हाम्रो खुकुरी केवल एउटा औजार मात्र होइन, यो धातु विज्ञानको सांगीतिक कविता हो । यसलाई विज्ञानको भाषामा बुझ्ने र कलाको भाषामा महसुस गर्ने हो भने, यसले विश्व बजारमा अझै नयाँ उचाइ चुम्ने निश्चित छ । आरनको त्यो रापमा केवल धातु मात्र पाक्दैन, हाम्रो संस्कृति र इन्जिनियरिङको गौरव पनि चम्किरहेको हुन्छ ।

कला र शिल्प
पृथ्वीको गर्भबाट निकालिएको ढुंगा जब आगोको पोलाइ र हथौडाको पिटाइमा आउँछ, तिनै ढुंगाहरू मानिसलाई चाहिने सुन्दर र बहुउपयोगी बस्तुहरूमा परिणत हुन्छन् । धर्तीबाट उत्खनन गरिएको खनिज प्रशोधन गर्दा प्राप्त हुने फलाम मानव सभ्यताका लागि वरदान हो । खनिज प्रशोधनपश्चात् प्राप्त फलामलाई उच्च तापक्रममा तताएर पग्लिएको तरल धातुलाई कास्टिङ र मोल्डिङ प्रक्रियाबाट इच्छित आकारको मोल्डमा खन्याई चाहिएको ठोस आकारमा ढाल्न सकिन्छ ।
फलामलाई तरल रूपमा नपगालीकन तताएरै फलामको फैलने प्लास्टिक गुणको उपयोग गर्दै उच्च दबाब प्रयोग गरेर डिफर्मेसन प्रविधिहरू जस्तै रोलिङ, फोर्जिङ, बेन्डिङ र एक्सट्रुजनबाट चाहिएको आकार दिइन्छ । फलामलाई काटेर सामग्री हटाइ चाहिएको आकार वा बस्तु बनाउने प्रक्रिया मेसिनिङ हो । आवश्यक साइज र आयामहरू प्राप्त गर्न लेथ, मिलिङ, ड्रिलिङ र ग्राइन्डिङ मेसिनजस्ता उपकरणहरू प्रयोग गरिन्छ । त्यस्तै फलामको वरदान भनेको यसलाई सजिलै र मजबुत रूपमा जोड्ने र एसेम्बल गर्न सकिनु हो । वेल्डिङ, ब्रेजिङ, सोल्डरिङ र फास्टनिङ प्रक्रियाबाट जोडेर धेरै भागहरूलाई एउटै कम्पोनेन्ट वा स्वरूप बनाउन सकिन्छ । फलामका बस्तुको सुन्दरता र सुरक्षाका लागि सर्फेस टेक्नोलोजीहरू इलेक्ट्रोप्लेटिङ, पोलिसिङ वा पेन्टिङ प्रयोग गरिन्छ ।
फोर्जिङमा हथौडा वा प्रेसको प्रयोग गरेर दबाब र चोटिलो बलमार्फत् ठोस धातुलाई सोचिएको आकारमा बदलिन्छ । फोर्जिङ गरिएको बस्तुमा कास्टिङको तुलनामा उच्च स्ट्रेन्थ, राम्रो गे्रन स्ट्रकचर र सुधारिएको स्टे«स रेसिस्टेन्स हुन्छ । कास्टिङ अप्ठेरा आकार, धेरै परिमाणका उत्पादन, तुलनात्मक पातलो र कम बलियो बस्तु बनाउन प्रयोग गरिन्छ ।
स्टिलको फोर्जिङ र कास्टिङको विकास हजारौँ वर्षदेखि चलिआएको छ, जुन प्राचीनकालमा विश्वकर्मा, कामी, लोहारको आरन हुँदै ढलाइको मोल्डको विकासका साथ स्वचालित र कम्प्युटर–सिमुलेटेड औद्योगिक प्रक्रियाहरूमा विकसित हुँदै आएको छ ।
तामा र सुनजस्ता धातुहरूको फोर्जिङ र कास्टिङको प्रारम्भिक इतिहास ४०००–३००० इसापूर्व सुरु भएको थियो । १८०० ईसापूर्वमा स्टिल उत्पादनको प्रारम्भिक प्रमाण भए पनि १५०० इसापूर्वतिर फोर्जिङको निशान भेटिन्छ । उता ६०० ईसापूर्वमा मात्र चीनमा पहिलो कास्ट आइरन वस्तुहरूका प्रमाण पाइन्छ । कास्य तोपको इतिहास सन् १३१३ तिरै भेटिए पनि सन् १८०० ताकादेखि नै औद्योगिक युग सुरू भएको तर फलामको फोर्जिङ र कास्टिङ विधि प्रयोग गरेर कलाकृतिहरू खासै निर्माण भएको पाइँदैन । तर तामा र काँसको फोर्जिङ र कास्टिङबाट थुप्रै सालिक र कलाकृति बनाएको पाइन्छ ।
औद्योगिक मेसिनरी कम्पोनेन्टहरू जस्तै कलाको लागि पनि फोर्जिङमा टिकाउ र हातले बनाइने सरल मूर्तिकलाका लागि राम्रो हुन्छ, जबकि मिहीन बुट्टादार, जटिल आकारहरू वा ठुला डिजाइनहरूका लागि कास्टिङ उत्कृष्ट हुन्छ ।

आधुनिक, टिकाउ, र मौसम प्रतिरोधी मूर्तिकलाहरूका लागि स्टेनलेस स्टिल प्रमुख विकल्प हो । अन्य लोकप्रिय, कम लागतका विकल्पहरूमा पिटेर सजिलै आकार बदल्न, खिया लागेको आकर्षक सतह देखाउन, कलात्मक फर्निचरका लागि बांगोटिंगो बनाउन रट आइरन र माइल्ड स्टिल प्रयोग गरिन्छ । कटिङ र वेल्डिङ प्रविधिको विकाससँगै फलामका मजबुत र आकर्षक कलात्मक स्वरूपका स्तम्भहरू निर्माण सम्भव भएको छ । यसअघि फलामको उत्पत्तिसँगै फोर्ज प्रक्रियाबाट औजार, हतियार र घरायसी भाँडाकुँडा बनाइन्थे । ती सामग्री धेरै कलात्मक नभए पनि फलामका शिल्प र कलाका आधारस्तम्भ थिए ।
फलामका कलाकृति थोरै मात्र पाइए पनि शताब्दीयौँदेखि, ‘कला र शिल्प’ एकअर्काका पुरकका रूपमा लिने गरिएको छ । फलामको काम कला हो वा यो शिल्प हो ? के यो दुवै हुन सक्छ ? फलामबाट बनेका सजावटी कलाहरू वा घरायसी वास्तुहरू ‘कला र शिल्प’ दुबै हुन सक्छन् । कला र शिल्पबीचको भिन्नता थोरै मात्र हुनसक्छ । शिल्पमा प्रक्रिया प्रमुख हुन्छ र डिजाइनसहितको अन्तिम परिणाम कलाको केन्द्रबिन्दु हो । प्रक्रिया केन्द्रबिन्दु होइन । तथापि शिल्पबिनाको कला र डिजाइन पूर्ण होला र ? शिल्प र कला त पूर्वीय सभ्यतामा परापूर्वकालदेखि नै चल्दै आएको छ र हामीमा ज्ञान पनि छ । तर डिजाइनको नेपाली वा हिन्दीमा शब्द नै छैन । त्यसैले सामान्यतया हामी डिजाइनमा कमजोर छौँ ।
शिल्पको उदाहरणका लागि विश्वकर्माहरूलाई लिऊँ, परम्परागत तरिकाले अनुशासित ज्ञानमा डुबेर आफ्नो काममा वर्षौंको अभ्यास फलाममा लागू गर्दछन् । डिजाइन, अनुपात र शैलीको साथ निर्माण कार्य गर्दछन् । यसलाई धेरैले शिल्प भनेर सम्बोधन गर्नेछन्, किनकि यसमा प्रक्रिया हावी हुन्छ । अर्को उदाहरण चित्रकारको कामलाई लिऊँ । जसको काम पनि वर्षौंको अनुशासन, दृश्य अनुपात र शैलीले समृद्ध हुन्छ र सम्भवतः यो अद्भुत र कल्पनाशील हुनेछ । यसलाई कला भनिन्छ । डिजाइनलाई कसरी व्याख्या गर्ने होला ? नेपालीको गौरब खुकुरी शिल्प, कला वा डिजाइन के होला ?
हतियार : अमानवीय अस्त्र वा विकासको औजार
काट्ने उपकरणहरू मानव सभ्यताको विकासको आधारभूत बस्तु हुन् । मानव जातिको हतियार विकास र प्रयोग गर्ने क्षमताको कारणले मानिसहरू अन्य प्राणीहरूभन्दा फरक र विकसित छन् । मानव जातिको जंगली युगबाट आधुनिक समाजसम्मको यात्राको मुख्य माध्यम पनि हतियारको प्रयोग हो । पृथ्वीमा उपलब्ध प्राकृतिक स्रोतको स्वरूप र प्रयोगमा हेरफेर, भोजनका लागि सिकार र उत्पादन दक्षतालाई बढाएर ढुंगेयुगदेखि आधुनिक औद्योगिक समाजसम्मको प्रगतिको साधन पनि काटने हतियार हुन् । बाँच्नका लागि ढुंगाका उपकरणहरूबाट सुरु भएको मानव जातिको यात्रा, धातु, सिरामिक र डायमन्ड जडित कटिङ टुल्सको उपयोग गर्दै उत्पादकत्व र गुणस्तरमा सकारात्मक योगदान दिँदै दिगो विकास र वातावरण संरक्षणमा समेत सहयोगी भएको छ ।
यस्तो महŒवपूर्ण पहिलो औजार काठ, हड्डी, ढुंगाबाट बनेको थियो । मानिसले तामा र फलाम पत्ता लगाएसँगै धातुको औजारको युग सुरु भयो । एकल तŒव फलाम अन्य तŒवहरूसँग मिसाउँदा विभिन्न प्रकारका स्टिल मिश्र धातुहरू बन्दछन्, जुन घरायसी प्रयोगको लागि विभिन्न प्रकारका काट्ने उपकरणहरू, युद्धका लागि हतियारहरू वा स्टिल तथा हीरा जस्ता कडा सामग्रीहरूका लागि पनि काट्ने उपकरणहरूको रूपमा मेकानिकल इन्जिनियरिङमा प्रयोग गर्न सकिन्छ ।
परम्परागत शिल्पमा मूल्य अभिवृद्धि
मेकानिकल इन्जिनियरिङमा काट्ने उपकरणहरू कडा, वेज–आकारका उपकरणहरू हुन्, जुन धातुको निर्माणमा वर्कपिसबाट अतिरिक्त सामग्री हटाउन प्रयोग गरिन्छ । मेसिनिङ प्रक्रियाहरू टर्निङ, मिलिङ, ड्रिलिङमा प्रयोग हुने कटिङ टुल्सले उच्च तापक्रम र बलहरू सामना गर्छन् ।
कृषि कार्यका लागि काट्ने औजारहरू बाली र वनस्पति काट्न डिजाइन गरिन्छन् । त्यसबाहेक जमिन खन्ने र गोड्ने कार्यहरूका लागि आवश्यक विशेषतासहित मनग्य औजारहरू उत्पादन गरिएका छन् ।
घरेलु प्रयोजनका काट्ने औजारहरू भनेको धारिलो ब्लेड वा किनारा भएका उपकरणहरू हुन् जसलाई खाना, कागज, कपडा वा काठ जस्ता सामग्रीहरू काट्न, ताछ्न, स्क्र्याच गर्न वा आकार दिन डिजाइन गरिएको हुन्छ । तिनीहरूलाई सामान्यतया खाना तयार गर्ने भान्साका औजारहरू, कपडा, कागज, काठका लागि शिल्प उपकरणहरू र घर निर्माण तथा मर्मतका लागि हाते उपकरणहरूमा वर्गीकृत गरिन्छ । कुटो, कोदालो, हँसिया, खुर्पा, बन्चरो र चक्कुहरू नेपाली समाजमा प्रयोग गरिने काटने औजारहरू हुन् । तर नेपाली समाजमा एउटा यस्तो औजार छ, त्यसलाई घरायसी, कृषि, निर्माण मात्र होइन, सुरक्षामा पनि प्रयोग गरिन्छ । त्यो हो खुकुरी । खुकुरी नेपाली समाजको सर्वव्यापी र बहुउपयोगी उपकरण हो ।
खुकुरी फलामबाट बनाइन्छ । यसको शरीर, जुरो र बिँड कडा र बलियो हुनुपर्छ । यो खिया प्रतिरोधी र फ््रयाक्चर प्रतिरोधी हुनुपर्छ । यसको धार तिखो र कडा हुनुपर्छ । यी सबै एउटै बस्तुमा हुनु मेकानिकल इन्जिनियरिङका लागि चुनौती हो । खुकुरीको आकार र स्वरूप एउटा उत्कृष्ट डिजाइन हो ।

खुकुरीको उत्पत्ति र प्रारम्भिक इतिहास
खुकुरी एकप्रकारको काट्ने औजार वा हतियार हो । यो आकारमा चक्कुको दाइ हो वा तरबारको भाइ हो । तर यसको पातामा भएको दोहोरो कर्भेचरले यो अद्वितीय र उदाहरणीय छ । भारतीय उपमहाद्वीपका नेपाली भाषी बसोबास गर्ने पहाडी भूभागमा यसको ब्यापक प्रयोग हुन्छ, त्यसैले यसको उत्पत्ति र विकास पनि यतै भएको हुनुपर्छ । नेपालीले जीवनयापनका लागि काट्ने, ‘मुलादेखि गर्दन’सम्म, ‘काठदेखि हाड’ सम्म, ‘जन्मँदाको सालनालदेखि मर्दा बोक्ने बाँस’सम्मको लागि बहुउद्देश्यीय र बहुउपयोगी काम गर्दछ । खुकुरी नेपालको राष्ट्रिय हतियार हो, परम्परागत रूपमा नेपालीभाषी गोर्खाहरूका लागि आधारभूत औजार हो, नेपाली र संसारभरका गोर्खाली सेनाको एक विशिष्ट हतियारको शान हो ।
