विद्यार्थी आन्दोलनबाट प्रधानमन्त्री रुष्ट

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले त्रिभुवन विश्वविद्यामा सबै सुविधा उपलब्ध गराएर दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउनुपर्ने बताएका छन् ।
कीर्तिपुरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले त्रि.वि.लाई नमूनाका रुपमा अगाडि बढाउने योजनामा आफू रहेको बताए । उनले त्रि.वि.का प्रध्यापकहरुको सेवासुविधामा बृद्धि गरेर बाहिर पढाउने कार्यलाई निरुत्साहित गर्ने बताए ।
सेवा सुविधा थोरै भएका कारण प्रध्यापकहरुले अन्यत्रपनि अध्यापन गराउने गरेको उल्लेख गरेका भट्टराईले सुविधामा बृद्धि भएपछि क्याम्पस भन्दा बाहिर काम गर्न नहुने बताए ।
विद्यार्थी आन्दोलनका बारेमा असन्तुष्ट प्रधानमन्त्री भट्टराईले आन्दोलन फिर्ता लिएर बार्ता र सहमतिबाट समस्याको समाधन गर्न आग्रह गरेका छन् । आफ्नो बिरोधमा विद्यार्थीले देखाएको कालो झण्डा र बिरोध प्रदर्शनप्रति असन्तुष्ट प्रधानमन्त्री भट्टराईले विद्यार्थीले आफ्नो भावना नबुझेको टिप्पणी गरे ।
यसैवीच, प्रधानमन्त्री भट्टराईले त्रि.वि.बाट दिइने शिक्षाको गुणस्तर सुधार गर्ने र राज्यलाई आर्थिक तथा सामाजिक विकासमा प्रत्यक्ष योगदान गर्न सक्ने अवस्थामा पुरायाउने उपयुक्त र ब्यवहारिक पद्धतिको खोजी गर्नुपर्ने बताएका छन् ।
विश्वविद्यालय शिक्षा पुरै ब्यापारको वस्तु वनाउन नहुने बताएका भट्टराईले आधारभूत शिक्षामा राज्यको पूर्ण दायित्व लिने र उच्चशिक्षामा क्रमश राज्य र विश्वविद्यालयले पनि आयआर्जनको बैकल्पिक बाटो लिदै आर्थिक स्रोत जुटाउन प्रयत्न गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया