मे दिवसको सार्थकता

मे १ तारिख तथा मे महिनाको पहिलो सोमबार अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन थालिएको पनि १३६ वर्ष पुगिसकेको छ । संयुक्त राज्य अमेरिकाको शिकागो सहरका मजदुरहरूले आफ्ना हक अधिकारका निम्ति निर्णायक आन्दोलन आरम्भ गरेको गौरवशाली सम्झना स्वरूप मे दिवस मनाउन थालिएको हो । चलनचल्तीको भाषामा मे दिवस भनिने यो दिन मजदुर वर्गको हक अधिकारसँग सम्बन्धित छ । १३६ वर्ष भनेको निकै लामो कालखण्ड हो । यो अवधिमा मानव सभ्यताले विकासको पथमा ठुलो फड्को मारिसकेको छ । तर मजदुर वर्गको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन । विश्वका सबै देशहरूमा मजदुर वर्गको जीवनस्तर सबैभन्दा कमजोर छ ।

त्यसमाथि पनि हाम्रो देश नेपालका मजदुरहरू विश्वकै सबैभन्दा थोरै आम्दानी गर्ने श्रमजीवीमध्येमा पर्छन् । नेपालमा मजदुरको समस्या भयावह छ भन्ने कुरा राज्यले निर्धारण गरेको न्यूनतम पारिश्रमिकले मात्रै पुष्टि गर्दैन, त्यो पारिश्रमिक पनि नपाइरहेका कारण रोजगारीका लागि बिदेसिनुपर्ने वाध्यताले समेत पुष्टि गर्छ । नेपालमा मजदुर वर्गले आफ्नो हक अधिकारका लागि औपचारिक रूपमा आन्दोलन सुरु गरेको पनि करिब ८० वर्ष पुगिसकेको छ । मजदुर आन्दोलनबाट उठेका करिब आधा दर्जन नेता देशको प्रधानमन्त्री बनिसकेका छन् । मन्त्री तथा सांसद बनेका मजदुर नेताहरूको संख्या उल्लेख्य छ, तर मजदुरको हालत भने जस्ताको तस्तै छ ।

कुनै पनि दिवस मनाउनुको सार्थकता भनेको सम्बन्धित वर्गको हकहितको आवाज बुलन्द बनाउनु पनि हो । नेपालमा यस्ता थुप्रै दिवसहरू मनाउने गरिन्छ । तर मजदुर दिवस मनाउँदै गर्दा अनौपचारिक क्षेत्रका मजदुर बेखबर जस्तै हुने गरेका छन् । पहिलो कुरा त अनौपचारिक क्षेत्रका मजदुरहरूले मे दिवसबारे जानकारी नै पाएका हुँदैनन्, दोस्रो कुरा जानकारी पाएकामध्ये पनि कतिपयलाई मजदुर दिवस मनाउने फुर्सद हुँदैन । सरकारी तथा केही निजी संगठित क्षेत्रका मजदुरहरूले मे दिवसका दिन बिदा पाउँछन् । तर असंगठित क्षेत्रका मजदुरलाई बिदाको सुविधा छैन । नेपालका कैयौँ मजदुरहरूको दिउँसो काम नगरे बेलुका घरको चुलो बल्दैन । एकै दिन सबै मजदुरलाई बिदाको व्यवस्था गर्न सम्भव पनि हुँदैन । त्यसैले सरकारी बिदा घोषणा गरेर, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश दिएर मात्रै मजदुर दिवसको सार्थकता हुँदैन । मजदुर दिवसका नाममा सुकिलामुकिलाहरूले मस्ती गर्ने तर तल्लो तहको मजदुर भने काममा जोतिइरहनुपर्ने सिलसिला अन्त्य हुनुपर्छ ।

केवल राजनीतिक जार्गनका रूपमा नभएर सम्पूर्ण मजदुर वर्गको हितसँग जोडियो भने मात्रै मे दिवसको सार्थकता हुन्छ । विज्ञान तथा प्रविधिको विकासका कारण मजदुर वर्गलाई काममा केही सहजता भएको छ, तर श्रम बेच्न टाढा टाढा जाने क्रम बढेसँगै आप्रवासनको समस्या बढेको छ । कतिपय प्रजातान्त्रिक तथा विकसित देशहरूमा समेत विदेशी मजदुरहरूमाथि गर्ने व्यवहार तल्लो स्तरको छ । आफ्नो देशमा रोजगारी सिर्जना गर्न नसकिरहेको नेपालजस्तो मुलुकका लागि यो गम्भीर समस्या हो । आफ्ना नागरिक श्रम बेच्न विश्वका कति मुलुकमा पुगेका छन् ? उनीहरूको अवस्था के छ ? भन्ने कुरामा बेखबर रहेको नेपाल सरकारले मे दिवस मनाउनु भनेको कर्मकाण्डजस्तै हो ।

देशमा वषभरी जति शिशु जन्मन्छन् त्यो भन्दा बढी संख्यामा युवाहरू श्रम बेच्न विदेश जाने गरेको सरकारी तथ्यांक छ । मे दिवसलाई सार्थक बनाउने हो भने सर्वप्रथम स्वदेशमै श्रमको खपत हुने व्यवस्था मिलाउनेतर्फ राज्यले ध्यान केन्द्रित गर्नुपर्छ । स्वदेशी श्रमिकहरू वैदेशिक रोजगारीमा जान वाध्य हुने तर स्वदेशमा काम गर्न विदेशी श्रमिक आउने अवस्था उत्पन्न हुनु अर्को दुर्भाग्य हो । श्रमिकलाई सीपमूलक तालिमको खाँचो देखिएको छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ । यसैगरी विश्वकै मजदुर एक होउँ भन्ने नारा लगाउने तर राजनीतिक आस्थाका आधारमा श्रमिक संगठनहरू खोल्ने र एकआपसमा द्वन्द्व गर्ने विकृति पनि देखिएको छ । नेपालका श्रमिक संगठनहरूले मजदुरका मुद्दा बोक्न सकेका छैनन् । नेपालको मजदुर समस्या श्रमिक र रोजगारदताबीचको मामिला हो या मजदुरका नाममा राजनीति गर्नेहरू र वास्तविक मजदुरबीचको मामिला हो ? यो प्रश्नको सही उत्तर नखोज्ने हो भने मुलुकको न त भौतिक विकास संभव छ न त आर्थिक समृद्धि सम्भव छ । यस मामिलामा सम्बन्धित क्षेत्रको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया