आफू नेपाल फर्किन लागेको भन्दै देउवाले भने— ‘ममाथि प्रतिशोधको व्यवहार हुन सक्छ’

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू नेपाल फर्किन लागेको जानकारी दिँदै आफूमाथि राज्यबाट प्रतिशोधपूर्ण व्यवहार हुन सक्ने आशंका व्यक्त गरेका छन् । बिपी कोइरालाको स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै देउवाले फरक विचार राख्नेमाथि राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा दमन र दबाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने बताएका हुन् । ‘यस्तो संस्कृतिको विरोध गर्नु र त्यसलाई पराजित गर्नु नै नेपाली कांग्रेसको ऐतिहासिक दायित्व र अस्तित्वको आधार हो । यस मूल्यमा कुनै पनि प्रकारको सम्झौता विगतमा सम्भव थिएन, आज पनि छैन र भविष्यमा पनि हुनेछैन,’ देउवाले भनेका छन् ।

उनले आफू नेपाली भूमिमा पुनः पाइला टेक्दै गरेको उल्लेख गर्दै सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा आफ्नो पूर्ण आस्था र समर्पण रहेको बताएका छन् । उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादसँगै संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, युवा पुस्ता तथा आम नेपाली जनतासँग आग्रह गरेका छन् । ‘यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ । तर, म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा पूर्ण आस्था र समर्पण भाव राख्दछु,’ देउवाले भनेका छन् ।

देउवाले बिपीको नेतृत्वमा सुरु भएको नेपालको राजनीतिक यात्रामा आफू सहभागी हुन पाउनु जीवनको सबैभन्दा ठुलो सौभाग्य भएको बताउँदै बिपीले आफूमाथि गरेको विश्वास, दिएको जिम्मेवारी र सिकाएको लोकतान्त्रिक संस्कारले आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई मार्गदर्शन गरेको उनले उल्लेख गरेका छन् । ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादसहितको मेलमिलाप र जनताको सर्वोच्चताप्रति उहाँको अटल निष्ठा नै मेरो राजनीतिक जीवनको प्रेरणास्रोत रहँदै आएको छ,’ देउवाले सन्देशमा भनेका छन् । उनले विगत ६ दशकभन्दा बढी समय नेपाली कांग्रेसको साधारण कार्यकर्तादेखि पार्टीको नेतृत्वसम्म आइपुग्ने यात्रामा हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गर्ने अवसर पाएको स्मरण गरेका छन् । जेल, प्रतिबन्ध, राजनीतिक दमन र अनेकौँ कठिन परिस्थितिका बीच पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान कहिल्यै परिवर्तन नभएको उनको भनाइ छ । ‘किनकि मेरो विश्वास सधैँ एउटै रह्यो— प्रजातन्त्रभन्दा ठुलो कुनै विकल्प हुँदैन र जनताको अधिकारभन्दा ठुलो कुनै शक्ति हुँदैन,’ देउवाले भनेका छन् ।

उनले नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा शक्तिका रूपमा कांग्रेसले हरेक प्रकारका निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी प्रवृत्तिविरुद्ध अविचलित संघर्ष गर्दै आफ्नो गौरवपूर्ण राजनीतिक यात्रा पूरा गरेको बताएका छन् । कांग्रेसले आफ्नो लामो राजनीतिक यात्रामा लोकतान्त्रिक आन्दोलनको नेतृत्व मात्र नगरी राष्ट्रले सामना गरेका कठिन घडीमा पनि जिम्मेवार भूमिका निर्वाह गरेको उनको दाबी छ । देशलाई हत्या, हिंसा र द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याउने नेतृत्वदायी भूमिकाका साथै संविधानसभामार्फत् संविधान निर्माण, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण तथा कोभिड–१९ महामारीका चुनौतीबीच जनताको जीवन र लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन कांग्रेसले आफ्नो जिम्मेवारी इमानपूर्वक निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।

उनले जनमतलाई जनताको सामूहिक आत्मनिर्णयको अधिकार भन्दै जनमत नै राष्ट्रको भविष्य निर्धारण गर्ने सर्वोच्च शक्ति भएको उल्लेख गरेका छन् । लोकतन्त्र कमजोर हुँदा राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता दीर्घकालसम्म सुरक्षित रहन नसक्ने भन्दै लोकतन्त्रको रक्षा गर्नु नै राष्ट्रको रक्षा गर्नु भएको उनको भनाइ छ । देउवाले गत फागुनमा सम्पन्न निर्वाचन हिंसा, त्रास र असहज राजनीतिक वातावरणको पृष्ठभूमिमा भए पनि जनताले, विशेष गरी युवा पुस्ताले नयाँ जनादेश दिएको उल्लेख गरेका छन् । प्रतिपक्षको जिम्मेवार भूमिकाबाट लोकतन्त्र, सुशासन र राजनीतिक स्थिरतालाई बलियो बनाउन रचनात्मक सहयोग गर्ने आफ्नो स्पष्ट प्रतिबद्धता रहेको उनले बताएका छन् ।

आफ्नो नेतृत्वमा कांग्रेसले समानता, सामाजिक न्याय र समावेशितालाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण निर्णय गरेको दाबी गर्दै देउवाले अहिले देशलाई अझ व्यापक दृष्टिकोण, गहिरो सहकार्य र दृढ राष्ट्रिय संकल्पको आवश्यकता रहेको बताएका छन् । ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ,’ उनले भनेका छन्, ‘इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ ।’

प्रतिक्रिया