नेपालको एकीकरण युद्धमा खुकुरीलाई मुख्य हतियारको रूपमा चित्रण गरिएको छ । पृथ्वीनारायण शाहभन्दा पहिले गोरखा वरपरका साना राज्यहरूबीचको युद्धमा पनि खुकुरी प्रयोग गरिएको थियो । मल्लकालका युद्धहरूमा खुकुरीको प्रयोग भएको ठोस प्रमाण भेटिँदैन । राष्ट्रिय संग्रहालयमा तिब्बतसँगको युद्धमा प्रयोग भएको खुकुरीको केही संग्रह छ । तत्कालीन राजा वा योद्धाहरूको चित्र वा सालिकमा हामीले देख्ने खुकुरीको आकार चित्रकारहरूको कल्पना हुन सक्छ । तर तिनीहरू हामीसँग भएको संग्रहभन्दा धेरै फरक छैनन् । हालै सामाजिक सञ्जालमा देखिएको खुकुरी भिरेको फोटो पहिलो विश्वयुद्धको हुनसक्ने नेपाली सेनाका १ जना निवृत्त जनरलको भनाइ छ । बेलायतमा यस्ता फोटो संग्रह हुन सक्छन् । तिनको आकार अध्ययन गरेर समयक्रममा विकसित डिजाइनबारे धारणा बनाउन सकिन्छ ।
१८१४–१८१६ को एंग्लो–नेपाल युद्धमा ब्रिटिस पूर्वी भारतीय कम्पनीको सेनासँग गोर्खाली सैनिकहरूले खुकुरीले नै लडे । सुगौली सन्धिमा ब्रिटिस भारतीय सेनामा नेपाली सैनिकहरू (गोर्खाहरू) को भर्तीको सुरुआतसँगै खुकुरी धेरै युद्ध रंगमञ्चहरूमा फैलियो । १९औँ शताब्दीको सुरुआतमा ब्रिटिस औपनिवेशिक मुठभेडबाट खुकुरीको विश्वव्यापी प्रतिष्ठा स्थापित भएको थियो । खुकुरी गोर्खालीको वीरताका लागि पर्यायवाची बन्दै गयो । खुकुरी र गोर्खा सैनिकका धेरै इतिहास खोतल्नै र कथाहरू लेख्नै बाँकी छ ।
शिल्प परम्परा
जातीय पेसाको परम्परा भएको नेपालमा खुकुरी उत्पादन ऐतिहासिक रूपमा फलामको काम गर्ने विश्वकर्मा, कामी वा लोहार जातिमा केन्द्रित छ । मल्लकाल र शाहवंशको उदयकालमा हतियार बनाउन भारतदेखि मुसलमानहरू झिकाइएको पनि कथन छ । नेपालका परम्परागत लोहारहरूले पुस्तादेखि पुस्तासम्म हस्तान्तरण गर्दै फोर्जिङ प्रविधि विकास र संरक्षण गरेका छन् । नेपालमा डिप्लोमा तहको मेकानिकल पढाइ भएको आधा शताब्दी र स्नातक तहको इन्जिनियर उत्पादनको तीन दशक बढी भए पनि नेपालको फलामलगायत धातुको फोर्जिङ उद्योग धानेको हाम्रा जातीय शिल्पीले नै हो । हामी इन्जिनियर त सफा लुगा लगाएर घुम्ने मेचमा बस्ने मात्र भयौँ ।
खुकुरी उत्पत्तिको हामीकहाँ लिखित प्रमाण छैन । संग्रहित खुकुरीको पनि वैज्ञानिक तरिकाले आयु परिक्षण गरिएको छैन । खुकुरी गोर्खा समुदायको चिनारी भए पनि विशेष गरेर डिजिटल दस्ताबेजहरूमा खुकुरीको उत्पत्ति भारतीय उपमहाद्वीपमा भएको भन्ने पाइन्छ । यस्तै प्रकारको हतियारको पाता प्रारम्भिक इजिप्सियनहरूले बोकेका थिए जसलाई ‘कोपेश’ भनिन्थ्यो । ग्रिकहरूले त्यो डिजाइनको प्रतिलिपि ‘कोपिस’ बनाए । त्यसपछि म्यासेडोनियनहरूले अगाडि घुमाउरो ब्लेड आकार प्रयोग गर्न थालेर यसलाई ‘माचियारा’ वा पछि ‘रोमन फाल्काटा’ भनेर सम्बोधन गर्न थाले । इन्टरनेटको बिस्तारसँगै थुप्रै प्रकारका नेपाली खुकुरी व्यावसायिक प्रयोजनकै लागि भए पनि ‘नेपाली’ भनेर संसारभरी अझै प्रख्यात हुँदैछ ।
खुकुरीको एनाटोमी
तौल, आकार र स्वरूपको आधारमा खुकुरीको नामाकरण र वर्गीकरण गरिएको पाइन्छ । तथापि खुकुरीको पहिचान भने स्थानअनुसार हुने गरेको छ । खुकुरीका विभिन्न भागहरूलाई फरक अंगको नाम दिइएको छ, जस्तै शरीर, जुरो र बिंड । इन्जिनियरिङ पार्टपुर्जा र कटिङ टुल्स जस्तै खुकुरी डिजाइन, सामग्री र उत्पादनको कुनै स्ट्यान्डर्ड छैन । उपभोक्ता अधिकारको दृष्टिबाट पनि खुकुरीको स्ट्यान्डर्ड र गुणस्तरको कुनै मानक छैन । त्यसैले फरक निर्माताले बनाएका खुकुरी फरक भए पनि तिनका प्रयोग र आयुमा खासै भिन्नत पाइन्न ।
नेपालमा चलनचल्तीमा रहेको खुकुरीमध्ये भोजपुरे खुकुरी मोटो बाक्लो ब्लेडको हुन्छ, सिरुपाते खुकुरी धेरै पातलो पातजस्तै हुन्छ । सल्यानी खुकुरी लामो र पातलो गहिरो पेट भएको हुन्छ । धनकुटे खुकुरी सजावटी प्रयोजन र निर्यातका लागि साधारण प्रकारको मेसिन प्रयोग गरेर बनाइन्छ । १८औँ र १९औँ शताब्दीको समयमा खुकुरीको डिजाइन कस्ता थिए होला ? किन फरक लम्बाइ र घुमाउरोपन, पेटको चौडाइ र तौल, मोटाइका होलान् ? सेना, विशेष गरेर ब्रिटिस गोर्खा सेनामा एकरूपता र फिनिसिङ नभई, स्ट्यान्डर्ड डाइमेन्सन र मापन भई सधैँ बिक्री र निर्यात गर्न सकिएला ?
परापूर्वकालमा कुन प्रकारको फलाम वा स्टिलको खुकुरी बन्थ्यो थाहा छैन । आजकल भने गाडीका भाँच्चिएका स्प्रिङ पत्ताहरूबाट बनेका हुन्छन् जुन टेम्पर्ड मार्टेन्साइट फेजमा हुन्छ । खुकुरीको ह्यान्डल भैँसीको सिङ, काठ वा हड्डीको बनाइन्छ ।
कम्प्युटरको विकाससँगै साधारणभन्दा साधारण मेसिनका पुर्जाको पनि स्ट्रेस एनालेसिस गरिन्छ । गुणस्तर र सुरक्षा सुनिश्चितताका लागि कम्प्युटर एडेड एनालेसिस एन्ड डिजाइन उपयोग गरेर अप्टिमाइजेसन गरी खुकुरीलाई प्रतिद्वन्द्वी हतियारहरू जापानी सामुराइ तरबार, शिखको कृपाण, प्राचीन रोमको ग्लेडियस तरबारभन्दा प्रसिद्ध बनाउनु पर्नेछ ।
सामाजिक प्रभाव
नेपाल सयौँ जातजातिहरूको देश हो । खुकुरी बनाउने विश्वकर्मा, लोहार वा कामी, पुरानो पेसामध्ये एक हो । नेपालमा १५ हजारभन्दा बढी विश्वकर्माहरू खुकुरी बनाउनमा संलग्न होलान् । फलामको काम विशिष्टीकृत सीप हो । अहिलेसम्म यो पेसामा अन्य जातिको खासै प्रवेश भएको छैन । जातीय विभेद उन्मूलनको नाममा अवसर भएको पेसाबाट विश्वकर्माहरू आरन छोड्दै गएका छन् । यो काम छोड्दा सामाजिक रूपमा छुवाछुतबाट मुक्ति त पाए होलान्, तर यथेष्ट सम्भावना हँुदाहुँदै विश्वकर्मा समुदाय पेसाबाट विमुख हुँदै छन् । खुकुरी जाबो सानो उपकरण हो, जसमा धातु, काठ र छालाको काम हुन्छ । खुकुरी व्यवसायले कामी र सार्की दुवै जातिको शिल्पकलाको रक्षा र सम्बद्र्धन गर्छ । हामी तथाकथित सम्भ्रान्त र बुद्धिमान भनिएकाहरूको जिम्मेवारी यी शिल्पकर्मीहरूको पेसालाई सम्मानित र सबल बनाउनु छ ।
आर्थिक प्रभाव
सन् २०१५ मा नेपालको निर्यातको आठौँ सूचीमा फलामजन्य बस्तु थियो जुन कुल निर्यातको ३.८ प्रतिशत र २६.७ मिलियन अमेरिकी डलरको कारोबार थियो । सन् २०१७ मा कुल निर्यातको ५.८ प्रतिशत हँुदा ४४२.६ मिलियन डलर थियो । सन् २०२४ मा आइपुग्दा निर्यात १०१ मिलियन डलरमा झरेको छ । फलामका निर्यात उत्पादनहरूमा फ्ल्याट–रोल्ड उत्पादनहरू, स्टिलको तार र भाँडाकुँडा, घरायसी सामानहरू र निर्माणको टिएमटी बारहरू पर्छन् । फलाम र स्टिलको निर्यातमा खुकुरी निर्यातको प्रतिशत ५ प्रतिशतभन्दा कम हुन सक्छ । खुकुरी उत्पादन र निर्यातले मूल्य अभिवृद्धि गर्नेछ र नेपाली अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनेछ ।
नवप्रवर्तन
हाम्रो घर र भान्छाबाट विस्तारै खुकुरी हराउँदै गइरहेको छ र यो दुर्गापूजामा हतियार पूजा गर्न मात्र प्रयोग गर्न थालिएको छ । दैनिक भान्साको कटाइका लागि आयातित विदेशी नाइफ र चपिङबोर्डको बानी परिसकेको छ । जब १०० रुपैयाँ किलोको स्टिल तताएर पिटिन्छ र यसबाट स–साना बस्तु बनाइन्छ, यसको मूल्य हजारौँ हुन सक्छ । त्यसलाई अझ पिट्दै एकदमै मसिनो सियो बनायो भने १ किलो स्टिलको मूल्य लाखौँ पनि पुग्न सक्छ । स्विस सैनिकहरूलाई आपूर्ति गरिने चक्कु निर्माताहरूमध्येको एक भिक्टोरिनक्स हो । तिनका सबै उत्पादनहरू स्विस आर्मी नाइफबाट प्रेरित छन् ।
स्विस नाइफले यस्तो ब्रान्ड बनाएको छ, जसले सस्तो प्रतिस्पर्धा र नक्कलको सजिलै सामना गर्छ । भिक्टोरिनक्सले सार्वजनिक वित्तीय रिपोर्ट जारी गर्ने नगरे पनि सन् २००६ एकै वर्षमा ४ हजार ४१७.७७ मिलियन डलरको बिक्री भएको पाइएको थियो । श्रममा आधारित भिक्टोरिनक्स कारखानामा कार्यरत लगभग १ हजार कामदारहरूले एकैदिन २८ हजार स्विस आर्मी नाइफहरू बनाउँथे । स्विस आर्मी नाइफ यस्तो बस्तु हो जसमा निरन्तर नवप्रवर्तनको उपयोग गरिएको हुन्छ । ग्राहकको आवश्यकताको हरेक चिज स्विस आर्मी नाइफमा समावेश गरिएको हुन्छ ।
स्विस आर्मी नाइफमा जस्तै हाम्रो खुकुरीको दापमा पनि चकमक र कर्द परापूर्वदेखि नै राख्ने गरिन्छ । सैनिक र ग्राहकलाई चाहिने अन्य थुप्रै आवश्यकता समावेश गर्न सकेको भए खुकुरी पनि प्रत्येक पर्यटकमार्फत् संसारका करोडौँ घरमा पुग्थ्यो । त्यसको असर हाम्रो अर्थतन्त्रमा राम्रो हुन्थ्यो । नवप्रवर्तनका पारखी युवाहरूले खुकुरीका दापमा चार्ज गर्ने पावर बैंंक, खुकुरीको पातामा सैनिकको व्यक्तिगत विवरण सहितको क्युआर कोडको चित्र, महिला सैनिकलाई सिंगार गर्न र पुरुषलाई दाह्री काट्न टलक्क टल्कने ऐना राख्नसके खुकुरीको मूल्य र बिक्री कति बढ्थ्यो होला ? खुकुरीका यत्रो नाम र शान हामीकहाँ रक्सी र चुरोटको ब्रान्डको रूपमा मात्र प्रयोग भएको छ ।
खुकुरी बनाउने परम्परागत फोर्जिङ प्रक्रियाप्रतिको हाम्रो प्रेम र स्नेह टर्बाइन ब्लेड बनाउने हाम्रो आवश्यकताको कारणले हो । नेपाली लोहारहरूको फोर्जिङको ज्ञान र सीप अन्य इन्जिनियरिङ वा घरायसी उत्पादनहरूको लागि प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ । नर्वेमा तालिम प्राप्त काठमाडौँ विश्वविद्यालयमा जलविद्युत् टर्बाइनमा काम गरिरहेका हामीलाई थाहा छ कि नर्वेमा टर्बाइन उद्योग पनि कृषि औजार निर्माणमा काम गर्ने लोहारको जगमा स्थापित भएको थियो । हामी पनि यस्तै नवप्रवर्तनको पर्खाइमा छौँ ।
आरनको आगोबाट जन्मिने धातुकला र इन्जिनियरिङको विरासत
नेपालको मौलिक पहिचान बोकेको खुकुरी केवल एक ऐतिहासिक धारिलो हतियार मात्र होइन, यो परम्परागत शिल्प, व्यावहारिक विज्ञान र कलात्मक चेतनाको ज्वलन्त उदाहरण हो । खुकुरीको निर्माण प्रक्रिया अनुभव, अवलोकन र अभ्यासका आधारमा पुस्तान्तर हुँदै विकास गरेको प्रविधिमा आधारित छ, जसको आधुनिक इन्जिनियरिङका सिद्धान्तहरूसँग आश्चर्यजनक समानता छ । एउटा सामान्य फलामको पत्तीलाई हजारौँपटक घनले ठटाएर, आगोमा पोलेर र पानीमा चोबेर जुन रूप दिइन्छ, त्यो प्रक्रिया आफैँमा एउटा उत्कृष्ट आर्ट हो । एक इन्जिनियरको नजरबाट हेर्दा, खुकुरी निर्माणको हरेक चरणमा विज्ञानले कलालाई जलप लगाइरहेको हुन्छ ।
