स्वादभन्दा स्वास्थ्यमा जोड

महिला स्वास्थ्य तथा पोषणका क्षेत्रमा विशेषज्ञको नाम हो डा. अरुणा उप्रेती । बेलायत-नेपाल मेडिकल ट्रस्टको टेक्निकल सल्लाहकार उप्रेतीले स्वदेशमा मात्र नभएर पनि विदेशमा पनि आफ्नो विशेषज्ञता देखाइसकेकी छन् ।
सधैंभरि अस्पताल अनि बिरामीकै वरिपरि घुमिरहने यी नारी भान्सामा भने कमै छिर्दी रहिछन् । तैपनि बिहानको चिया भने प्रायः आफैं पकाउँदी रहिछन् । बिहान साढे ५ बजे चिनी नभएको कालो वा लेमन चिया पाक्छ उनका हातबाट- ‘घरमा आउने पाहुनालाई दिने चिया पनि यस्तै हो, स्वास्थ्यका लागि राम्रो र बनाउन पनि सजिलो !’
त्यसो त भ्याएका बेला भने खाना पनि नबनाउने कहाँ हुन् र उनी ! प्रायः उनको भान्सामा ‘सिम्पल’ खानेकुरा पँक्छ रे- दाल, भात, तरकारी र अचार । एक्लै हुँदा दाल, चामल, तरकारी एकैठाउँ मिसाएर खिचडी पकाउँछिन् । केही समयअघिसम्म दुई थोक तरकारी पाक्ने गरेको तर महँगी बढेपछि त्यो घटेर ‘एक थोक’ मात्र भएको रहेछ । टुसा उमारिएको चना, केराउ वा मेथीको सलाद र दहीमही उनका भान्सामा कहिल्यै टुट्दैनन् । धनियाँ, पुदिना र गोलभंेडाको अचार निकै मन पराउँछिन् । दहीमही घरमै बनाउँछिन्, डेरीबाट दूध ल्याएर ।
महीमा कोदो र फापरको पिठो घोलेर बनाइएको कडी उनलाई मनपर्ने अर्को आइटम हो । घरमा मम, चाउमिनजस्ता फास्टफुड बनाएर खाने चलनै रहेनछ । खाना बनाउँदा डढ्ने, पोखिने, उम्लिने तथा हात पोल्ने धेरै हुन्छ रे ! सुनाइन्- ‘खाना बनाउने काममा धेरै चाख नभएर पनि हो कि !’ उप्रेतीको भान्सामा विशेष परिकारको खोजी हुँदैन, कसैको विशेष च्वाइस छैन । जे उपलब्ध छ, त्यही पाक्छ । घरमा पाहुनाको जमघट हुँदा पनि टुसा उमारिएको सलाद र कोदो र  फापरको रोटी नै बन्छ, बेलुकीबेलुकी ।
अफिसियल कामका लागि बारम्बार विदेश गइरहने उप्रेती त्यता पनि साधारण खानेकुरामै जोड दिन्छिन् । ‘सुडान, अफगानिस्तान, श्रीलंकाजस्ता देशमा  जे भेट्यो त्यही खानुपर्छ, च्वाइसको त चान्स नै हुँदैन’ -उनी भन्छन् । त्यही बानी लागेर आफूमा खानाको सोख नपलाएको उनलाई लाग्छ ।
श्रीमान् डा. विश्वबन्धु शर्मा मनोचिकित्सक हुन् । मेडिकेयर हस्पिटलमा काम गर्ने शर्माको आफ्नै क्लिनिक पनि छ । ‘उहाँले खानामा कुनै कमेन्ट गर्नुहुन्न । खासै मन पनि पराउनुहुन्न । तिमीले खाना नपकाएकै राम्रो भन्नुहुन्छ’,उनले सुनाइन् । ‘शाकाहारी’ अरुणाको भान्सामा माछामासु निकै कम पाक्छ । मासु उनी आफू बनाउँदिनन् । सहयोगीले बनाइदिन्छन् । मासु नखाने भएकाले विदेशमा निकै समस्या हुने गरेको उनले बताइन् ।
सकेसम्म अर्गानिक खानेकुरा उनको प्राथमिकतामा पर्छ, त्यसैले तरकारी किन्दा ताजा नै रोज्छिन् । श्रीमान्ले कहिलेकाहीँ तरकारी किनेर ल्याइदिए पनि भान्सामा सहयोग भने गर्दैनन् रे ! भनिन्- ‘पाहुना आउँदा आवश्यक सामान ल्याइदिनुहुन्छ । मेनु बनाउनुहुन्छ । अरू सबै काम गर्ने भएकाले भान्सामा सहयोग गर्दिए हुन्थ्यो भन्ने पनि लाग्दैन ।’ त्यसो त भान्सामा छँदा एक्लै खट्न मन पराउँछिन्, आधा घन्टामा सबै थोक पकाइसक्छिन् । भान्सामा एक्लै काम गर्न रमाइलो लाग्छ उनलाई ।
भान्साको सरसफाइमा निकै जोड दिन्छिन् । पोषणसम्बन्धी अध्ययन गरेकी अरुणा भान्सामा पनि आफूले आर्जन गरेको ज्ञान उपयोग गर्छिन् । मीठो बनाउनेभन्दा स्वस्थकर बनाउनेमा उनको जोड हुँदो रहेछ । ‘चिल्लो, पिरो र मसालेदार खाना मीठो भए पनि स्वास्थ्यलाई असर गर्छ’, उनले सुझाइन्- ‘स्वाद हैन, स्वास्थ्यलाई ध्यान दिऊँ ।’
प्रायः स्टिलका भाँडाहरूका बीचमा गाउँघरतिर विस्थापन हुन थालिसकेको फलामको एउटा भाँडो पनि प्रयोग हुन्छ उनको भान्सामा । दाल, तरकारी पकाइसकेपछि एकपटक त्यो भाँडामा हालेर उमाल्दी रहिछन् । यसबाट आइरन प्राप्त हुने र मीठो पनि हुने उनी बताउँछिन् । ‘बच्चालाई पोषण पुर्‍याउन पनि यस्तो भाँडामा पकाइएको खानेकुरा उपयोगी हुन्छ’ -पोषणसम्बन्धी लेख संगृहीत पुस्तक बजारमा ल्याउन लागेकी डाक्टरले सुझाव दिइन् ।
तत्कालीन सोभियत सङ्घमा पढ्दा होस्टेलमा आफैंले पकाउनुपरेकाले खाना बनाउन सिकेकी उनले यससम्बन्धी कुनै त्यस्तो तालिम लिएकी छैनन् । ‘सानोमा खाना बनाउनेतिर ध्यान गएन, रसियामा बाध्यताले सिकियो’ -उनी भन्छिन् ।
जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यही खान सुझाव दिने अरुणा कोदो, फापर, मकै बेचेर प्याकेटको खानेकुरा खाने प्रवृत्ति बढेको देख्दा चिन्तित हुन्छिन् । उनी आफूचाहिँ गाउँबाट कोदो, फापर, गुन्द्रुक, तामा मगाइरहँदी रहिछन् । त्यसबाहेक कुनै ठाउँमा पुग्दा पनि त्यहाँका स्थानीय उत्पादन ल्याउनमा उनी चनाखो छिन् ।
शब्द/तस्बिरः लक्ष्मीप्रसाद खतिवडा

प्रतिक्रिया