त्रिवि विशेष सभामा बजेट प्रस्ताव आएन

काठमाडौं, १ बैशाख । त्रिभुवन विश्वविद्यालयको सभा बस्न नसकेका कारण बजेट पास नगरी खर्च गरिएको बताउँदै आएका त्रिविका पदाधिकारीले बुधबार विशेष सभा बसे पनि त्यसबारे प्रस्तावै ल्याएनन् । बुधबार बसेको विशेष सभा विद्यार्थीलाई दीक्षान्तमा सहभागी गराउनेसम्बन्धी सूची ‘गे्रस लिस्ट’मात्र पास गरिसकिएको छ ।
बजेट पास गरेर खर्च गर्नुपर्नेमा नौ महिनासम्म पनि पासै नगरी तीन अर्बभन्दा बढी सकिइसकेको छ । त्रिविका उपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले सभा बस्न नसकेकाले बजेट पास गर्न नसकिएको दाबी गर्दै आएका थिए । त्रिवि सभा वर्षमा दुईपटक बस्नुपर्ने भए पनि एक वर्षसम्म बस्न सकेको थिएन तर बुधबारको विशेष सभामा कुनै पनि सभा-सदस्यले बजेटको विषयमा प्रश्नसमेत गरेनन् ।
त्रिवि सभा-सदस्य हिमाल शर्माले अर्को सभामा बजेट प्रस्ताव ल्याउने जनाइएकाले बुधबारको सभाले ग्रेस लिस्ट मात्र पास गरेको बताए । उनले भने, ‘पदाधिकारीले अर्को सभामा बजेट प्रस्ताव ल्याउँछौँ भन्नुभएको छ ।’ त्रिवि स्रोतका अनुसार पदाधिकारीले मनपरी गर्न पाएका कारण बजेट पास गराउन ध्यान नदिएका हुन् ।
त्रिविले चालु आवका लागि पौने पाँच अर्ब रुपियाँकोे बजेट तयार पारेको थियो । त्रिविका सबै पदाधिकारी नियुक्त रहेको र सामान्य अवस्था हुँदा पनि त्रिवि सभाबाट पास नगरी बजेट खर्च गरिएको हो ।

प्राध्यापकको धर्ना
त्रिविको विशेष सभामा बुधबार प्राध्यापकले विरोध गर्दै धर्ना दिए । नेपाल प्राध्यापक संघको प्रतिनिधित्व रहने व्यवस्था ऐनमा भए पनि संघको नेतृत्वलाई वञ्चित गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन् । संघका महासचिव रामेश्वर उपाध्यायले त्रिवि पदाधिकारीले अलोकतान्त्रिक चरित्र देखाएको बताए । त्रिवि पदाधिकारीले अर्को सभामा प्राध्यापकको प्रतिनिधित्व गराउने आश्वासन दिएपछि सभास्थल स्मृति भवनमा उनीहरूले एक घन्टा मात्र धर्ना दिएका थिए ।
दीक्षान्त जेठमा
त्रिविको दीक्षान्त समारोह आगामी जेठमा हुने भएको छ । बुधबार विशेष सभाले ४९औँ ग्रेस लिस्ट पास गरेको छ । विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री दीनानाथ शर्माको अध्यक्षतामा बसेको सभाले १७ असार ०६७ देखि १७ जेठ ०६८ सम्म ट्रान्स्िक्रप्ट लिई उपाधिका लागि तोकिएको आवश्यकता पूरा गरेका ३८ हजार आठ सय ६८ विद्यार्थीको ग्रेस लिस्ट पास गरेको     हो । सभामा रजिस्ट्रार डा. चन्द्रमणि पौडेलले दीक्षान्त समारोह जेठमा हुने जनाए पनि परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले भने तयारी नसकिने भन्दै असारमा मात्र सम्भव हुने बताए ।
सहकुलपति शर्माले धेरै विश्वविद्यालय खुलेका कारण त्रिविले समयानुकूल परिवर्तन गर्नु जरुरी भएको बताए । समयानुकूल अघि बढ्न केन्द्रीय क्याम्पसलाई ‘सेन्ट्रल अफ एक्सलेन्स’ बनाउने र क्रमशः अन्य क्याम्पसलाई पनि उत्कृष्ट शैक्षिक संस्था बनाउँदै जाने उनको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति महर्जनले आगामी दिनमा प्राज्ञिक सुधार गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया