मेगा थ्री-स्टार फाइनलमा

विराटनगर, १६ चैत । मेगा थ्री-स्टार क्लब सुनसरीको धरानमा सञ्चालन भइरहेको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरानस्थित एन्फा एकेडेमी मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा थ्री-स्टारले उत्कृष्ट कम्ब्याक गर्दै हङकङ-नेप्लिज फुटबल टिमलाई ३-२ ले पराजित गरेको हो । चार राष्ट्रिय खेलाडी सम्मिलित थ्री-स्टारका लागि विशन गौचन, सन्तोष साहुखल र निराजन खड्काले गोल गरे । पराजित हङकङ-नेप्लिज टिमका विशाल राई ‘ए’ र बिजु लिम्बूले गोल गरे ।
पाँचौं मिनेटमा नै विशाल राई -ए) को गोलबाट हङकङले अग्रता लिएको थियो । प्रत्याक्रमणमा गोल गर्ने क्रममा विशालले टंक बस्नेतको पासलाई उपयोग गरेका थिए । थ्री-स्टारका रवि थापामगर र विष्णु सुनुवारले गोल बचाउन प्रयास गरे पनि सम्भव नभएपछि हङकङले अग्रता लिएको हो । कप्तान विषनले २९औ मिनेटमा गोल गर्दै थ्री-स्टारलाई खेलमा फर्काए । यसभन्दा अघि विषनले यसै ठाउँबाट सानदार प्रहार गरे पनि हङकङका गोलरक्षक मीन बस्नेतले यसलाई मुस्किलले बचाएका थिए । विषनले डी-बक्स एजबाट आफ्नो ट्रेडमार्क ड्राइभ गर्दै गोल गरेका थिए । ३७औ मिनेटमा सन्तोषले अग्रत्ाा दिलाएको थ्री-स्टारका लागि गत सत्र मनाङका लागि खेलेका निराजनले ७६औ मिनेटमा गोल गरे ।
गत सत्र जाउलाखेलका लागि खेलेका खेलाडीको प्रभाव रहेको हङकङका गोलरक्षक मीन बस्नेतले बल नियन्त्रणमा लिन नसकेपछि सन्तोषले रिबाउन्डमा गोल गरेका हुन् । कुनै समय थ्री-स्टारबाटै उपेक्षित निराजनले सानदार भलीमा गोल गर्दा विपक्षी गोलरक्षकले पत्तै पाएनन् ।
प्रतिभाशाली रहनुका बाबजुद उनलाई पूरै सत्र बेन्चमा राखेर थ्री-स्टारले ०६२ को लिगउपाधि गुमाएको थियो । त्यसपछि मनाङ-मस्र्याङ्दी प्रवेश गरेका निराजन ६ वर्षपछि थ्री-स्टारको जर्सीमा मैदानमा देखिएका हुन् । ८५औ मिनेटमा हङकङ नेप्लिजका बिजु लिम्बूले गोल गर्दै अन्तर ३-२ मा झारे पनि हार भने टार्न सकेनन् । टंक बस्नेतले दिएको पासमा बिजुले उत्कृष्ट फिनिसिङको नमुना पेस गर्दै साँघुरो कोणबाट राम्रो गोल गरे ।
क्यास्ट्रो मुम्बाराले एकपटक डरलाग्दो प्रहार गरे पनि थ्री-स्टारका डिफेन्डर विष्णुले उनलाई मुस्किलले रोकेका थिए । जबर्जस्ती रोक्न खोज्दा फल भएपछि उनलाई पहेँलो कार्ड दिइएको थियो । हङकङ नेप्लिजका सागर थापाको एउटा पी-किक प्रहार गोलपोस्टको माथिबाट बाहिरिएको थियो । पूर्वमा निकै लोकपि्रय रहेको थ्री-स्टार क्लबले पछिल्लो उपाधि गत कात्तिकमा उदयपुरमा जितेको थियो । उक्त उपाधि जित्दा टोलीका प्रभावकारी सदस्य विक्रम लामा, विषन गौचन, रवि थापा र सविन्द्र श्रेष्ठ मात्र अहिले टोलीमा छन् । यो जितसँगै थ्री-स्टार उपाधिका लागि मनाङ-मस्र्याङ्दीविरुद्ध शनिबार भिड्ने भएको छ ।

प्रतिक्रिया