पिटरसनको धुंवादार ब्याटिङ

कोलम्बो, २३ चैत । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा भ्रमणकारी टोली इङल्यान्ड बलियो अवस्थामा पुगेको छ । श्रीलंकाले बनाएको २ सय ७५ रनको जवाफमा ब्याटिङ गरेको इङल्यान्डले पहिलो इनिङमा ४ सय ६० रनको योगफल खडा गर्‍यो । इङल्यान्डका लागि केभिन पिटरसनले सर्वाधिक १ सय ५१ रन जोडे । रंगना हेराथको बललाई स्विप गर्ने प्रयासमा एलबिडब्लु धरापमा पर्नुअघि पिटरसनले १ सय ६५ बलको सामना गर्दै १६ चौका र ६ छक्का प्रहार गरेका थिए । एक दिनअघि एक विकेटको क्षतिमा १ सय ५४ रनबाट अघि खेल्न सुरु गरेको इङल्यान्डका एलिस्टकर कुकले ९४ तथा जोनाथन ट्रउटले ६४ रन जोडे । दिलसानको बलले नपत्याउँदो ‘टर्न’ लिएपछि कुक जयाबर्द्धनेको हातबाट क्यान आउट भए । भोजन समयअघि इङल्यान्डले कुकलाई मात्र गुमाएको थियो ।
स्ट्रोक खेल्नका लागि अनुपयुक्त ठहरिएको पिचमा अस्वाभाविक रूपमा एकदिवसीय शैलीमा ब्याटिङ गर्दै पिटरनले चिया समयअघि नै १ सय ५० रनको आँकडा पार गरेका थिए । ९८ रन छँदा अम्पायर असाद रउफले दिलसानको बलमा एलबिडब्लु अपिल अस्वीकार गरे पिटरसन २०औं टेस्ट तिक पूरा गर्न सफल भएका हुन् ।
श्रीलंकाका रंगना हेराथले ६ तथा तिलकरत्ने दिलसानले दुई विकेट लिए । बिहीबार दोस्रो इनिङ ब्याटिङ सुरु गरेको श्रीलंकाले कुनै विकेट नगुमाई चार रन जोडेको छ ।

प्रतिक्रिया