आरनमा हथौडाले फलाम पिँट्दा संगीत निस्कन्छ । खुकुरीको निर्माणका क्रममा फलाम तताउँदा उत्पन्न हुने विभिन्न रंग आफैँमा एउटा क्यानभास हो । एउटा निपुण चित्रकार हुन जसरी रंगको ज्ञान आवश्यक छ, फलाम पिट्न आवश्यक तापक्रम पनि तातो फलामको रंग हेरेर थाहा पाउनुपर्ने हुन्छ । खुकुरीको ‘डिफरेन्सियल हिट ट्रिटमेन्ट’ प्रविधि केवल मजबुतीका लागि मात्र होइन, यो धातुको भित्री संरचनामा खेलिने एउटा कला हो । खुकुरीको धारमा मात्र पानी हालेर सिर्जना गरिने कठोरता र पिठ्युँको लचिलोपनले धातुकोभित्र एउटा अदृश्य रेखाचित्र बनाउँछ, जसले खुकुरीको गुणस्तरको जानकारी दिन्छ ।
कलात्मक दृष्टिकोणबाट, यो ‘कठोरता र कोमलता’को सन्तुलन जीवनको दर्शनजस्तै छ । धारमा ‘मार्टेन्साइट’को कठोरताले दृढता जनाउँछ भने पिठ्युँको ‘पर्लाइट’को संरचनाले लचिलोपन देखाउँछ । इन्जिनियरिङको यो जादुले नै खुकुरीलाई प्रहार गर्दा नभाँचिने र काट्दा नकुच्चिने बनाउँछ, जुन एउटा सफल मूर्तिकलाको आधारभूत गुण हो ।
खुकुरीको सतहको सौन्दर्यले विज्ञानमा क्यानभास खोज्छ । प्राविधिक प्रक्रिया कलात्मक अभिव्यक्तिको माध्यम बन्नु रोचक पक्ष हो । हथौडाको चिन्हले प्रत्येक खुकुरीलाई अद्वितीय बनाउँछ, हिट ट्रिटमेन्टपछि देखिने हल्का रङ परिवर्तनले दृश्य सौन्दर्य थप्छ, र पालिसका रेखाहरूले प्रकाशसँग खेल्दै कलात्मक प्रभाव सिर्जना गर्छन् । यसैले खुकुरी निर्माण केवल उत्पादन प्रक्रिया नभई धातुलाई जीवन दिने कला हो । यही परम्परागत प्रविधि आधुनिक कलात्मक धातु कार्यमा पनि प्रयोग गर्न सकिन्छ, जहाँ फरक ताप नियन्त्रण, नियन्त्रित चिस्याउने दर र सतह बनावट प्रयोग गरेर कला, सजावटी सामग्री वा आधुनिक डिजाइनका वस्तुहरू निर्माण गर्न सकिन्छ । सर्फेस इन्जिनियरका लागि खुकुरीको ब्लेड एउटा खाली क्यानभास हो । ‘मिरर फिनिसिङ’ प्रक्रियामा खुकुरीलाई यति चिल्लो बनाइन्छ कि त्यसमा मानिसले आफ्नो अनुहार ऐनामा जस्तै देख्न सकिन्छ । यो चिल्लोपनले केवल खिया मात्र रोक्दैन, यसले धातुलाई एउटा प्रेसियस ज्वेलरी जस्तो चमक दिन्छ ।
डामास्कस आर्ट, इचिङ, अक्सिडेसन र थर्मल आर्ट प्रविधिले कला र प्रविधिको सह–सम्बन्धको गहिरो वर्णन गर्दछ ।
डामास्कस आर्ट, कार्बन र निकल भएका स्टिलका तहहरूलाई बारम्बार फोल्ड गर्दै पिट्दा सतहमा जुन अलौकिक ढाँचा निस्कन्छ, त्यो कुनै चित्रकारले ब्रसले कोरेको भन्दा कम हुँदैन । यो सर्फेस इन्जिनियरिङको यस्तो पाटो हो जहाँ धातुको आफ्नै वंशाणुगत विवरण, डिएनए सतह बाहिरै बुट्टाको रूपमा प्रकट हुन्छ । तेजाब आक्रमणको त्रासदीको सम्झना हँुदाहँुदै पनि केमिकल इचिङ सतह विज्ञानमा प्रयोग हुने एसिडको नियन्त्रित प्रयोग विधिमार्फत् खुकुरीको पातामा फूल, पौराणिक गाथाहरू वा सूक्ष्म बुट्टाहरू कोर्न सकिन्छ । यसले खुकुरीलाई एउटा ऐतिहासिक दस्तावेजमा रूपान्तरण गर्न सक्छ ।
फलामलाई तताउँदा त्यसले आफ्नो रङ परिवर्तन गर्छ, पहेँलो, प्याजी, नीलो र त्यसपछि खरानी । यसलाई ‘टेम्परिङ कलर’ भनिन्छ । एक इन्जिनियरले यसलाई तापक्रमको सूचक मान्छ भने एक कलाकारले यसलाई थर्मल पेन्टिङको रूपमा प्रयोग गर्न सक्छ । खुकुरीको सतहमा तापक्रमको सूक्ष्म नियन्त्रण गरेर जादुइ इन्द्रेणी रङहरू निकाल्न सकिन्छ, जसले यसलाई कुनै महँगो सजावटको वस्तुभन्दा कम देखिन दिँदैन ।
