उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका हुन् भने अन्य पदाधिकारी चुनावमार्फत् टुंगो लागेको हो । महासंघमा यसअघि रहेका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने अवसर यो नै अन्तिम हो । यसपछिको अर्को कार्यसमितिमा स्वतः अध्यक्ष हुने व्यवस्था गत वर्ष नै विधान संशोधनमार्फत् हटाइएको थियो । महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्दाको कार्यकाल ३ वर्षको छ भने अब प्रतिस्पर्धाबाट चुनिने अध्यक्षको कार्यकाल २ वर्षको हुनेछ ।

महांसघमा उपाध्यक्षसहित कुल ७३ पदका लागि प्रतिस्पर्धा भएकामा १३७ जनाले उम्मेदवारी दिएका थिए । ४ उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन भएको थियो । मतपरिणमअनुसार जिल्ला नगर, वस्तुगत (उपाध्यक्षबाहेक) र एसोसिएट गरी सबै क्षेत्रमा अञ्जन श्रेष्ठ प्यानलका उमेदवारहरू निर्वाचित भएका छन् । वस्तुगत समूहतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उमेदवार हेमराज ढकाल प्यानल, जसलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालको पनि समर्थन थियो, का नरेशलाल श्रेष्ठ ६३ मत ल्याएर विजयी भए भने श्रेष्ठ प्यानलका शिवप्रसाद घिमिरेले ६० मत पाए । नरेशलालबाहेक सबै उपाध्यक्ष तथा वस्तुगततर्फका १७ मध्ये १४ सदस्य श्रेष्ठ प्यानलबाटै निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार एसोसिएट उपाध्यक्षमा श्रेष्ठ प्यानलका प्रबलजंग पाण्डे १ हजार ७९ मत प्राप्त गर्दै निर्वाचित भए भने ढकाल प्यानलकी ज्योत्सना श्रेष्ठले ७५० मत पाइन् । पाण्डे सिटिजन्स इन्टरनेसनल बैंकका अध्यक्ष तथा विभिन्न व्यवसायमा संलग्न छन् । एसोसिएटतर्फ पाण्डे समूहबाट अधिकांश उम्मेदवार विजयी भएका छन् । महासंघको जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । निर्वाचन परिणामअनुसार शर्माले ८७ मत र श्रेष्ठले ८० मत प्राप्त गरेका छन् । ढकाल समूहबाट जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमियाले ५० र कल्पना गैरेले ३० मत मात्रै ल्याए ।

०००

अध्यक्ष श्रेष्ठका ५ प्रतिबद्धता

१. निजी क्षेत्र र सरकारबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने । सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन पहल गर्ने ।

२. उद्यमी भनेको शोषक होइन, सम्पत्ति निर्माता हो; व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो यो सत्य समाजमा स्थापित गर्न व्यवस्थित अभियान चलाउने ।

३. व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटी सुविधाको अभाव र विवाद समाधानको ढिलो प्रक्रिया समाधानमा अग्रसर रहने ।

४. देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्ने ।

५. महासंघ केन्द्रमा मात्र होइन, हरेक जिल्लामा, हरेक प्रदेशमा आफ्ना सदस्यहरूको आवाज बन्ने काम गर्ने ।

प्रतिक्रिया