हाडीगाउको अर्को जात्रा

त्रिभुवन विश्वविद्यालयले चालु आर्थिक वर्षको बजेट पास नै नगरी तीन अर्ब रुपिया खर्च गरेको छ । आर्थिक नियमावलीमा सम्बन्धित निकायले बजेट पास नगरी खर्च गर्न मिल्ने व्यवस्था छैन । तथापि विश्वविद्यालयले भने आफ्नै आर्थिक नियम र विधानविपरीत पेस्कीका रूपमा भरमार रकम खर्च गरेको देखिन्छ । ९० प्रतिशत सरकारी अनुदानमा सञ्चालित त्रिविले लेखा परीक्षणसहितको वार्षिक खर्च विवरण प्रतिवेदन सरकारलाई वार्षिकरूपमै बुझाउनु पर्छ । लेखा परीक्षकले त्रिविसभाबाट पास नै नगरी गरिएको खर्चलाई गैरकानुनी मानेमा त्रिविले अनियमितता गरेको ठहर्ने छ । विद्वताका रूपमा हेरिएको र ज्ञानको भण्डार ठानिएको त्रिविजस्तो सम्मानित संस्थाले आर्थिक नियमावली र आफ्नै विधि–विधानविपरीत कार्य गर्नु शोभनीय होइन । यो गैरजिम्मेवारी र अनियमितता घातक कदम हो । सम्मानित र गरिमामय संस्थाले यस्ता कार्य तुरुन्त रोक्नुपर्छ ।
धेरै वर्षअघिदेखि त्रिविको प्रशासनिक निकाय विवादित र अपुरो अवस्थामा थियो । विश्वविद्यालयजस्तो पवित्र संस्थामा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबन्डा र ‘राम्रा’भन्दा ‘हाम्रा मान्छे’ भर्ना हुने गरेको कलुषित इतिहास हाम्रासामु छ । पदाधिकारी नियुक्तिमा विलम्ब हुदा वार्षिक बजेट खर्च गर्न नपाएर त्रिवि अलमलिएको अवस्था पनि थियो । तर, अहिले त्यो अवस्था छैन । त्रिविले उपकुलपतिसहित रजिस्ट्रारसमेत प्राप्त गरिसकेको अवस्था छ । अर्कातर्फ त्रिविसभा पनि गणपूरक सङ्ख्या पुग्ने बनाइएको छ । यति हुदाहुदै पनि वर्तमान त्रिवि पदाधिकारीले त्रिविसभा बोलाएर बजेट पास गर्ने इच्छा जाहेर नगर्नु आफैमा शङ्कास्पद छ । सामान्यतया एक वर्षमा दुईपटक बस्नुपर्ने त्रिविसभा एकपटक पनि नबस्नु र वार्षिक खर्च गर्न भने केहीले नरोक्नु आफै शङ्काको घेरामा तानिने कार्य हो । बजेट नै पास नगरी खर्च गर्ने कार्यलाई जुनसुकै कोणबाट विश्लेषण गर्दा पनि उपयुक्त मान्न सकिदैन । त्रिविजस्तो बौद्धिक व्यक्तित्वहरू पदाधिकारी रहेको संस्थाले अनुकरणीय कार्य गर्नुपर्नेमा आर्थिक विधानसमेत मिच्ने काम गर्दा राम्रो सन्देश जादैन । तसर्थ त्रिविले आरुनो गल्ती तुरुन्त सच्याउनु पर्छ ।
यस संस्थाले अर्को झन् ठूलो गल्ती गरेको छ । कुनै पनि सन्दर्भमा एउटै व्यक्ति वादी र प्रतिवादी हुन सक्तैन । तर, त्रिविले भने बजेट खर्च गर्ने र खर्च ठीक बेठीक भएको हेर्ने व्यक्ति एउटैलाई तोकेर अर्को निन्दनीय कार्य गरेको छ । आफै खर्च गर्ने र खर्च ठीकठाक गरियो वा गरिएन भनेर आफै अनुगमन गर्ने कार्य ‘कही नभएको जात्रा हाडीगाउमा’ भनेजस्तै हो । के यसरी आर्थिक अनुशासनको सामान्य नियमसमेत त्रिविले तोड्न मिल्छ ? यो कार्यले सरासर अनियमितता गर्ने नियतको पर्दाफास गर्छ । त्रिविले आर्थिक प्रमुख र निरीक्षण प्रमुख एउटै राख्नाका पछाडि आर्थिक अनियमितताको ढोका खोल्नु नै हो भनेर सहज अनुमान लगाउन सकिन्छ । त्रिविमा प्रशस्त योग्य र अनुभवी कर्मचारी हुदाहुदै एउटै व्यक्तिलाई दुईवटा कामको प्रमुख बनाइनाले पनि बजेट पास नगरी गरिएको खर्चमा अनियमितताको शङ्का गर्न सकिन्छ । विद्वता र बुद्धिको ढुकुटी ठानिएको संस्था नियमसङ्गत ढङ्गले चलेको हुनुपर्छ । साथै यसका गतिविधि पारदर्शी र समयसापेक्ष हुन पनि जरुरी छ । अब त्रिविले वार्षिक बजेट पास गर्न तुरुन्त सभा बोलाउनुपर्छ । साथै सरकारले पनि आर्थिक विधान मिचेर गरिएका कार्य रोक्दै त्यसलाई सुधार गर्न कडा निर्देशन दिनु जरुरी छ ।

प्रतिक्रिया