खुकुरीको मुठीको बनावट र ब्लेडको तौलको सन्तुलन इन्जिनियरिङको अर्को पाटो हो । तर यसलाई चलाउँदा हातमा हुने महसुस विशुद्ध कलात्मक र मनोवैज्ञानिक पक्ष हो । खुकुरीको ‘कोप्रो’देखि ‘दाप’को डिजाइनसम्म, हरेक कुरामा ज्यामितीय शुद्धता र सौन्दर्यको सन्तुलन मिलाइएको हुन्छ । यो मानव–मेसिन अन्तरसम्बन्धको एउटा उत्कृष्ट उदाहरण हो, जहाँ प्रयोगकर्ता र हतियारबीच एउटा भावनात्मक सम्बन्ध गाँसिन्छ ।
परम्परागत आरनको सीपलाई आधुनिक नानो–कोटिङ र आर्टिस्टिक इन्ग्रेभिङसँग जोड्न सक्यौँ भने, नेपाली खुकुरी विश्वका धनाढ्यहरूका लागि संकलनयोग्य सामग्री बन्न सक्छ । यसलाई एउटा यस्तो कलाकृतिको रूपमा बेच्न सकिन्छ, जसमा विज्ञानको कठोरता र नेपाली कलाको कोमलता दुवै सजिएको हुन्छ । खुकुरीको परम्परागत ज्ञान केवल विगतको सम्पत्ति होइन, भविष्यको कला र प्रविधिका लागि प्रेरणाको स्रोत पनि हो, जहाँ विज्ञान र कला छुट्टाछुट्टै होइनन्, बरू एउटै हथौडाको तालमा सँगसँगै नृत्य गर्छन् भन्ने देखाउँछ ।
अन्ततः नेपाली संस्कृतिको मुटु खुकुरी केवल एउटा धारिलो हतियार मात्र होइन; यो त मानव श्रम, धातु विज्ञान र कलात्मक अभिव्यक्तिको एउटा जीवन्त संगम हो । खुकुरी निर्माण प्रक्रिया एउटा यस्तो साधना हो जहाँ फलामले आफ्नो कठोरता त्यागेर कलाकारको इच्छाअनुसारको रूप धारण गर्छ । हाम्रो खुकुरी केवल एउटा औजार मात्र होइन, यो धातु विज्ञानको सांगीतिक कविता हो ।
यसलाई विज्ञानको भाषामा बुझ्ने र कलाको भाषामा महसुस गर्ने हो भने, यसले विश्व बजारमा अझै नयाँ उचाइ चुम्ने निश्चित छ । आरनको त्यो रापमा केवल धातु मात्र पाक्दैन, हाम्रो संस्कृति र इन्जिनियरिङको गौरव पनि चम्किरहेको हुन्छ ।
त्यसैले त होला नेपाल एकीकरणपश्चात् स्वाधीनताको रक्षार्थ हतियार उत्पादनका लागि रामेछाप जिल्लाको ठोसे फलाम खानीबाट निकालेको फलाम बन्दुकको नाल बनाउन ठोक्दै गर्दासमेत फलामका आकर्षक र कलात्मक बुट्टादार पानस बत्ती बनाउने गर्थे । जस्तै कठोर अवस्थामा पनि शिल्पीहरू कलाकार बन्छन् ।
खानी बन्द हँुदा कतिको मन रोयो होला, धरतीको मन नरुवाइ गोलको विकल्पमा हाइड्रोजन ग्याँसको प्रयोग गरेर आफ्नै हरित फलाम उत्पादन गरेर खुकुरी बनाई विश्व बजारमा फैलाउनसके नेपाली बहादुर मात्र होइन विद्वानको रूपमा पनि संसारमा पहिचान बनाउन सक्थे । धेरै घरहरूमा चुल्हो बल्ने मात्र होइन, कामी भनेर तिरस्कृत समुदायकर्मी बनेर संसारमै स्थापित हुन्थे होला । शुभकामना दिएर पन्छिने छुट हामीलाई छैन । प्राज्ञिक र प्राविधिक जगतकै जिम्मेवारले अछुत माने पनि हामी निरन्तर आरनको यस यज्ञमा पसिनाको आहुती दिइराख्नेछौँ । यही हाम्रो संकल्प हो ।
प्रतिक्रिया