भलिबल संघमा तामाङ

काठमाडौ, २८ चैत । नेपाल भलिबल संघको साधारणसभाले दानबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सोमबार राति भएको निर्वाचनबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् । पछिल्लो समय केही संघको निर्वाचनमा राजनीतिक भागबन्डा भएपछि भलिबल संघमा पनि त्यसै अनुसार प्यानल बनाइए पनि राजनीतिक भागबन्डाको आधारमा तयार भएको प्यानलका केही उम्मेदवार पराजित भए । भलिबलको साधारणसभामा राजनीति, वाद र भागबन्डाभन्दा माथि उठ्दै प्रतिनिधिले केही नसोचिएको परिणाम दिलाए ।
पूर्वअध्यक्ष गंगा थापामगरको १४ वर्षे कार्यकाललाई प्रतिस्थापन गर्ने क्रममा एमालेको भागबाट अध्यक्षमा उम्मेदवार भएका तामाङले ८० मत पाए भने अर्का प्रत्यासी गजेन्द्र ताम्लीले ३२ मत पाए । अध्यक्षका अर्का उम्मेदवार बालगोपाल श्रेष्ठले नाम फिर्ता लिएका थिए । यसअघि तामाङ वरिष्ठ उपाध्यक्ष तथा ताम्ली उपाध्यक्ष थिए । महासचिवमा कांग्रेस कोटाबाट उम्मेदवार भएका बुद्धि कटुवाललाई जितेन्द्र चन्दले ४९ का विरुद्ध ६४ मतले पराजित गरे । अर्का उम्मेदवार रोशन श्रेष्ठले नाम फिर्ता लिएपछि दुईबीच उम्मेदवारी परेको थियो । चन्दलाई भलिबलका राष्ट्रिय टोलीका कप्तान भरत शाह र पूर्वराष्ट्रिय खेलाडी जगदीश भट्टको समर्थन थियो । कोषाध्यमा एमाओवादीको तर्फबाट उम्मेदवार भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य पहलसिंह घर्तीमगर महिला कमिसनको अध्यक्ष भइसकेकी निरोज मास्केसँग पराजित भए । मास्केले ५४ तथा मगरले ३६ मत पाए । अर्का उम्मेदवार माधव केसीले १९ मत पाए । प्रथम उपाध्यक्षमा एमाओवादीका पोलिटब्युरो सदस्य लीलबहादुर थापा सर्वसम्मत भए । यसैगरी एमालेनिकट यमबहादुर गुरुङ दोस्रो उपाध्यक्ष बने । उपाध्यक्षमा कांग्रेस कोटाबाट उम्मेदवार भएका उपेन्द्र यादव र वीरेन्द्र खड्काले ८१-८१ मत पाए । अर्का उम्मेदवार तेजुलाल चौधरीले ३४ मत पाए । खड्का निवर्तमान अध्यक्ष गंगा थापानिकट हुन् ।
सचिवमा एमाले कोटामा रामनाथ भण्डारी, कांग्रेसका टंकसिंह ठकुरी र एमाओवादीका मदन खड्का सर्वसम्मत भए । सदस्यमा ज्योति केसी, रोहितचन्द्र खड्का, चन्द्रकुमार गिरी, श्रीधर शर्मा, तेजप्रताप सुब्बा, थमन गुरुङ, श्यामकृष्ण श्रेष्ठ, सुनकेशरी माली, वरम महत, भीम ओली तथा मनवीर छन्त्याल सदस्यमा चुनिए । छन्त्याल ढोरपाटन स्पोर्टस क्लबका अध्यक्ष हुन् जुन क्लबले विगत सात वर्षदेखि आकर्षक नगद पुरस्कारको महिला डबल लिग भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
साधारणसभामा केन्द्रका २९, ७५ जिल्लाका एकका दरले ७५, पाँच विकास क्षेत्रका ३ का दरले १५ तथा रेप|mी, प्रशिक्षक, खेलाडी र महिला कमिसनका २-२ सहित ८ गरी कुल १ सय २७ प्रतिनिधि सहभागी थिए । संघका अध्यक्ष दानबहादुर तामाङको अध्यक्षतामा बुधबार बसेको बैठकले डिबी नेपाली, मनोरञ्जन शर्मा, मनराज गुरुङ, रोशन श्रेष्ठ, लेखनाथ मैनाली, टुकराज क्षेत्री तथा पवनकुमार कुँवरलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया