संस्कृतिको समापन र विकृतिको बीजारोपणलाई माओवादीले क्रान्ति र परिवर्तनको छलाङका रूपमा बुझेको देखिन्छ । यही कारण उसले कतिपय ऐतिहासिक र राष्ट्रिय महत्वका चाडपर्व, परम्परा र दिवसलाई राष्ट्रको नियमित पात्रोबाट मेटिसकिएको छ । एकल र हिंसात्मक बाटोबाट हिँडेको हुँदा हिजोका उसका क्रियाकलाप त आलोचित भए नै आज सहकार्यबाट अगाडि बढ्नुपर्ने बेलामा समेत सहयात्री कसैसँग पनि सहमति नै नगरी राष्ट्रिय महत्वको कतिपय सवालमा एकल निर्णय गरी पेलेरै अगाडि बढ्ने प्रयत्न गरिरहेको छ । मुखले सहकार्य, समावेशिता, स्वायत्तता र अग्राधिकारको बेजोड पैरवीकर्ता जस्तो देखिए पनि व्यवहारमा माओवादी पक्षधरता, स्वेच्छाचारिता, एकाधिकार, स्वच्छन्दता र स्वनिर्णयलाई लागू गराउने रणनीतिक योजनाअनुसार काम गरिरहेको देखिन्छ । यसबाट न उसलाई कुनै राजनीतिक फाइदा भएको छ न त देशले निकास पाइरहेको छ, उल्टै थिति बिग्रिएको छ र दलहरूबीच हदैसम्म अविश्वास र द्वन्द्व बढेको देखिन्छ ।
शान्तिपूर्ण बाटोबाट हिँड्ने प्रतिबद्धता गरिसकेपछि माओवादीसँग दुईवटा मात्र विकल्प थिए । पहिलो, जनसेनाको मिसन पूरा भैसकेको हुँदा आफ्ना सम्पूर्ण जनसेना विघटन गरेर नागरिक पार्टीमा रूपान्तरण भई शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्ने । दोस्रो, सबैको सहमतिमा जनसेनालाई सबै दलको साझा स्वामित्व र शक्तिका रूपमा स्थापित गराउन तत्कालै साझा संयन्त्र बनाएर जिम्मा लगाउने । यी दुईमध्ये जुन बाटोबाट हिँडेको भए पनि दुवैतिर लड्डु मात्र थियो र देशले पनि धेरैअघि निकास पाइसक्थ्यो । तर, उसले यी दुवै कामका लागि अनिच्छा देखायो र हाम्रो युद्ध अझै जारी छ भन्दै दाउपेच र धोकाको राजनीतिबाट अगाडि बढ्यो । समयमा एक गल्तीलाई स्वीकार्न साहस नगरेमा दस बीस सय गल्ती हुँदै जान्छन् । परिणाम त्यस्तै भयो । दुई वर्षमा बन्नुपर्ने संविधान चार वर्षमा पनि बनेन । सहयात्री दलहरूबीचको सम्बन्ध नराम्ररी बिग्रियो । दलहरूभित्रै गुट उपगुट जन्मिए भने जनतामा निराशा बढायो । क्यान्टोनमेन्टमा रहेका जनसेनाको उत्साह सेलायो । परिवर्तनका लागि लागेका मुलुकभरका लाखौँ युवाको युगै हल्लाउने उत्साहमा पानी खन्याइयो ।
क्रान्तिकारी छलाङको नाममा दौरा–सुरुवाल औपचारिक राष्ट्रिय पोसाकबाट हटाइयो । पहिलो विकृति भित्र्याउने काम यहीँबाट सुरु भयो । यस्तो पोसाक कहिले, किन, कसरी सुरुआत भयो कसैलाई खासै चासोको विषय पनि थिएन । पुरानो समयमा सबै जातजातिका मानिसले निसङ्कोच लगाउने दौरा–सुरुवाल, टोपी नेपालीको पहिरन थियो र अन्तर्राष्ट्रिय जगत्मा समेत राम्रो पहिचान बनाइसकेको थियो । दौरा–सुरुवालसँगै कोट, टोपी लगाएमा नेपाली भनेर संसारले चिन्थ्यो । अहिले सबै जातजातिका महिला–पुरुष सबैले पेन्ट, सर्ट लगाउन थालिसकेका छन् । कुनै औपचारिक सभा, समारोह, दिवस आदिमा मात्र दौरा–सुरुवाल लगाउने गरिएको थियो । यसलाई कायमै राख्दा के फरक पथ्र्याे र ? ‘नदुखेको टाउको डोरी बाँधेर दुखाउने’ भनेजस्तै किन नचाहिने तमासा गर्नुपरेको हो ? हाम्रो हिमालतिर लगाउने बख्खु, दोचा र तराईमा लगाउने धोती आदि पहिरनलाई पनि राष्ट्रिय पोसाक घोषणा गरिदिँदा पनि के फरक पथ्र्याे ? आखिर दौरा–सुरुवालको विरोध गर्ने हामी सबै नेपाली निसङ्कोच अङ्ग्रेजहरूको पहिरन भए पनि पेन्ट, सर्ट नै लगाएर ठाँटिने गर्छाै र यसबाट हामीलाई कहिल्यै अपमानबोध भएको छैन ।
आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको सालिक भत्काइयो । २७ पुसमा मनाइँदै आएको एकता दिवस खारेज गरियो । माओवादीका कतिपय नेताबाट एकीकरण जस्तो महत्वपूर्ण ऐतिहासिक घटनालाई साम्राज्यवादी आक्रमण भनी अपव्याख्यासमेत गरियो । मुलुक लामो समयको द्वन्द्वबाट जर्जर र विभाजित भैरहेको समयमा एकता र मेलमिलापको मार्गबाट हिँड्नुपर्नेमा एकता दिवस नमान्नु र आफ्नो देशको एकीकरणलाई साम्राज्यवादी आक्रमण भनी जनसाधारणको दिमागमा उनको यस महान् कार्यप्रति नै घृणा जगाउन खोज्नुले के अर्थ दिन्छ ? जुन देशको परिवर्तन, विकास र समृद्धिका लागि यति ठूलो उतारचढाव भैरहेको छ, त्यसप्रतिको यस्तो खोटो दृष्टिकोणले हामीलाई कुन ठाउँमा पु¥याउला ? यो अर्काे विकृति थियो । त्यस्तै नेपाली सेनामा माओवादी जनसेनाको प्रक्रियाबिना समूहगत प्रवेश र मधेसी जनसमुदायको पनि त्यसरी नै समूहगत प्रवेश गराउन मधेसी मोर्चासँगको लेनदेनको जुन कुरा भयो, यसले नीतिगत अराजकताको लागि नजिर स्थापित गराउँथ्यो । तर, यसलाई नजरअन्दाज गरियो ।
पशुपतिनाथसँग सम्बन्धित विषयदेखि जनसत्ताले गरेको निर्णयलाई सरकारी मान्यता दिने हुँदै प्रजातन्त्र दिवस नमनाउनेसम्म आइपुग्दा दर्जनभन्दा बढी विवादास्पद निर्णय उल्ट्याउनु प¥यो । सरकारको शाखलाई यसले ठूलो नोक्सानी पु¥यायो । सधैँ ७ फागुनमा प्रजातन्त्र दिवस मनाउँदै आइरहेकामा यसपटक बिनाकारण मनाइएन । जब विपक्षी र जनताबाट विरोध आउन थाल्यो, तब गल्ती भएको भनी माफी मागियो । स्पष्ट र दूरदृष्टिकोणको यस्तो अभावले नेतृत्वले कुनै पनि बेला मुलुकलाई भड्खालोमा जाक्ने किसिमको निर्णय नगर्ला भन्न सकिन्न । प्रजातन्त्र दिवसजस्तो ऐतिहासिक महत्वको दिवससमेत नमान्नु सामान्य गल्ती मात्र नभई यसप्रतिको निष्ठामै शङ्का बढायो । सतीप्रथा, दासप्रथाविरुद्धको ऐतिहासिक निर्णयलाई हामी कसरी मूल्याङ्कन गर्छाै, त्यतिबेला कति महत्वपूर्ण घटना थिए होलान् यी । यतिबेलाको आवश्यकता र चेतनालाई हेरेर आज त्यो एकदमै कम महत्वको ठानिन सक्छ । तर, ती घटना युगान्तकारी थिए भन्ने बिर्सन हुँदैन र त्यसको यथोचित सम्मान गरिनुपर्छ । ती परिवर्तन त्यस समयको परिवर्तनकारी शक्तिले नै नेतृत्व गरेर सम्भव भएको हो । राणाशासन विरोधी आन्दोलन, सात साल, ०३६ साल, ०४६ साल, ०६२ ६३ सालसम्मका सबै आन्दोलन र सङ्घर्षको युगीन महत्व छ । प्रत्येक साना ठूला परिवर्तनपछाडि जनताको ठूलो बलिदानी रहेको कुरालाई अहिले हामीले कम महत्वको भनी अवमूल्यन गर्नु इतिहासको विकासक्रमलाई नबुझ्नु हो ।
अहिले राम्रो काम गर्न कुनै पनि दललाई कसैले अवरोध गरेको छैन । तर, आफैँ सत्ताको बागडोर समातेर पनि बराबर धम्कीको भाषा माओवादीले प्रयोग गरिरहेको छ । सत्तामा पुगिसेकपछि सिङ्गो देशको अभिभावकत्व लिनुपर्छ र सबै पक्षलाई चित्त बुझाउने उसको जिम्मेवारी हुन्छ । आफूबाहेक अरू राजनीतिक शक्तिलाई दुस्मन र प्रतिक्रियावादीको बिल्ला लगाइदिने र हामीलाई जनसंविधान बनाउन दिइएन भने हामी विद्रोहमा जान्छौँ, जङ्गल जान्छौँ भनेर घुर्की देखाउनुलाई कसरी परिपक्वता भन्ने ? यस्तो त्रास खडा गरिरहनुलाई सर्वसाधारणले कसरी बुझ्ने ? शान्ति र संविधानलाई आफूले हलो अड्काई यसको दोष अरूलाई दिँदैमा जिम्मेवारी कसरी पूरा हुन्छ र ? कमसेकम साझा सहमतिको अधिकतम विन्दुमा सहमति गरेर छिटोभन्दा छिटो जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्छ । जिम्मेवार ठाउँमा आइपुगेर पनि थिति नबसाल्ने, जिम्मेवारी बोध नगर्ने र विद्रोही मानसिकतामै रुमल्लिरहने हो भने राजनीतिको अर्थ विकृति, अन्योल र ध्वंस भन्नेमात्र निस्कन्छ । जुनसुकै समयका पनि राम्रा कुराको संरक्षण गरेर मात्र नयाँनयाँ सकारात्मक परिवर्तन र प्राप्तिका लागि लाग्नाको महत्व र अर्थ हुन्छ । क्रान्ति र परिवर्तनको नाममा पुराना राम्रा कुराको संरक्षण गर्न सकेनौँ भने हातको चरो उडाएर रुखको चरा टिप्न दौडिँदा खाली हात भएजस्तो मात्र हुन्छ । उद्देश्यलाई सहयोग नपुग्ने निरर्थकको दौडधुपले के हात लाग्न सक्ला र ? के थिति, इमानदारी र सहमतिसाथ राष्ट्रको मूल मुद्दामा ध्यान केन्द्रित गरेर अगाडि बढ्दा माओवादी राजनीतिलाई सहयोग पुग्दैन र ?
प्रतिक्रिया