बालबालिकालाई जसरी पनि विद्यालय

काठमाडौं, २ वैशाख । शिक्षा मन्त्रालयले विद्यालयको पहुँचभन्दा बाहिर रहेका कठिन परिस्थितिका बालबालिकालाई विद्यालयसम्म ल्याउन उनीहरूको आवश्यकता पूरा गर्ने योजनासहितको भर्ना कार्यक्रम सुरु गरेको छ । विगतमा केन्द्रबाट तय भएका कार्यक्रमप्रति बालबालिका आकषिर्त नभएपछि यो वर्षदेखि उनीहरूको आवश्यकताका आधारमा सुविधा दिने योजनालाई प्राथमिकता दिई कार्यक्रम ल्याइएको हो ।
शिक्षा विभागका अनुसार प्राथमिक तहमा अध्ययन गर्ने उमेरसमूह -६ देखि १०वर्ष)का चार दशमलव नौ प्रतिशत बालबालिकाले विद्यालय देख्न पाएका छैनन् । ‘सजिलै आउने बालबालिका आइसकेका छन्, अब नआएका बालबालिकालाई विशेष कार्यक्रम चाहिन्छ,’ विभागका निर्देशक टेकनारायण पाण्डेले भने, ‘यस वर्षदेखि त्यस्ता बालबालिकाको के आवश्यकता छ त्यो पूर्ति गरेर उनीहरूलाई विद्यालयसम्म ल्याउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ ।’
वैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । नयाँ शैक्षिक सत्रसँगै ‘स्वागत भर्ना तथा टिकाउ’ कार्यक्रम थालिएको छ । आइतबारदेखि यो कार्यक्रम व्यापक रूपमा सञ्चालन हुने निर्देशक पाण्डेले बताए । यसअघि मन्त्रालयले विद्यालयसम्म ल्याउनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम ल्याएको थियो । तर, विद्यालयको पहुँचमा नरहेका बालबालिकालाई भर्ना गर्न नसकेपछि उनीहरूको आवश्यकता पूरा गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको हो । निर्देशक पाण्डेले सबै जिल्लाले कठिन परिस्थितिका बालबालिकालाई घरदैलो गर्ने, चेतना जनाउनेदेखि उनीहरूको आवश्यकता पूरा गरेर विद्यालयसम्म ल्याउने कार्यक्रम राखेको बताए ।
अल्पसंख्यक तथा लोपोन्मुख जातिका अधिकांश बालबालिकाले विद्यालय देख्न पाएका छैनन् । कमलरी, किसान, झाँगड, मुल्लिमलगायत समुदायका धेरै बालबालिका विद्यालयको पहुँचबाहिर छन् ।
विद्यालय नियमित आउने बालबालिकाका लागि विद्यालय बालमैत्री बनाउने, कठिन परिस्थितिका बालबालिकालाई विद्यालयसम्म ल्याउन कुनै कसर बाँकी नराख्ने विभागले जनाएको छ ।
बालबालिकालाई विद्यालयसम्म ल्याउने मात्र होइन, आएकालाई टिकाइराख्न समेत समस्या छ । पछिल्लो एक वर्षको अवधिमा देशभरबाट विद्यालय तहका करिब साढे चार लाख विद्यार्थीले बीचैमा पढाइ छाडेका छन् । विभागको तथ्यांकअनुसार सन् २०११ मा चार लाख ३४ हजार आठ सय ९२ विद्यार्थीले बीचैमा पढाइ छाडेका हुन् । विभागको तथ्यांक शाखाको विवरणले सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थीले पढाइ छाडेको देखाएको छ । उक्त अवधिमा कक्षा एकदेखि पाँचसम्मका दुई लाख ६९ हजार एक सय ८४ ले, कक्षा ६ देखि आठसम्मका एक लाख नौ हजार सात सय ९७ र नौदेखि १० कक्षासम्मका ५५ हजार नौ सय १२ विद्यार्थीले बीचैमा पढाइ छाडेका छन् । उक्त वर्ष ७४ लाख ६३ हजार सात सय ९३ विद्यार्थी भर्ना भएको विभागले जनाएको छ ।

प्रतिक्रिया