४३ गोल गरेका छन् । मेसीको जारी सिजनमा व्यक्तिगत गोल संख्या ६५ पुग्यो । उनी सिजनमा सर्वाधिक गोलको कीर्तिमान तोड्नबाट तीन गोलले मात्र पछि छन् ।
बार्सिलोनालाई फराकिलो जित दिलाउने क्रममा पेड्रो रोड्रिगेजले दुई गोल गरे भने थिआगो अलकान्तारा र एलेक्सिज सान्चेजको नाममा थप गोल रहयो । बार्सिलोनाले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।
इन्टरको कठिन जित
आत्मघाती गोलमार्फत खेलमा फर्किएको इन्टरमिलान माउरो जारातेको निर्णायक गोलमा आइतबार सेसेनालाई २–१ ले हराएर इटालियन सेरी ए फुटबल प्रतियोगितामा पाँचौं स्थानमा उक्लिएको छ । यस जितले युरोपियन च्याम्पियन्स लिगको आगामी संस्करणका लागि इन्टरको छनोट हुने आशा कायम रहयो । ३५ खेलबाट इन्टरमिलानको ५५ अंक छ । समान खेलपछि ५५ अंक भएको एसएससी नेपोली तेस्रो र युडिनिज चौथो स्थानमा छन् । ५७औं मिनेटमा लुका सेकारेल्लीको गोलमार्फत अग्रता लिएको सेसेना त्यसको दुई मिनेटपछि नै बराबरीमा आएको थियो । स्टेभ भन बर्जेनले आत्मघाती गोल गरेपछि इन्टर बराबरीमा पुग्यो । ७२औं मिनेटमा जारातेले निर्णायक गोल गरेका हुन् ।

प्रतिक्रिया