फेडेरर र अजारेन्कालाई उपाधि

क्यालिफोर्निया, ६ चैत । डेभिसकप फाइनलमा भोगेको पराजयलाई बिर्संदै पूर्व विश्व नम्बर एक रोजर फेडेररले आइतबार अमेरिकी प्रतिद्वन्द्वी जोन इज्नरलाई सोझो सेटमा हराई बिएनपी पारिबास टेनिस ओपनको उपाधि जितेका छन् ।
गत महिना डेभिसकपको फाइनलमा इज्नरसँग विरुद्ध स्तब्ध भएका फेडेररले ७–६ र ६–३ ले खेल जिते  र कीर्तिमान कायम गर्दै चौथोपटक पारिबास ओपन च्याम्पियन बने ।
महिलातर्फको खेलमा शीर्ष वरीयताकी भिक्टोरिया अजारेन्का च्याम्पियन बनिन् । उनले फाइनलमा आफूभन्दा एक स्थान तलकी मारिआ सारापोभाको चुनौती सोझो सेटमा समाप्त पारिन् । महिला टेनिस प्रतियोगिताको फाइनलमा सन् २००८ पछि पहिलोपटक शीर्ष दुईबीच भएको आइतबारको भिडन्तमा अजारेन्काले ६–२ र ६–३ ले खेल आफ्नो पक्षमा पारेकी थिइन् ।  दुवै स्पर्धाका विजेता खेलाडीले समान १० लाख अमेरिकी डलर हात पारे । त्यस्तै उपविजेता भएका दुवै खेलाडीको हातमा ५ लाख डलर प¥यो ।
सोह्रपटक ग्रान्डस्लाम विजेता बनेर कीर्तिमान कायम गरेका फेडेरर यस सिजनमै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।  पारिबास ओपन खेल्ने क्रममा उनले प्रतिद्वन्द्वी इज्नर– जसले सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिकलाई पराजित गरेका थिए– विरुद्ध सुरुआतमा कठिन चुनौतीको सामना गर्नुपरे पनि नतिजा आफ्नो विपरीत भने आएन । गत सिजनको युएस ओपन ग्रान्डस्लामयता स्विस स्टार फेडेररले खेलेका ४१ खेलमध्ये २ मा मात्र हार व्यहोरेका छन् ।
यसअघि फेडेररले सन् २००४ देखि लगातार तीन सिजन पारिबास ओपन टेनिसको उपाधि हात पारेका थिए । फेडेररले जिमी कोनर्स र माइकल च्याङको सर्वाधिक चार पारिबास उपाधि विजयको कीर्तिमान बराबरी गरेका हुन् ।
चौथोपटक यस प्रतियोगिताको उपाधि जितेसँगै फेडेररले एटिपी टुर्समा राफेल नाडालको उपाधि कीर्तिमान पनि बराबरी गरे । स्पेनिस स्टार नाडालले जितेका कीर्तिमानी  १९ एटिपी टुर उपाधिको बराबरी फेडेररले गरेका हुन् ।
उत्कृष्ट लयलाई कायम राख्ने क्रममा वेलारुसकी अजारेन्काले यो सिजन व्यक्तिगत चौथो उपाधि हात पारेकी हुन् । उनले चालु सिजनमा खेलेका कुनै पनि प्रतियोगिताको उपाधि गुमाएकी छैनन् ।
उनको अपराजित यात्रा २३ खेलमा आइपुगेको छ । सिजनमा यस्तो अपराजित यात्रा मार्टिना हिंगिजपछिको पहिलो लामो हो । यसअघि मार्टिना हिंगिज सन् १९९७ मा ३७–० ले सिजनको विजययात्रा लम्ब्याउन सफल भएकी थिइन् । एएफपी

प्रतिक्रिया