दिदी-भाइलाई टेनिस उपाधि

काठमाडौं, २५ चैत । चौथो केसा ग्रुप-जेटीआई -जुनियर टेनिस इनिसिएटिभ) जुनियर खुला टेनिस प्रतियोगिताको यु-१६ सिंगल्सको गल्र्समा अश्लेषा लिसानेविच र ब्वाइजमा आइभन हो लिसानेविच च्याम्पियन बनेका छन् । उपाधिविजेता दिदी-भाइ हुन् ।
सातदोबाटोस्थित टेनिसकोर्टमा शनिबार भएको गल्र्सको फाइनलमा अश्लेषाले विभूति कार्कीमाथि ६-० र ६-० को सहज जित हात पारिन्  । ब्वाइजको उपाधि भिडन्तमा आइभनले प्रनव कायश्थलाई पनि ६-० र ६-० ले सहजै हराए । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु-१२ ब्वाइज सिंगल्समा संरक्षकभूषण वज्राचार्यले उपाधि जिते ।
फाइनल संरक्षकले रेन्जन लामालाई ६-३ र ७-५ ले हराए । यसअघि यु-९ सिंगल्सको ब्वाइजमा आर्यन सुवेदी र गल्र्समा अभिलाषा विष्ट, यु-१० सिंगल्सको ब्वाइजमा सम्यकभूषण वज्राचार्य र गल्र्समा इरा एम राउत, यु-१२ गल्र्स सिंगल्समा मायांका राणा तथा यु-१४ सिंगल्सको ब्वाइजमा आइभन हो लिसानेविच र गल्र्समा विभूति कार्कीले स्वर्ण जितेका थिए ।
विजेतालाई अखिल नेपाल लनटेनिस संघका अध्यक्ष मनोज राणा र उपाध्यक्ष ज्योति राणा, मुख्य प्रायोजक केसा ग्रुपका अध्यक्ष केशवराज पाण्डे तथा सह-प्रायोजक डा. वसन्त माथेमाले पुरस्कार वितरण गरे ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा ८० ब्वाइज र ४३ गल्र्ससहित १ सय २३ खेलाडीले १० स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया