दमकलाई भलिबल उपाधि

झापा, २७ चैत । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा सम्पन्न पूर्वाञ्चलस्तरीय भलिबल प्रतियोगिताको उपाधि दमक भलिबल क्लबले जितेको छ ।
२१ चैतदेखि जारी भलिबल प्रतियोगिताको अन्तिम खेलमा आयोजक शरणार्थीको फेन्स क्लबलाई पराजित गर्दै दमक विजयी बनेको हो । दमकले २५-१८, २१-२५, २५-२१, २५-२२ ले खेल जितेको थियो । झापाको दमक भलिबल खेलमा राष्ट्रियस्तरमा प्रभावशाली मानिन्छ । पहिलो सेटमा अग्रता लिएको दमक दोस्रो सेटमा पराजित भएपछि धेरैले खेलको निर्णय पाँचां सेटमा मात्र हुने अनुमान गरेका थिए । तेस्रो सेटमा शरणार्थी टोलीको डिफेन्स कमजोर भएपछि दमकले त्यसको फाइदा लिएको थियो । विजेता टोलीलाई शरणार्थी सहयोग निकाय लुथरन विश्व फेडेरेसनका पूर्वाञ्चल प्रमुख ध्रुवराज पण्डितले पुरस्कार वितरण गरेका थिए ।
विजेता टोलीले १५ हजार र उपविजेताले १० हजार रुपियाँ पाए । शरणार्थी प्रभावित क्षेत्र र शरणार्थी युवाबीचको सम्बन्ध समधूर बनाउनका लागि भनेर फेन्स क्लब र प्रभातकिरण युवा क्लबले प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया