मन्त्रीहरूलाई लगाम लगाऊ !

मालामाल हुने ठाउँमा आफूले भनेको कर्मचारी सरुवा गर्न नमानेपछि सिचाइमन्त्री महेन्द्रप्रसाद यादवले सचिव बिन्द्रा हाडालाई अपशब्द प्रयोग गर्दै हप्काए । कर्मचारी नियमावलीविरुद्धको सरुवा सूची स्वीकृत गर्न नमानेपछि मन्त्री यादव सचिवमाथि खनिएका हुन् । वर्तमान सरकारका धेरै मन्त्री खरिदार सरुवा गर्दासमेत ‘नजराना’ लिने भनी आरोपित छन् । मन्त्री यादवले गति छाडेरै अपशब्द प्रयोग गर्नु र आफूले तयार गरेको सरुवा सूची स्वीकृत गराउन दबाब दिनाका पछाडि पनि कतै पैसाको खेल लुकेको त छैन प्रश्न उठ्नु अस्वाभाविक होइन । सिचाइमन्त्री यादवले योभन्दा अगाडि पनि योजना स्वीकृत नगरी पहिला नै घुस मागेकाले इन्जिनियरहरूको विरोधको सामना गर्नुपरेको थियो । अहिले आएर उनै यादव विवादमा तानिएका छन् ।
यादव एउटा उदाहरणमात्र हुन् । वर्तमान जम्बो मन्त्रिपरिषद्का धेरै मन्त्रीले डाक बढाबढको ढोका खोलेको समाचार पनि आइरहेका छन् । यी मन्त्रीले नियम, कानुन, विधान, नियमावली र सामान्य मर्यादासमेत पालना नगरी करोडौ“ कमाउन लागेका भन्दै कर्मचारी नै आन्दोलित हुन थालेका छन् । दुर्भाग्य त के भने, प्रधानमन्त्री डा बाबुराम भट्टराई मन्त्रीहरूलाई कारबाही गर्न नसक्ने गरी लाचार बनेका छन् । उल्टै नियम, कानुन मिचेर अवैधानिक काम गर्ने मन्त्रीलाई कारबाही गर्नाको सट्टा प्रधानमन्त्रीले सहसचिवलाई नै सरुवा गरिदिने लाचारी प्रकट गर्दैछन् । यस्तो लाचारीले कर्मचारीतन्त्रमा झन् निराशा छाउन सक्छ ।
कुनै पनि राष्ट्रमा मन्त्रीले कर्मचारी सरुवा गर्दैन । मातहतका कर्मचारीलाई कहा“ सरुवा गर्नुपर्छ र नरमकरम कसरी मिलाउनुपर्छ भन्ने सम्बन्धित मन्त्रालयको सचिवको काम हो । छिमेकी मुलुक भारतमा पनि कर्मचारी सरुवाका बारेमा मन्त्रीले चासो राख्दैनन् । त्यहा कर्मचारीको सरुवा–बढुवाको मापदण्ड छ । त्यही मापदण्ड बमोजिम कार्य सम्पादन हुन्छ । राम्रा कुरा नसिक्ने नेपाली मन्त्रीले भने राष्ट्रको बेइज्जत गर्दै कर्मचारी गिजोल्ने काम गरेका छन् । यस्ता कार्य रोक्न प्रधानमन्त्री डा. भट्टराईले मन्त्रीहरूमाथि कारबाही गर्ने र कर्मचारी सरुवा–बढुवाको मापदण्ड तयार गर्नुपर्ने हो । तर, उनी अहिले आफ्नो कुर्सी रक्षाको चिन्ताबाट ग्रसित भएका हु“दा ती काम गर्न सक्ने अवस्थामा छैनन् । परिणामतः चारैतिर अराजक स्थिति, अमर्यादित कार्य र कुशासन देखापरेको छ ।
मन्त्रीहरूले मात्र होइन कर्मचारीहरूले पनि नियम, कानुन र विधान उल्लङ्घन गरेका छन् । कर्मचारीका नाइके सचिवहरू नै मालमाला हुने मन्त्रालयमा सरुवा हुन लालायित हुन थालेपछि मन्त्रीहरूले भेउ पाए र सचिवहरूलाई हेप्न थाले । कर्मचारी सरुवाको सवालमा मन्त्रीले कुनै सरोकार राख्न नपाउने स्थिति सचिवहरूले बनाउन सक्थे, तर लालची कर्मचारीले त्यसो गरेनन्, जसले गर्दा अहिले कर्मचारी संयन्त्र नै बदनाम हुन पुगेको छ । गृह, सामान्य प्रशासन, महालेखा परीक्षकको कार्यालय र अन्य कार्यालयमा समेत कर्मचारीले अभद्र व्यवहार प्रदर्शन गरे । सरुवा र बढुवाको मापदण्ड तयार गर्न दबाब दिनुपर्नेमा सबै कर्मचारी युनियन राम्रालाई होइन ‘हाम्रा’ लाई ‘मालवाला’ कार्यालयमा सरुवा गर्न लागिपरेका छन् । यो परिपाटी तुरुन्तै रोकिनु पर्छ । कानुनी राज्य स्थापना गर्न र सुशासन कायम गर्न नियमविपरीत काम गर्ने मन्त्री र कर्मचारीलाई
समेत कारबाही गरिनुपर्छ । होइन भने यसले मुलुकमा अराजकता बढाउने छ ।

प्रतिक्रिया